काठमाडौंः पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको संख्या क्रमशः घट्दै गएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कामदारकालागि प्रमुख श्रम गन्तव्य देशहरूले आप्रवासी नागरिक भित्राउन कडाइ गरेसँगै अहिले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या क्रमशः घट्न थालेको हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार गत असोज, कात्तिक महिनापछि मंसिरमा पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या थप घटेको देखिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक बमोजिम चालु आर्थिक वर्ष २०८२–८३ को वितेको पाँच महिना मंसिरमा जम्मा ६५ हजार ७ सय ५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यो तथ्यांक अघिल्लो महिना गत कात्तिकको तुलनामा कुल ७ हजार ३ सयले न्युन हो । कात्तिक महिनामा कुल ७३ हजार ९४ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गरिएका थिए । पछिल्लो महिना मंसिरमा सो संख्या भन्दा थोरै कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

चालु आवको मंसिरमा नयाँ श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या भने केही बढेको देखिएको छ । मंसिरमा २९ हजार ६ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो महिना कात्तिकमा नयाँ श्रम स्वीकृति लिएर जाने कामदारको संख्या कुल २२ हजार ५ सय १५ जना थियो ।

सोही अवधीमा पुनः श्रम स्वीकृति लिने कामदारको संख्या अघिल्लो महिना कात्तिकको तुलनामा मंसिरमा झन घटेको देखिएको छ । कात्तिकमा कुल ५० हजार ५ सय ८० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । तर, मंसिरमा जम्मा ३६ हजार ८७ जनाले मात्र पुनः श्रम स्वीकृति लिएका थिए ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारको चाप बढे पनि प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत खर्च समेत बढाईएका कारण नेपाली कामदार जाने क्रम केही घटेको विभागले जनाएको छ ।

साउदी अरबकालागि पहिले कन्सुलर विभाग मार्फत प्रहरी प्रतिवेदनका लागि प्रति व्यक्ति ५ सय रूपैयाँ लिने गरिएको थियो । तर, हाल प्रमाणीकरण शुल्क यूएई दूतावास मार्फत गर्नुपर्ने व्यवस्था भएपछि सो शुल्क बढेर प्रतिव्यक्ति झन्डै १४ हजार रुपैयाँसम्म असुल्ने गरिएको सम्बन्धीत कामदारले गुनासो गरेका छन् ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरमा सबैभन्दा धेरै साउदी अरबमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएका छन् । मंसिर महिनामा मात्र साउदीमा ६ हजार ४ सय ४२ जना श्रम स्वीकृति लिएर गएका छन् । साउदीपछि कतारमा ३ हजार ८ सय ६१ जना , संयुक्त अरब इमिरेट्स (यूएई) मा २ हजार ३ सय ४२ र मलेसियामा ३ हजार ४ सय ४० जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

तर, गत आर्थिक वर्ष २०८१–८२ मा संयुक्त अरब इमिरेट्स (युएई) पछि धेरै नेपाली कामदार जाँदै आएको साउदी अरबमा कुल १ लाख ५२ हजार ५ सय ५७ जना व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर गएका थिए ।

सो भन्दा अघिल्लो आव २०८०–८१ मा पनि वैदेशिक रोजगारीकालागि साउदी अरब गएका नेपाली कामदारको संख्या १ लाख ४१ हजार ५ सय २ जना थियो । साउदी अरबमा घरेलु कामदार बाहेक करिब ४ लाख नेपाली रहेको अनुमान गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।