इटहरीः सुनसरीको कोशी गाउँपालिका–०८, भिमनगर नाकाबाट जाली नोटसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा २०८२ साउन १९ गते राति ९:३० बजेतिर इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको हो।
पक्राउ परेका व्यक्तिहरूमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–०२ निवासी २६ वर्षीय राजेश कुमार रजक र सोही नगरपालिकाको वडा नं.–०१ निवासी २५ वर्षीय राजेश चमार रजक रहेका छन्।
पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। जाली नोटको कुल रकम ३८ हजार रुपैयाँ बराबर रहेको छ।
प्रहरीले बरामद नोट र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।