इटहरी : सुनसरीको दुहबी नगरपालिका ४ शिवमन्दिर चोकमा रहेको एक नयाँ घरको सेफ्टी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ । बुधबार बिहान १० बजेको समयमा सोही ठाउँका चन्द्रिका रौनियारले बनाउँदै गरेको नयाँ घरको सेफ्टी ट्यांकी भित्र दुहबी २ का ५० वर्षीय श्यामबहादुर तामाङ र सोही ठाउँका ३२ वर्षीय रमेश राईको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतक तामाङ बनाउँदै घरको ठेकेदार हुन् भने राई कामदार हुन् । दुवै जनाको शव विपी कोइराला स्बास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि फरेन्सिक विज्ञसहितको टोली घटनास्थलतर्फ झिकाइएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञ झिकाइएको हो । घटनास्थल इलाका प्रहरी कार्यालय दुहबीबाट करिब २ किलोमिटर पूर्वमा पर्छ ।