इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–अन्तर्गत चक्रघट्टीस्थित बोरा बाँध पछिल्लो समय पूर्वी नेपालको एक चर्चित तथा भाइरल पर्यटकीय गन्तव्यका रूपमा उदाएको छ । सप्तकोशीको विशाल बहाव, खुला प्राकृतिक दृश्य र मनमोहक सूर्यास्तले यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई समान रूपमा आकर्षित गरिरहेको छ ।

WhatsApp Image 2025-12-23 at 08.40.37_781fb07b

विशेषगरी भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकसँगै पूर्वी नेपालका झापा, मोरङ, सुनसरीलगायत जिल्लाबाट आउने आन्तरिक पर्यटकहरूको उल्लेख्य भीड यहाँ देखिन्छ । शुक्रबार, शनिबार र आइतबार त यहाँको चहलपहल थेगिनसक्नु हुने गरेको छ । पर्यटकको अत्यधिक चापका कारण प्रहरीलाई समेत सवारी साधन व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने अवस्था छ ।

WhatsApp Image 2025-12-23 at 08.39.35_4a749725

बोरा बाँधको सबैभन्दा ठूलो आकर्षण भनेको यहाँबाट देखिने सप्तकोशीमाथिको सूर्यास्त हो । नदीमा अस्ताउँदै गरेको सूर्यको सुनौलो प्रतिबिम्बले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । यही दृश्यले यहाँलाई सामाजिक सञ्जालमा भाइरल बनाएको स्थानीय बताउँछन् ।

मनोरञ्जन र स्वादको संगम

बोरा बाँधमा ढुंगा सयर, घोडचढी र र्याफ्टिङजस्ता मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालनमा छन् । बालबालिकाहरुका लागि खेल्ने स्थानहरु समेत निर्माण गरिएको छ । 

 स्थानीय स्रोत र साधन प्रयोग गरेर खोलिको गाउँले पारामा सञ्चालन गरिएका साना होटल तथा अस्थायी भोजनालयको आकर्षण छुट्टै देखिन्छ । ढुङ्गामा पोलेको ताजा मासु, सेलरोटी, प्याजि र आलुचपको स्वाद लिन पर्यटकहरू लामो समय बिताउने गर्छन् ।

WhatsApp Image 2025-12-23 at 08.40.07_3705db44

यहाँ नवप्रेमी जोडीदेखि लिएर परिवारका सदस्यहरू, साथीभाइका समूह तथा पिकनिक मनाउन आउनेहरूको संख्या दिनानुदिन बढ्दो छ । फोटो सुट, टिकटक र विभिन्न भिडियो सामग्री बनाउन आउने युवापुस्ताको उपस्थितिले यो क्षेत्र झन् जीवन्त बनेको छ ।

WhatsApp Image 2025-12-23 at 08.40.36_5680757d

बढ्दो जोखिम, कमजोर व्यवस्थापन

तर पर्यटकको चापसँगै यहाँ जोखिम पनि समानान्तर रूपमा बढ्दै गएको छ । खासगरी काठको नाउ र मेसिनबाट चल्ने बोटमा लाइफ ज्याकेटको प्रयोग नगरी कोशीको मुख्य बहाव क्षेत्रमा सञ्चालन हुनु गम्भीर चिन्ताको विषय बनेको छ । सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्ने खतरा प्रतिदिन बढ्दै गएको स्थानीयको भनाइ छ ।

WhatsApp Image 2025-12-23 at 08.40.45_fa382ceb

यति संवेदनशील विषय हुँदाहुँदै पनि बराहक्षेत्र नगरपालिका, स्थानीय प्रहरी प्रशासन, बोरा बाँध पर्यटन समिति तथा सम्बन्धित निकायको ध्यान पर्याप्त रूपमा पुगेको देखिँदैन । उद्धार सामग्रीको अभाव, सुरक्षा मापदण्डको पालना नहुनु र व्यवस्थित सूचना प्रणाली नहुनुले सम्भावित दुर्घटनाको जोखिम झन् बढाएको छ ।

जथाभावी फोहोर

बोरा बाँध भाईरल पर्यटकीय स्थलमा रुपमा स्थापित हुने क्रमसँगै यहाँ जथाभावी फोहोर गर्नाले वातावरणीय जटिलता समेत ल्याउने खतरा त्यतीकै बढ्दै गएको छ । खासगरि यहाँ पिकनिक खान आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले जथाभावी फोहोर गर्नाले यो क्षेत्रको सुन्दरतालाई बिर्गान थालिसकेको छ ।

WhatsApp Image 2025-12-23 at 08.39.33_4bff62bb

फोहोरलाई उचित व्यवस्थापन नगरिए दुरगन्ध फैलिएर वातावरणीय क्षेत्रमा ठूलो प्रभाव पार्ने देखिएको बोराबाँध परिवारसहित आएका विराटनगरका डाक्टर सुर्य पराजुलीले बताए । उनले वातावरणमा असर पर्नु भनेको मानविय स्वास्थ्यमा पनि गम्भिर असर पर्ने भएकाले यसलाई बराहक्षेत्र नगरपालिकाले तत्काल उचित व्यवस्थापनका लागि आवश्यक कार्य गर्नु पर्नेमा जोड दिए । 

समयमै ध्यान नदिए पछुतो हुन सक्छ

स्थानीयवासी तथा सचेत नागरिकहरूले बोरा बाँधलाई दीर्घकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरक्षा, व्यवस्थापन र नियमनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । लाइफ ज्याकेट अनिवार्य, बोट सञ्चालनको मापदण्ड, ट्राफिक तथा पार्किङ व्यवस्थापन, फोहोर व्यवस्थापन र आपतकालीन उद्धार टोलीको व्यवस्था नगरे भविष्यमा अप्रिय घटना हुन सक्ने उनीहरूको चेतावनी छ ।

WhatsApp Image 2025-12-23 at 08.40.41_a89efa35

प्राकृतिक रूपमा अनुपम सम्भावना बोकेको बोरा बाँध सही योजना, जिम्मेवार व्यवस्थापन र सरोकारवालाको सक्रियताबाट मात्र सुरक्षित र दिगो पर्यटकीय गन्तव्य बन्न सक्छ । समयमै ध्यान नदिए भाइरल बनेको यो गन्तव्य दुःखद समाचारको केन्द्र बन्ने खतरा टाढा छैन । 

WhatsApp Image 2025-12-23 at 08.40.32_8d78ef8f

WhatsApp Image 2025-12-23 at 08.40.35_0de00759

WhatsApp Image 2025-12-23 at 08.40.47_7b01d804

WhatsApp Image 2025-12-23 at 08.40.43_eccd171f