इटहरीः झापाको बाह्रदशी गाउँपालिका–६ साधुकुटीमा आफ्नै बाबुले नाबालिका छोरीलाई पटकपटक बलात्कार गरेको भयावह घटना खुलेको छ । १५ वर्षीया नाबालिकामाथि आफ्नै बाबु आनन्द राई (परिवर्तित नाम)ले ६ वर्षभन्दा लामो समयदेखि बलात्कार गर्दै आएको खुलासा भएको हो । कक्षा ४ पढ्दादेखि सुरु भएको यौन दुव्र्यवहार बिषयमा बालिकाले कक्षा १० मा पुगेर मात्रै घटना सार्वजनिक गरेकी हुन् ।
बालिकाले सुरुमा घटना बारेमा आमालाई जानकारी गराउँदा सुरुमा विश्वास नगरिएको तर पछि भने कुटपिट गरी पटकपटक बलात्कार गरेको खुलेको हो ।
पीडक राईले पछिल्लोपटक १८ चैत ०८२ मा बलात्कार गरेको र १९ गते इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएपछि २० चैतमा पक्राउ गरिएको थियो । पक्राउपछि आनन्दमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र हाल पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनीमाथि बाल यौन दुव्र्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको र हाल पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पीडित बालिकाकी ठूलीआमा (आमाकी दिदी) विमला राई (परिवर्तित नाम)का अनुसार आनन्दले बालिकालाई कक्षा ४ मा पढ्दादेखि नै बलात्कार गर्दै आएका थिए ।
‘त्यतिबेला छोरी करिब ९ वर्षकी थिइन् । तर, १० कक्षामा पुगेपछि घटनाको सबै रहस्य बाहिरियो,’ उनले भनिन्, ‘घटना भएपछि साथीहरूलाई भनिछिन् । पछि आमालाई पनि भन्दा पत्यार लागेन । तर, चैतमा भने ‘लुगा खोल् नभए मारिदिन्छु’ भन्दै जबरजस्ती करणी गरेपछि आमालाई पनि थाहा भयो र प्रहरीमा जाहेरी दिइयो ।’
यसअघि पीडक आनन्दले छोरीले लगाएको कपडासमेत जलाएको, घटना बारेमा कसैलाई भनेमा मारिदिने धम्की दिएको, पटकपटक जबरजस्ती करणी गरेको उनले बताइन् ।
मारिदिने धम्कीकै कारण यसअघि घटना बाहिर नल्याएको, समाजले हेर्ने दृष्टिकोण नै गलत हुने भएकाले पनि मौन रहेको, डर, त्रासका कारण च भएपनि चुपचाप रहेको, तर असह्य र अतिचार भएपछि कानुनी पाटोमा अगाडि बढेको उनले बताइन् । बालिकालाई हाल सुरक्षित घर (सेफ हाउस) मा राखिएको छ । १ वैशाख ०८२ देखि बालिकालाई सुरक्षित घरमा राखिएको हो ।
पछिल्लोपटक भने पीडक राईका दिदीहरूले पीडित बालिकाका आमालाई ज्यानै जानेगरी निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ । बेलायतदेखि आएका सुमना, स्मिता, सावित्री र उर्मिला (सबै परिवर्तित नाम)ले बालिकाका आमामाथि ज्यानै जानेगरी सामूहिक कुटपिट गरेको विमलाले बताइन् ।
‘आनन्दविरूद्व उजुरी दिएपछि पीडित आमामाथि उनका आफन्तजनहरूले नियोजित ढंगले कुटपिट गरेका छन्,’ कुटपिटपछि राजधानीको सम्पर्कमा आएकी पीडित परिवारकी सदस्य उनले भनिन्, ‘विदेशबाट आएका आफन्तसहित चार जना महिलाले ढोका थुनेर ज्यानै लिने नियतले आक्रमण गरे । कुटपिटका क्रममा मोबाइलसमेत फुटाइयो र प्रमाण नष्ट गर्ने प्रयास गरियो ।’
मोबाइलमा भएका प्रमाण नष्ट गर्नका लागि निर्घात कुटपिट गरिएको उनले बताइन् । उनका अनुसार उक्त घटना २० साउन (तीन दिनअघि)मा भएको हो । गम्भीर घाइते भएकी महिलाको अहिले बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
‘मोबाइल फुटाउने र प्रमाण नष्ट हुन्छ भन्ने किसिमले कुटपिट गरियो,’ उनी भन्छिन्, ‘एकजना छोरी मान्छे बसेको ठाउँमा आएर योजनाबद्ध ढंगले, ज्यान मार्ने उद्देश्यले घाँटी थिच्ने, कसैले लछारपछार गर्ने र अर्को मानिसले मोबाइलबाट भिडियो बनाउने गरिएको छ ।’
अहिले पीडित महिलालाई आफन्तबाटै ज्यान जोगाउन समस्या भएको उनले बताइन् । यस’दयगत प्रहरीलाई जानकारी दिएपनि प्रहरीले रुढ व्यवहार गरेको उनले आरोप गराइन् । ‘मैले प्रहरीलाई जानकारी गराएपनि राम्रो रेस्पोन्स भएन, रुढ व्यवहार भयो,’ उनले भनिन्, ‘पीडकका आफन्तले प्रहरीलाई भनसुन गरेको शंका छ ।’
बालिकाले भोगेको यौन हिंसा र आमाले पाएको आक्रमणले परिवारलाई गहिरो मानसिक र सामाजिक पीडा दिएको उनले उदृत गरिन् ।
परिवारले घटनाका बिषयमा प्रहरी र स्थानीय तहलाई पहिले पनि जानकारी गराएको भए तापनि गम्भीर रूपमा नलिएको गुनासो गर्दै आएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले घटनाको अनुसन्धान भइरहेको र संलग्नहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।
प्रहरी निरीक्षक सन्तोष राईले भने कुटपिटको विषयमा संलग्न चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको बताए । ‘कुटपिट भएको विषयमा चार जनालाई ल्याइएको छ । जाहेरी दिएपछि मुद्दाको प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘घरपरिवारको कुरा भएकाले छलफलमा पनि बस्ने कि भन्ने पनि कुरा भएको छ । हालसम्म जाहेरी आएको छैन ।’
तर, जो पीडित हो, उही व्यक्ति अस्पतालमा उपचाररत भएको अवस्थामा भने प्रहरीले छलफल नै गरेर मिलाउन खोजेको पीडितको आरोप छ । नाबालिका बलात्कारको घटनामा संलग्न अहिले पुर्पक्षका लागि थुनामा रहेको प्रहरी निरीक्षक राईले बताए । उनले भने, ‘त्यो विषयमा अनुसन्धान सकेर अदालतमा बुझाइसकिएको छ, अदालतमा गइसकेको विषयमा र विचाराधीन रहेको विषयमा नबोलौँ ।’
बालिकामाथिको यौन हिंसा र आमामाथि भएको कुटपिटलाई छुट्टाछुट्टै मुद्दाका रूपमा हेरिएको प्रहरीले जनाएको छ । पीडित परिवारले दोषीहरूलाई कडा कारबाही गर्न माग गरेपनि स्थानीय जनप्रतिनिधिले भने मिल्न दबाब दिएको पीडितले जनाएका छन् ।
यस’दयगत जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र बहादुर खड्काले पारिवारिक कारण रहेको बताए । ‘कुटपिटको विषयमा सुरुमा भनाभन भएको र पछि सामान्य निहुबाटै यो अवस्था आएको बुझिएको छ,’ खड्काले भने, ‘आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’
जाहेरी दिएपनि प्रहरीले जाहेरी लिन नमानेको पीडितले आरोप लगाएका छन् । खासगरी राजनीतिक दबाबका कारण प्रहरीलाई जाहेरी नलिनका लागि दबाब आएको बुझिएको छ । यस बिषय डीएसपी खड्काले भने, ‘राजनीतिक दबाबका कारण जाहेरी नलिने भन्ने हुँदैन । घटनाका बिषयमा अनुसन्धान गर्छौँ ।’
खड्काले जाहेरी लिने बताएपनि इलाका प्रहरी कार्यालय अनारमनीका इन्सपेक्टर राईले भने घटनामा जाहेरी नलिएको पीडितले बताएका छन् । आफूहरूलाई ‘राजनीतिक दबाब’ आएको र पारिवारिक कारण भन्दै उनले मिल्न दबाब दिएको पीडितले बताएका छन् । ‘राजनीतिक दबाबका कारण जाहेरी नलिने भन्दै फर्काइयो,’ विमलाले भनिन्, ‘न्याय दिलाउने निकायबाटै दबाब र प्रभावका कारण पीडितलाई झनै पीडित बनाइएको छ ।’यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।