इटहरीः नेपाली कांग्रेसका नेता सुनिल शर्माले संचालन गरेको विराटनगरको नोबेल मेडिकल कलेजमा डाक्टरको गम्भीर लापरबाहीका कारण नाकको अप्रेशन गर्दा सुनसरीको इटहरीका एक   ७ वर्षीय बालकले  आँखाको ज्योति गुमाउनु परेको छ । 

नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको हो । उनको दाहिने आँखा भित्र पसेको छ ।

नाकको दाहिनेपट्टिको प्वालमा मासु पलाएपछि ४ मंसिरमा आफन्तले नोबेल मेडिकल कलेजमा भर्ना गरेका थिए । चिकित्सकको सल्लाहअनुसार ५ मंसिरमा अप्रेसन भयो । अप्रेसनको भोलिपल्ट नोबेल मेडिकल कलेजले बालकलाई हतारहतार डिस्चार्ज गरेको थियो ।

जेनिसका मामा श्रीकृष्ण प्रसाईंका अनुसार आँखाको ज्योति गुमेपछि चिकित्सकले हतारहतार डिस्चार्ज गरेका हुन् । नोबेलले डिस्चार्ज गरेपछि बालकलाई आफन्तले शनिबार विराटनगर आँखा अस्पताल रानीमा भर्ना गरे ।

विराटनगर आँखा अस्पतालका चिकित्सकले दाहिने आखाँको भित्री भाग ड्यामेज भएका कारण ज्योति नफर्कने भन्दै अप्रेसन गर्न मानेनन् । चिकित्सकले बालकको आँखाको ज्योति पुनः फर्कने सम्भावना २ प्रतिशतभन्दा कम रहेको बताएका छन् । आँखाको भित्री भागको हड्डी निकालेका कारण आँखामा गम्भीर चोट लागेको चिकित्सकको भनाइ छ ।

‘बालकको स्वास्थ्यमाथि नोबेल मडिकल कलेजले गम्भीर लापरबाही गरेको छ । ७ वर्षको उमेरमा आँखाको ज्योति नै गुम्यो,’ मामा श्रीकृष्णले भने, ‘हामीलाई डिपार्टमेन्ट हेडले शल्यक्रिया गर्ने भनेका थिए, तर सिकारु डाक्टरलाई खटाइएको रहेछ ।’

WhatsApp Image 2025-11-23 at 13.01.27_d2bcea9f

उनका अनुसार शुक्रबार नाकको अप्रेसनपछि निस्किएका चिकित्सकले नाक भित्र पलाएको मासु आँखासम्म पुगेकाले आँखामा सामान्य समस्या भएको बताएका थिए । अप्रेसनपछि आफन्तले भेट्दा बालकको एउटा आँखाको ज्योति गुमिसकेको थियो । सोधिखोजी गर्दा भोलिपल्ट आँखा अस्पताल लैजानु भन्दै हतारहतार डिस्चार्ज गरे ।

लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाही गर्न माग गर्दै मामा श्रीकृष्णले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।

अस्पतालले जिस्चार्ज गरेलगतै उनले जिल्ला प्रशासन कार्यालय मोरङमा अस्पताल, उपचारमा संलग्न डा. प्रज्वल श्रेष्ठ र कविराज बास्तोलालाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् । डाक्टर बास्तोला इटहरी निवासी हुन् । 

उजुरीपछि छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।

‘बालकको आँखा गुमेको विषयलाई गम्भीर रूपमा लिएका छौं । उजुरीपछि छानबिनका लागि प्रहरीमा पठाएका छौं,’ उनले भने, ‘प्रहरीको रिपोर्टपछि मेडिकल काउन्सिलसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ कारबाहीका लागि चिकित्सक टोलीसँग पनि परामर्श गर्ने उनले बताए ।

बालकको उपचारमा संलग्न डा श्रेष्ठले नाकको शल्यक्रिया गर्दा आँखामा समस्या भएको स्वीकार गरे । उनले लापरबाही नभएको पनि दाबी गरे ।

‘बालकको आँखाको साइटतिर पनि रोग गएको थियो । त्यहाँबाट पलाएको मासु निकाल्दा आँखाको साइटको बोन (हड्डी)पनि निकाल्नुपर्‍यो । त्यो निकाल्दा आँखाको भाग एक्सपोज भएर चोट लागेको हो,’ उनले भने, ‘नाकको शल्यक्रिया गर्दा कम्लिकेसन आउँछ, तर सबै केसमा होइन ।’