इटहरी: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का निलम्बित सुनसरी सभापति जीवनकुमार श्रेष्ठले पदबाट राजीनामा दिएको ७ घण्टा नबित्दै जिल्ला कोषाध्यक्ष देवराज अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्याललाई सम्बोधन गर्दै अधिकारीले कोषाध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
जिल्ला सभापति श्रेष्ठले झै कोषाध्यक्ष अधिकारीले पनि आफ्नो राजीनामा पत्रमा पार्टीको कोसी प्रदेश र सुनसरी जिल्ला समिति भित्र चरम गुटबन्दी, शक्ति केन्द्रित सोच र संस्थागत सुशासनको अवमूल्यनले आफ्नो आत्मसम्मानमा गम्भीर चोट पुर्याउने काम गरेको जनाएका छन् ।
अधिकारीले बुझाएको राजीनामा पत्रमा भनिएको छ—‘विशेष गरी कोसी प्रदेशमा असक्षम नेतृत्व, पार्टीभित्रको गम्भीर संस्थागत अस्तव्यस्तता, निर्णय प्रक्रियामा पारदर्शिताको पूर्ण अभाव, निषेधको राजनीति, स्वार्थ रहित सङ्गठनबाट निर्माण तथा केन्द्रको चरम जवाफहीनताले पार्टीको अन्तर आत्मा नै गुमाइसकेको अनुभूति गरेको छु ।’
जिल्ला कोषाध्यक्ष पदबाट राजीनामा दिएका अधिकारीले विशेष त दुई वटा सवाललाई गम्भीरताका साथ राजीनामा पत्रमा पठाएका छन् । अधिकारीले कोशिका महामन्त्री लालविक्रम थापाप्रति सङ्केत गरी रास्वपाको कोसी प्रदेशमा देखिएको कमजोर, अनुदार र असक्षम नेतृत्वका कारण राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।
त्यसैसरि इटहरी नगर अधिवेशन लगायत विभिन्न पालिकाहरूमा खेलिएका गुटगत स्वार्थको नाङ्गो प्रदर्शन सहितको खेलेको दाबी गरेका छन् । उनले सो प्रवृत्तिमा पार्टीका केन्द्रीय महामन्त्रीको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता, प्रदेश तथा केन्द्रीय अनुशासन आयोगको द्वैध चरित्र र प्रदेश इन्चार्जको गैर जिम्मेवार अभिव्यक्ति नै मूल कारक भएको दाबी कार्यवाहक केन्द्रीय सभापति अर्याललाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले राजीनामा पत्रमा इटहरी नगर अधिवेशनमा देखिएको खुल्लम खुल्ला गुटगत राजनीति, सङ्गठन कब्जा गर्न खोज्ने नियोजित प्रयासहरूका कारण लोकतान्त्रिक प्रक्रियाको अपमान मात्र थिएन त्यो एक प्रकारको राजनीतिक प्रतिशोध रहेको उल्लेख गरेका छन् । जुन फरक मत राख्ने कार्यकर्ताहरूको मनोबल तोड्न प्रयोग गरियो, तोडियो र पार्टी भित्र फरक मत राखेकै भरमा त्यस्ता फरक मत राख्नेहरूलाई केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय अनुशासन आयोगको सहकार्यमा निस्तेज पार्ने तानासाह प्रवृत्ति मौलाएको आरोप समेत अधिकारीले राजीनामा पत्र मार्फत लगाएका छन् ।
अधिकारीले राजीनामा पत्र मार्फत भनेका छन्र्—लोकतान्त्रिक मूल्य र स्वस्थ बहसको संस्कृति कायम गर्ने भनेर आएको पार्टीभित्र वैकल्पिक विचारलाई अपराध सरह व्यवहार गरिनु गम्भीर चिन्ताको विषय भएको मेरो व्यक्तिगत ठहर छ । देशमा सुशासन कायम गर्न भनी जोडिएको म यस्ता प्रवृत्तिको घोर विरोध गर्दछु र पार्टीभित्रको यो असहिष्णुता, जवाफदेहीविहीनता र प्रतिशोध प्रधान राजनीतिसँग मेरो आत्माले कदापि सम्झौता गर्दैन ।’
यस्तो छ,अधिकारीले दिएको राजीनामाको व्यहोरा
श्री कार्यबहाक सभापति ज्यू,
राष्ट्रिय स्वतन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं
मार्फत कार्यबाहक जिल्ला, प्रदेश सभापती सुनसरी, कोशी प्रदेश।
विषयः राजीनामा पेश गरिएको सम्बन्धमा ।
म इटहरी सुनसरी निवासी देवराज अधीकारी राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपस्चात शून्य समयदेखी नै पार्टीमा जोडिएर पार्टी निर्माणका निमित्त अहोरात्र खटिएर प्रदेश समिति सदस्य तथा गुनासो ब्यब्स्थापन बिभागको बिभागिय जिम्मेवारी सफलतापुर्बक सम्पन्न गरि हाल सुनसरी जिल्ला समिति को कोषाध्यक्षको जिम्मेवारीमा रहेर कार्य गरिरहेको छु । पार्टीप्रतिको गहिरो विश्वास, स्वच्छ राजनीतिक संस्कारको आस्था र वैचारिक परिवर्तनको बलियो प्रेरणाले गर्दा मैले समय समयमा पाएको पदिय जिम्मेवारी स्वेच्छाले स्वीकार गर्दै अघि बढीरहे। तर पछिल्ला दिनहरूमा विशेष गरि कोशी प्रदेश, सुनसरी जिल्लामा पार्टीभित्र देखिएका भए गरिएका चरम गुटबन्दी, शक्ति केन्द्रित सोच र संस्थागत सुशासनको अवमूल्यनले मेरो आत्मसम्मानमा गम्भीर चोट पुगेको छ । बिशेष गरि कोशी प्रदेशमा असक्षम नेतृत्व, पार्टीभित्रको गम्भीर संस्थागत अस्तब्यस्ता, निर्णय प्रक्रियामा पारदर्शिताको पूर्ण अभाव, निषेधको राजनिती, स्वार्थ रहित संगठनबाट निर्माण तथा केन्द्रको चरम जवाफहीनताले पार्टीको अन्तरआत्मा नै गुमाइसकेको अनुभूति गरेको छु।
विशेषतः
१. कोशी प्रदेशमा देखिएको कमजोर, अनुदार र असक्षम नेतृत्व,
२. इटहरी नगर अधिवेशन लगायत विभिन्न पालिकाहरुमा खेलिएका गुटगत स्वार्थको नाङ्गो प्रदर्शन सहितको खेल। उक्त प्रवृत्तिमा पार्टीका केन्द्रीय महामन्त्रीको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता, प्रदेश तथा केन्द्रिय अनुशासन आयोगको द्वैध चरित्र। प्रदेश इन्चार्जको गैरजिम्मेवार अभिव्यक्ति।
इटहरी नगर अधिवेशनमा देखिएको खुल्लम खुल्ला गुटगत राजनिती, सङ्गठन कब्जा गर्न खोज्ने नियोजित प्रयासहरूका कारण लोकतान्त्रिक प्रक्रियाको अपमान मात्र थिएन त्यो एक प्रकारको राजनीतिक प्रतिशोध थियो — जुन फरक मत राख्ने कार्यकर्ताहरूको मनोबल तोड्न प्रयोग गरियो, तोडियो र पार्टी भित्र फरक मत राखेकै भरमा त्यस्ता फरक मत राख्नेहरुलाई केन्द्रिय संगठन बिभाग, केन्द्रिय अनुशासन आयोगको सहकार्यमा निस्तेज पार्ने तानाशाह प्रवृत्ति मौलायो।
लोकतान्त्रिक मूल्य र स्वस्थ बहसको संस्कृति कायम गर्ने भनेर आएको पार्टीभित्र वैकल्पिक विचारलाई अपराध सरह व्यवहार गरिनु गम्भीर चिन्ताको विषय भएको मेरो ब्यक्तिगत ठहर छ।
देशमा सुशासन कायम गर्न भनी जोडिएको म यस्ता प्रवृत्तिको घोर विरोध गर्दछु र पार्टीभित्रको यो असहिष्णुता, जवाबदेहीविहीनता र प्रतिशोधप्रधान राजनीतिसँग मेरो आत्माले कदापी सम्झौता गर्दैन । अहिलेसम्मको राजनितीक यात्राका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकार्य गर्नेहुने, मार्गदर्शन गर्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक आभर प्रकट गर्दै म, देवराज अधिकारी आजकै मितिबाट लागू हुनेगरी सुनसरी जिल्ला समितिको कोषाध्यक्ष पदबाट राजीनामा पेश गरेको छु । अन्यथा अर्थ नलागोस यो निर्णय केवल व्यक्तिगत असन्तुष्टि होइन, यो मेरो वैचारिक असहमति, आत्मसम्मान र राजनीतिक संस्कारप्रतिको निष्ठाको प्रतिविम्ब हो। यो केवल पद त्याग होइन ब्यक्तिगत आत्मसम्मानको रक्षा हो। सिद्धान्त र स्वाभिमानप्रतिको निष्ठा हो।
पुरानै राजनितीक दलको झझल्को आउने कृत्रिम “नयाँ” राजनीति विरुद्धको मौन विद्रोह हो ।
नेपाल देशको जय होस।
विनम्रतापूर्वक
देबराज अधिकारी