इटहरी: वैदेशिक रोजगारका लागि करिब २ महिनाअघि साउदी पुगी अलपत्र पारिएको भनिएका सुनसरीका दुई युवालाई इटहरीको हयुमन मेनपावरले आफ्नो सबै खर्चमा सकुशल नेपाल फर्काउने भएको छ । 

उनीहरूलाई अलपत्र पारिए भनिएका परिवारका सदस्यहरू उनीहरूको पीडासहितको भिडियो  प्रदेश पोर्टल डटकम अनलाइनको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएको ३ दिनपछि अलपत्र पारिएका दुई युवाका अभिभावक र आफन्तहरूसँग नेपाल फर्काउने विषयमा लिखित रूपमै यस्तो सहमति भएको हो । 

ह्युम हुँदै कपिल मेनपावर ललितपुरबाट साउदीमा हेभी ड्राइभिङका लागि दुई महिनाअघि साउदी पुगेका सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ का शनि चौधरी र इनरुवा ७ चाँदबेलाका अजय चौधरीलाई घर फिर्ता ल्याउँदा लाग्ने सबै खर्च हयुमन मेनपावर इटहरी शाखाले नै गर्ने गरी सहमति भएको हो ।

बुधवार पीडित भनिएका चौधरी दुई युवाका परिवारका सदस्य ,आफन्त,भद्र भलाद्मी समेतको रोहवरमा हयुमन मेनपावरको शाखा कार्यालय इटहरीमा भएकोसर्वपक्षीय छलफलपछि यस्तो सहमति भएको हयुमन मेनपावर शाखा कार्यालय इटहरीका प्रमुख सन्दीप तामाङले बताए ।
WhatsApp Image 2025-08-22 at 13.58.57_39f80efc

सम्झौता अनुसार नै काम र तलब सुविधा दिलाउने प्रतिवृद्धताका बाबजुद दुई चौधरी युवाहरूले घर नै फर्कने अडान राखेपछि २५ देखि ३० दिनभित्रमा सकुशल नेपाल फर्काउने लिखित सहमति गरेको तामाङले बताए ।

उनीहरूलाई सो अवधिभर राम्रो स्थानमा बस्न र खानाका लागि लाग्ने सबै  खर्च पनि हयुमनले नै उपलब्ध गराउने सहमति पत्रमा उल्लेख गरिएको छ । 
हयुमन मेनपावर इटहरी शाखाका प्रमुख सन्दीप तामाङ भन्छन् ‘कहिले काहीँ काम गर्ने सिलसिलामा सामान्य कमीकमजोरी हुन्छन् । त्यसैका कानुनी तरिकाबाटै श्रम गरेर साउदी पुगेका अजय र शनिले राम्रोसँग कुरा नबुझेका कारण ठुलो विषय बन्न गई मिडियामार्फत भिडियोहरू सार्वजनिक हुन पुग्यो । १४ बर्से व्यावसायिक दौरानमा पहिलो पटक यस्तो समस्या झेल्नु पर्‍यो । ’

मेनपावरकै अग्रसरतामा अजय र शनिलाई साउदीको हेभीगाडी लाइसेन्स समेत दिलाई सकेको तामाङले बताए । उनीहरूको बस्न र खानाका लागि आफूले नै पटक पटक गरेर ६ सय दिराम पठाइसकेको तामाङले बताए । भिडियो सार्वजनिक भएको रात पनि कम्पनीले तत्काल २ सय दिरामका दरले खर्च उपलब्ध गराएको उनले बताए । 
WhatsApp Image 2025-08-22 at 17.04.44_a813ce4a

हयुमन मेनपावरका इटहरी शाखा प्रमुख तामाङ भन्छन् ‘सबैले महँगो व्याजमा ऋण काँडेरै विदेश गएका हुन्छन् । हामीले राम्रै तलबमा राम्रै कम्पनी पठाउने गरेका छौँ । अजय र शनि गएको कम्पनी पनि राम्रो नै हो । उनीहरूलाई भने जस्तै स्थानमा राखेका पनि छौँ । शनि त दुई दिनअघिबाट काममा पनि जान थाल्यो ,तर किन घर फर्कन खोजिरहेका छन् ,त्यो मैले बुझ्न सकेको छैन ।’ तामाङका अनुसार साउदी पुगेका उनीहरूको बिस्तारै मासिक २५ सय देखि ३ हजार दिरामसम्म तलब हुने छ । 

तर,बुधवार भएको सहमति अनुसार नै अजय र शनिलाई घर फर्काउने विषयमा आफूले आवश्यक प्रक्रिया अगाडि बढाई सकेको तामाङले बताए । त्यसका लागि १० हजार दिराम साउदीको कम्पनीलाई पठाइदिएको तामाङको भनाई छ ।

सबै खर्च हयुमनले नै गरेर अजय र शनिलाई २५ देखि ३० दिनभित्रमा सकुशल घर ल्याउने जिम्मेवारी लिएर लिखित रूपमा नै परिवारका सदस्यहरूसँग कानुन अनुसार सहमति गरेको भोलीपल्ट बिहीबार कोसी प्रदेश सभामा विषय उठ्दा आफूलाई दुःख लागेको तामाङले गुनासो गरे ।