इटहरीः नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका सुनसरी २ नम्बर क्षेत्रका निवर्तमान सासंं भिम आचार्यसहित ५५ जना विरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा  ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित मुद्वा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ५ जना संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार आर्चाय सहित तत्कालीन मन्त्रीहरु स्व.पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, दीपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महतविरुद्ध मुद्दा दायर भएको हो ।

नेपाल सरकारका पुर्व पर्यटन मन्त्री भिम आचार्यलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियारले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर गरेको मुद्दामा ५५ जना प्रतिवादी रहेका छन ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको अभियोजन दर्ता हुनासाथ पद निलम्बनको कानूनी प्रावधान छ । 

नेकपा एमालेको आसन्न महाधिवेशनमा उपाध्यक्ष लड्ने तयारीमा रहेका भीम आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको राजनीतिक भविष्य चरम संकटमा  परेको छ । अब यहि कारण  आचार्यले महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न पाउने छैनन् । 

WhatsApp Image 2025-12-07 at 21.05.17_11ec3d54

पछिल्लोपटक सुनसरी- २ बाट ७९ चुनावमा संघीय सांसद जितेका आचार्य उपाध्यक्षको दाबीसहित अध्यक्षसँग लाइन मिलाउने कसरतमा थिए । उनी नवौँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित भएका थिए ।

माधव-झलनाथ समूहमा रहेका आचार्य १०औँ महाधिवेशनमा भने पदाधिकारी बन्नबाट रोकिए । २०६४ को पहिलो संविधानसभाको निर्वाचनदेखि लगातार जित हासिल गर्दै आएका आचार्य २०७० सालमा पर्यटनमन्त्री बनेका थिए ।  

०५१ र ०५६ को निर्वाचनमा भने उनी पराजित भएका थिए । नेकपा कालमा १० बुँदे समूहमा रहेका आचार्य केही समय कोशी प्रदेशको मुख्यमन्त्रीसमेत भएका थिए ।

कोशीमा उनी निकटका प्रदेश सांसद नेकपा एसमा लाग्दा उनी एमालेमै रहे । नेकपा एमाले कोशीका इन्चार्ज समेत भएका आचार्य सुनसरी एमालेमा लामो समय नेतृत्वमा रहेका थिए । उनी लामो समय सुनसरी सचिव समेत भएका थिए  ।

सुनसरी एमालेमा एकलौटी प्रभाव जमाएका आचार्य यस पटकको महाधिवेशनको प्रतिनिधि छनौटमा पनि प्रभाव जमाउन सफल भए । यसपटक भने उनी मध्यमार्गी रूपमा प्रस्तुत हुँदै आएका थिए ।

आचार्य मन्त्री भएकै बेला तत्कालीन एमालेका नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालसँग विवाद भएपछि उनी बर्खास्तमा परेका थिए । आचार्य खनालका बहिनी ज्वाइँसमेत हुन् । उनी मन्त्री भएका बेला विमानस्थलको ठेक्का खनालले भने अनुसारका व्यक्तिलाई नदिएको चर्चा एमाले सुनसरीमा थियो । सोही कारण आफ्नो मन्त्री पद थाहा नै नपाई गएको भन्दै आर्चायले बेला बेलामा गुनासो गर्ने गर्दथे ।