सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले शान्ति सुरक्षा कायम गर्न सवारी गस्ती (पेट्रोलिङ) बढाउँदै लगेको छ । इटहरीको मुख्य चौकको इलाका प्रहरी कार्यालय जेनजी आन्दोलनका क्रममा ध्वस्त भएपछि अस्थायी रूपमा प्रहरी चौकी तरहराबाट चाडपर्व लक्षित सवारी गस्ती बढाउनुको साथै चौकमा प्रहरीको उपस्थिति देखिन थालेको छ । तरहरा चौकीको एक मात्र सवारी साधनले गस्ती गर्न कठिनाइ भएपछि हाल इलाकालाई जिल्ला सुरक्षा समिति मार्फत दुई वटा सवारी साधन उपलब्ध गराइएपछि प्रहरीको उपस्थिति मुख्य बजार तथा भित्री चौकहरूमा देखिन थालेको हो ।
इलाका प्रहरीलाई केही दिन अघि एक बोलेरो र एक मिनी ट्रक जिल्लाबाट आएको छ । यस्तै केही बाइक समेत उपलब्ध भएको जनाइएको छ । यता आन्दोलन पश्चात् इलाका प्रहरी कार्यालय इटहरीको मातहतका प्रहरी युनिट समेत आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । बालग्राम चौकी, पुष्पलाल प्रहरी बिट, तालतलैया चौकी लगायतका प्रहरी युनिटहरूमा प्रहरी फर्किसकेका हुन । जनता बस्तीको चौकीमा भने केही दिनमै प्रहरी फर्किने तयारीमा छ ।
प्रहरी फर्किसकेपछि जथाभाबी खेलाइने गरेको डाइसजन्य खेल समेत नियन्त्रणमा लिन थालिएको छ । बुधवार मात्र इटहरीका विभिन्न क्षेत्रमा ५ वटा डाइसका खाल नियन्त्रणमा लिइएको छ । ‘क्रमशः हामी नियमित काममा फर्किँदै छौ, इलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र पौडेलले भने ‘बजार क्षेत्रमा डाइसजन्य खेलहरू नियन्त्रणमा लिँदैछौ । चौकमा नियमित प्रहरी डिउटी खटाइएको अवस्था छ, सवारी गस्ती (पेट्रोलिङ) बढाउँदै लगेका छौ ।’
यता इटहरीको प्रहरी कार्यालयसहित अन्य सरकारी कार्यालयहरूमा भएको आगजनी तथा तोडफोडमा संलग्नहरूको समेत पहिचान गरिँदै छ । इलाका प्रहरी कार्यालय इटहरीको भवन भित्र आगजनी गर्नेदेखि सामानहरू लुटपाट गर्ने सम्मको फोटो/भिडियो सङ्कलन भइरहेको जनाइएको छ ।