इटहरीः  सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित माया घर नेपालको नवौँ साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ । इटहरी–२ को सुकल्प सामुदायिक भवनमा संस्थाका प्रतिनिधि, कर्मचारी, सहयोगी दाता, जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले संस्था स्थापना भएदेखि अहोरात्र खटिने कर्मचारी पेमा श्रेष्ठ, माया घरमा आश्रितहरूलाई दैनिक रूपमा विभिन्न सहयोग प्रदान गर्ने समाजसेवी अनिल अग्रवाल, भूपाल भट्टराई लगायतलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।

कार्यक्रममा अध्यक्ष प्याकुरेलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय तहमा जनताका आधारभूत तहदेखि नीतिगत तहसम्म सडक मानवहरूको अधिकार, जन्मदर्ता, नागरिकता तथा पहिचानका आन्दोलनलाई सहजीकरण गर्ने कार्यमा संस्था क्रियाशील रहेको बताइन् । संस्था स्थापना भएदेखि हालसम्म मानवीय सेवामा निरन्तर क्रियाशील रहेको र सरकारी निकायबाट हुनुपर्ने सडक मानव उद्धारका कामहरू माया घर नेपालले गरिरहेको उल्लेख गरिन् । संस्थालाई अघि बढाउन सामाजिक क्षेत्रमा रहेका संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्दै अघि बढिरहेको पनि उनले बताइन् ।

त्यस्तै संस्थाकी कोषाध्यक्ष लक्ष्मी गौतम बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । उनले संस्थाले वर्षभरि गरेका आर्थिक क्रियाकलाप र अपनाइएको पारदर्शिताबारे उपस्थित अतिथिहरूलाई जानकारी गराइन् । सहरी विकास तथा भवन कार्यालय विराटनगरबाट प्राप्त रु ५० लाखबाट भवनको ठेक्का लागेसँगै निर्माण कार्य अघि बढेको तर चालु आर्थिक वर्षमा कोशी सरकारले कुनै पनि बजेट विनियोजन नगरेको कारण संस्थाको भौतिक संरचना अधुरै रहेको उल्लेख गरिन् ।

WhatsApp Image 2026-01-03 at 18.58.28

त्यस्तै लायन्स इन्टरनेशनलको प्रोजेक्टअन्तर्गत १ करोड ७२ लाखको लागतमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भइसकेको र हस्तान्तरण हुन मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको अघिल्लो वर्ष २०८०/८१ मा २६ लाख ९१ हजार ६२३ रुपैयाँको अक्षय कोष रहेकोमा २०८१/८२ मा १ लाख ५० हजार १०५ रुपैयाँ थप गरिएको जनाइएको छ । साथै माया घरमा आश्रितहरूका लागि सुरक्षित आवास निर्माण गर्न सञ्चालन गरिएको ‘एक व्यक्ति, एक इट्टा’ अभियानअन्तर्गत २०८१/८२ मा १४ लाख ८९ हजार ५८० रुपैयाँ संकलन भएको तर आश्रितहरूको दैनिक व्यवस्थापनमा खर्च भइरहेको पनि उल्लेख गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य सपना परियारले माया घरले गरेका कामको खुलेर प्रशंसा गरिन् । सडक मानव उद्धार, व्यवस्थापन र पुनःस्थापना जस्तो कठिन कार्य आत्मसात् गर्दै सबै निकायसँग हातेमालो गरेर अघि बढेकोमा खुशी व्यक्त गरिन् । उनले कोशी सरकारबाट उचित बजेट विनियोजन गरिनुपर्ने र आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रमका विशिष्ट अतिथि इटहरी जेसीजका नव–निर्वाचित अध्यक्ष मिसन पराजुलीले माया घरले नाम जस्तै काम गरेर समाज र देशका लागि उदाहरण प्रस्तुत गरेको बताए । इटहरी जेसीज सामाजिक संस्था भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत माया घर नेपालसँग निरन्तर सहकार्य गर्दै आएको, विभिन्न समयमा खाद्यान्न तथा आवश्यक लत्ताकपडा वितरण गरिरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै विशिष्ट अतिथि इटहरी उपमहानगरपालिका वडा नं। २ का वडाध्यक्ष माधव कोइरालाले माया घर वास्तवमै अशक्त, असहाय र परिवारविहीनहरूको लागि मायाको थलोका रूपमा स्थापित भएको बताए । सरकारी निकायबाट हुनुपर्ने सडक मानव उद्धारमा माया घर नेपालले थुप्रै चुनौतीको सामना गर्दै अग्रसरता लिएकोमा गर्व लागेको बताए । स्थानीय सरकारले गर्नुपर्ने सहयोग पर्याप्त रूपमा गर्न नसकेको स्वीकार गर्दै व्यक्तिगत तर्फबाट भने सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमाल, आस्था फाउन्डेसनका सञ्चालक चन्द्र बराल, वरिष्ठ पत्रकार कृष्णप्रसाद अधिकारी, महिला सञ्जाल इटहरीकी पूर्व अध्यक्ष विमला ढकाल, दाहाल प्रतिष्ठानका उपाध्यक्ष सुरेश दाहाल, सुवेदी कल्याण प्रतिष्ठानका अध्यक्ष छविनाथ सुवेदी, आयुर्वेदिक टोल विकास संस्थाका अध्यक्ष रमेश दाहाल लगायतले संस्थाले गरेका कार्यको खुलेर प्रशंसा गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना मन्तव्य राखेका थिए ।