इटहरी: धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित त्रिनेत्र मोक्ष धाममा पहिलो पटक बाला चतुर्दशीका दिन भोली बुधवार  शतबिच छरिने भएको छ । त्यसका लागि आवश्यक तयारी थालिएको छ । सुनसरीको  इटहरी–२ आयुर्वेदिक टोलस्थित माया घरको समीपमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोसी प्रदेशको सङ्कल्पमा स्थापना गरिएको १०८ शिव लिङ्ग रहेको स्थानमा  शतबिच छर्ने तयारी तीव्र पारिएको हो ।  

त्रिनेत्र मोक्ष धामका रूपमा १०८शिव लिङ्ग स्थापनासँगै  दिवङ्गत पितृहरूको मोक्षका लागि शतबिच छर्न श्रद्धालुहरूले अब टाढा जानु पर्ने बाध्यता हटेको १०८ शिव लिङ्ग निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए ।  सुवेदीका अनुसार माया घर छेउमा स्थापित १०८ शिव लिङ्ग परिसरअन्तर्गत त्रिनेत्र मोक्ष धाममा पुगेर आफ्ना मनोकामना पूरा गर्न सक्नेछन्। त्यसका लागि आज(मङ्गलवार)साँझबाटै श्रद्धालुहरूका लागि बस्ने व्यवस्थासँगै दीप प्रज्वलनका साथै रातभर भजन कीर्तन सहित जाग्राम बस्ने व्यवस्था मिलाइएको छ । 

 आज रातभर जाग्राम बस्दै भगवान् शिवको कीर्तन, कथा वाचन गरिनेछ। भोली बिहान ३ बजेदेखि नै दिवङ्गत पितृहरूको सम्झनामा शतबिच छरिने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोसी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् । 
WhatsApp Image 2025-10-28 at 21.35.16_6d6499bf

यस क्षेत्रमा स्थापित १०८ शिव लिङ्ग परिसरअन्तर्गत त्रिनेत्र मोक्ष धाममा पहिलो पटक बाला चतुर्दशीको अवसरमा शतबिच छर्न लागिएको हो । १०८ शिव लिङ्ग स्थापना भएयता दैनिक भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।

रातभर महादीपदान गरेर बसेका भक्तजनहरूले चतुर्दशीका दिन बिहान स्नान गरी स्थापित १०८ शिव लिङ्ग स्थलमा शतबिच छर्नेछन्। यसो गर्नाले दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास रहेको अध्यक्ष प्याकुरेलको भनाइ छ। चतुर्दशीको अघिल्लो दिन नै जाग्राम बस्ने श्रद्धालुहरूका लागि बस्न कालागि सुरक्षित आवास, आवश्यक भोजन तथा स्नान कक्षसमेतको सुविधा मिलाइएको अध्यक्ष प्याकुरेलले बताइन।

पहिलो पटक चतुर्दशी मनाउने तयारीमा जुटेको समितिले श्रद्धालुहरूको भीडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था समेत मिलाइसकेको जनाइएको छ। यस क्षेत्रलाई आगामी दिनमा धार्मिक पर्यटकीय नगरी तथा तीर्थस्थलको रूपमा विकास गर्न कोसी प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रदेशकै पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं स्थानीय निकायहरूसँग सहकार्य गरी योजना अनुरूप काम भइरहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र की अध्यक्ष  प्याकुरेलले बताइन् । 
WhatsApp Image 2025-10-30 at 06.05.48_806375e9

इटहरी २ मा आयुर्वेदिक टोलाइ धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न  गत भदौ १९ गते कोसी प्रदेशसभा सांसद भीम पराजुलीले १०८ शिवलिंग शिलान्यास गरेका थिए । अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल बनाउने उद्देश्य वोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोसी प्रदेशको सङ्कल्पमा स्थापित १०८ शिवलिंगलाइ सकृिय बनाउन गत कार्तिक १४ देखि २१ गते सम्म श्रीमद्भागवत धान्याञ्चल जीवनदर्शन सत्सङ्ग कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो । सोही अवसरमा १०८ शिवलिंगको प्राण प्रतिष्ठा समेत सम्पन्न गरिएको थियो ।
सोही स्थानमा अब कैलाश पर्वत सहितको शिव भगवानको ठुलो प्रतिमा राखिने छ । जसका लागि आवश्यक कार्य थालिएको छ । १०८ शिव लिङ्ग स्थलको उत्तर साइडमा आकर्षक सत्तल निर्माणका लागि नक्सा डिजाइनको काम समेत सकिएको छ । अग्र भागमा आकर्षक कलात्मक मुख्य गेट निर्माण पनि गरिने निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए । ती सबै संरचना भक्तपुरबाटै कलात्मक इट्टा ल्याएर निर्माण गरिने छ । साथै १०८ शिव लिङ्ग स्थलको बाहिरी भाग वरिपरि स्थानीय इट्टाबाट कम्पाउडवाल निर्माणको काम पनि गरिने सुवेदीले जानकारी दिए ।