इटहरी: इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्धारिकलाल चौधरीले वर्तमान नेतृत्वकर्ताहरू चरम आर्थिक अनियमिततामा लागेको आरोप लगाएका छन् ।
पूर्व नगर प्रमुख(मेयर)का तर्फबाट बुधवार इटहरीको इनटुरिष्ट प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी इटहरी उपमहानगरपालिकाको वर्तमान नेतृत्वलाई यस्तो आरोप लगाएका हुन् ।
उनले इटहरीको वर्तमान नेतृत्व चरम आर्थिक अनियमितता र चुहावटको गन्ध प्रस्ट रूपमा बाहिर आएको बताए । उनले इटहरी उपमहानगरपालिकाको वर्तमान नेतृत्वले गौरवका आयोजनाहरूलाई लथालिङ्ग बनाएर इटहरीवासीको भविष्यमाथि खेलबाड गर्ने कार्य गरेको दाबी पनि गरे ।
पूर्व मेयर चौधरीले वर्तमान नेतृत्वले इटहरी उपमहानगरलाई कार्यकर्ताहरूको भर्ती केन्द्र बनाएको आरोप समेत लगाए । उनले वर्तमान मेयर हेम कर्ण पौडेल नेतृत्वको इटहरी सरकारले हालसम्म सार्वजनिक सुनुवाइ नै नगरेको बताएका छन् ।
२५ शैयाको इटहरी अस्पताललाई १०० शैयाको बनाउन नसकेकोमा वर्तमान इटहरी सरकारलाई प्रश्न समेत पत्रकार सम्मेलनमार्फत गरेका छन् । उनले वर्तमान सरकारले समुदायका गरिब विपत्रको शिक्षामा पहुँच बढाउन इन्जिनियरिङ तथा मेडिकल तर्फको पढाइका लागि सरकारी कलेजको स्थापना तर्फ खासै चासो नदेखाएको बताए ।
उनले इटहरीको गौरवको आयोजनामा राखिएको बाहिरी चक्रपथ निर्माणका लागि ४२ किलोमिटर रेखाङ्कन भएको जानकारी गराउँदै त्यसका लागि तत्कालीन प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पनि कार्यान्वयनमा हाल तिनै तहको सरकार उदासीन देखिएको जनाए । बाढी नियन्त्रण र टेङ्ग्रा डाइभर्सनका लागि पनि वर्तमान इटहरी सरकारले केही गर्न नसेको पूर्व मेयर चौधरीको भनाई थियो ।
पूर्व मेयर चौधरीले आफ्नो पाँच बर्से कार्यकालमा सार्वजनिक सम्पत्तिको संरक्षण र जनहितमा उपयोग गर्नका लागि वर्षौँदेखि अनाधिकृत ढङ्गले व्यक्ति तथा सङ्घसंस्थाले हड्पेको जग्गा स्थानीय सरकारले संरक्षण तथा उपयोग गर्न नसेको जनाए । जिल्ला अदालत र उच्च अदालतको फैसलाले समेत डी.वि.एम. स्कुलले चर्चेको २ बिघा जग्गा विद्यालयको नाममा दर्ता अथवा भोग चलन गर्न नपाउने निर्णय भइसक्दा पनि सोही जग्गामा हालसम्म विद्यालय सञ्चालन भइरहेको विषय स्थानीय सरकारका रूपमा रहेको इटहरी उपमहानगर किन मौन बसेको छ ? भन्ने प्रश्न समेत गरेका छन् ।
पूर्व मेयर चौधरीले पत्रकार सम्मेलनमा जनताको करबाट चल्ने स्थानीय इटहरी सरकार सिङ्गो नगर बासीको भविष्यमाथि खेलबाड गर्दै समयमा बजेट नल्याएर बजेट होलिडेमा रमाइरहेको आरोप पनि लगाए ।
उनले पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तिमा भनिएको छ—‘यी सबै खाले विकृति र विसङ्गतिको अन्त्यका लागि तिनै तहको सरकारको ध्यानाकर्षण गर्दै आ–आफ्नो ठाउँबाट आवश्यक खबरदारी गर्न सम्पूर्ण उपमहानगरवासी सचेत नागरिकलाई अनुरोध गर्दै खबरदारी समेत गर्दछु ।’