सुनसरीः धनकुटामा उत्पादित अवैध गाँजा भारत तर्फ तस्करी हुने मुख्य रुट नै धनकुटा–धरान सडक मार्ग हो । धनकुटाबाट गाँजा लोड भएका मालवाहक ट्रक, जिप, मिनी ट्रकहरू भेडेटार हुँदै धरान झर्ने गर्छन् । तर धनकुटा जिल्लाको सीमामा पर्ने धरान अनि धरान भित्रने गाँजा बोकेका सवारी साधन हतपत प्रहरीले नियन्त्रणमा लिँदैन । भरिया र बाइक मार्फत गाँजा आउने अर्को रुट सागुरीगढी ९ हुँदै हालेबाट चाँदी बजार हुँदै धरान विष्णुपादुका हो । 

धरानमा इलाका प्रहरी कार्यालयमा डिएसपीको दरबन्दी छ । त्यस्तै एसएसपी दरबन्दी रहने नेपाल प्रहरी प्रदेश कार्यालय धरान अवस्थित छ । शिवधारा र अमर हाटमा प्राय जसो सशस्त्र र जनपद प्रहरीको चेकिङ नियमित रहन्छ । तथापि, चेकिङ र सङ्घीय प्रहरी कार्यालयको आँगनबाटै गाँजा लोड भएका ट्रकहरू कुनै अवरोध बिना भारतसँग जोडिएका सुनसरीका नाकाहरूबाट सहजै भारत कट्ने गर्दछ ।  

Dharabnnत्यसो त, धनकुटामा उत्पादित गाँजा प्रहरी र सशस्त्र प्रहरीको सेटिङ बिना भारतसम्म तस्करी असम्भव छ । यही सेटिङ गर्ने मुख्य कडिका रूपमा छन्, इलाका प्रहरी कार्यालय धरानका केही घुमुवा प्रहरी । जसले कोसी प्रदेश प्रहरीका एक डिएसपीको आदेश अनुसार सेटिङ मिलाउने गर्छन् । 

इलाका प्रहरी कार्यालय धरानमा हाल असईको कमान्डमा ६ जनाको सङ्ख्यामा घुमुवा प्रहरी परिचालित छन् । त्यस अलावा कोसी प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टै घुमुवा प्रहरी धरानमा खटिने गर्छन् । सशस्त्र प्रहरीको पनि छुट्टै घुमुवा प्रहरी खटिँदै आएका छन् । यिनै घुमुवा प्रहरीहरू मार्फत गाँजा सेटिङ गरेर मात्र धरानबाट गाँजा लोड भएका ट्रक इटहरी इनरुवा हुँदै भारत तस्करी हुने गरेको छ ।

रोचक त, धरानमा गाँजा सेटिङ गर्नकै लागि भनेर धनकुटा ठेगाना भएका, धनकुटा दरबन्दी भएका र गाँजा उत्पादित क्षेत्रमा पुराना पोष्टिङ भएका प्रहरीहरूलाई हाल धरानमा परिचालित गरिएको छ । यसले गर्दा गाँजा तस्करीमा संलग्न तस्करहरू सिधा यी प्रहरीसँग ‘कनेक्सन’ मा रहन्छन ।

हाल इलाका प्रहरी कार्यालय धरानका घुमुवा प्रहरी हबलदार सत्यमान लामा, प्रहरी जवान टिकाराम राई, प्रहरी सहायक हबलदार बादल श्रेष्ठ लगायत गाँजा तस्करीको ‘मुख्य सेटिङकर्ता’ भएको आरोप छ । लामा यस अघिका धरानको घुमुवा प्रहरी कमान्डर थिए ।  यी घुमुवा प्रहरी मार्फत धनकुटाको सहिदभूमी, हतुवागढी लगायतका क्षेत्रबाट लोड भएका गाँजा तस्करहरुले कुन रुटबाट कति बजे निकाल्ने र प्रहरी चेकिङको जानकारी लिने गर्छन् । 

प्राय, गाँजा लोड भएका ट्रक निकाल्नु अघि नै गाँजा तस्करी र प्रहरीका घुमुवाबिच पैसाको सम्झौता गर्छन् । जसमा केही घुमुवा प्रहरीले त भारत तर्फका गाँजा खरिद गर्ने व्यवसायीलाई समेत धरान ल्याएर बिक्री गर्ने व्यवसायीबिच ‘डिल’ गराइदिने गरेका छन् । 

डिल पक्का भएपछि धरानका घुमुवा प्रहरी मार्फत नै जिल्लाका एसपी निकट घुमुवा र प्रदेशका डिआइजी निकट एक डिएसपीलाई जानकारी गराएपछि मात्र गाँजा धरान हुँदै भारत छिर्ने गरेको प्रहरी स्रोतको दाबी छ । यसमा सशस्त्र प्रहरीको समेत संलग्नता रहन्छ । यस्तै बिच बाटोमा ट्रकहरू प्रहरी चेकिङमा परे धरानका घुमुवा प्रहरीले नै समन्वय गरेर कटाउने गरेका छन् । 

यस आधारले पनि, धनकुटाको भेडेटार हुँदै धरान झरेका अधिकांश गाँजा ‘लोडेड’ ट्रक सुरक्षाकर्मीले नियन्त्रणमा लिएको खबर खासै सुनिँदैन । मात्र सेटिङ बिना हिँडेका ट्रकलाई प्रहरीले नियन्त्रणमा लिने गर्छन् । स्रोत भन्छ, पछिल्लो ४ वर्ष यता कोसी प्रदेशमा प्रहरीले बरामद गरेको गाँजाको परिमाण भन्दा सायौ गुना परिमाणको गाँजा भारत तस्करी भइसकेको छ ।  

1750067171-u6OrAयता, जेनजी आन्दोलनको मौकामा हालसम्मकै ठुलो परिमाणमा गाँजा भारत तस्करी भएको दाबी गरिएको छ । सुनसरीमा भएको आन्दोलन, आगजनी तथा तोडफोडका कारण सुरक्षाकर्मी ‘डाइर्भट’ भएको मौका छोपी धनकुटाबाट उत्पादित २२ हजार केजी हाराहारीमा गाँजा भारत कटेको अनुमान गरिएको छ । गाँजा भरिएका मालवाहक ट्रकका ट्रक सुनसरी र मोरङका सीमा नाकाहरूबाट रातभर भारत कटेका थिए । सबैभन्दा बढी सुनसरीको भन्टावारिको तीनकुने नाकाबाट गाँजा बोकेका ट्रकहरू लाइन लागेरै भारत प्रवेश गरेको प्रहरी स्रोत बताउँछ । 

भदौ २० देखि २९ गतेसम्म सबैभन्दा बढी गाँजा भारत तर्फ तस्कर भएको भनिएको छ । प्रतिकेजी ९ देखि ११ हजार रुपैयाँ सम्म भारतमा खरिद बिक्री हुने प्रतिबन्धित गाँजा तस्करीबाट धरानका घुमुवा प्रहरी मार्फत कोसी प्रदेशका दुई डिआइजी, एसपी तथा केही प्रहरी युनिटका प्रमुखहरूले राम्रो रकम असुलेका थिए । जेनजी आन्दोलनका क्रममा हाल सम्मकै अत्याधिक गाँजा तस्करी भएको विषयमा जेनजी युवाहरूले गृह मन्त्रालयमा लिखित उजुरी समेत गरिएको छ । 

धरानका घुमुवा प्रहरीको विषयमा भर्खरै सरुवा भएर आएका इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले आवश्यक अनुसन्धान गर्ने बताएका छन् ।  प्रदेश पोर्टलसँग कुरा गदै राईले भने ‘तस्करी तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको ‘पुलिसिङ’ मेरो कार्य योजना हो । यदि जो कोही प्रहरी गलत नियतका साथ हिँडेको छ भने म बाट हदैसम्मको कारबाही हुन्छ ।’ ‘हामी प्रतिबन्धित गाँजा तस्करीको विषयमा क्लियर छौ, धरानबाट आइतबार राती मात्र २५२ केजी गाँजा बरामद समेत गरेका छौ, यो अभियान निरन्तर रहन्छ’ डिएसपी राईले भने । साथै डिएसपी राईले गाँजा तस्करीको विषयमा प्रहरीलाई आवश्यक सूचना समेत दिन आग्रह गरेका छन् ।

घुमुवा प्रहरीलाई जोगाउँदै प्रदेश प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीमा भर्खरै आएका नयाँ एसपी केशव थेबेले जिल्ला र धरानमा कार्यरत केही घुमुवा प्रहरीलाई हटाउने भनेपछि प्रदेश प्रहरीका एक डिएसपीले ती घुमुवा प्रहरीलाई जोगाउन लागेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ती डिएसपीले डिआइजी ईश्वर कार्कीलाई भनेर जिल्लाका कोही पनि घुमुवा प्रहरी नचलाउन सुनसरीका नयाँ एसपीलाई दबाब दिएको स्रोतको दाबी छ । 

‘एसपी साँवले केही घुमुवा प्रहरीलाई हटाउने खबर प्रदेश प्रहरी पुग्यो’ प्रहरीको स्रोत भन्छ ‘अहिले हटाउने विषय सेलाएको छ, र हटाउने भनिएका घुमुवा प्रहरीलाई एरिया तोकेर घुमुवाकै रूपमा डिउटीमा परिचालित गरेको अवस्था छ ।’