सुनसरी : नेपालमा बनेका ऐन कानूनलाई कसैको प्रभाव र दबाबमा नपरी भेदभाव रहित कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने कसम खाएका जिम्मेवार प्रहरी अधिकारीहरू पैसा र पावरमा बिकेर कमजोर नागरिकमाथि अन्याय गर्छन् भन्ने यति बेला गतिलो उदाहरण बनेको छ,सुनसरीको इलाका प्रहरी कार्यालय पकली ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले दुर्घटना गराउने इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापासँगको मिलेमतोमा जाहेरी दरखास्त समयमा नलिँदा घाइते एक महिलाले उचित उपचार नपाउँदा दाहिने खुट्टा नै गुमाउनु पर्ने अवस्था सृजना भएको छ ।

२०८१ साल फागुन २२ गते साँझ साढे ६ बजे चतरा-कान्छी चौक सडक खण्डमा बा २१ च ६८८८ नम्बरको निशान कम्पनीको कारले प्र.१—०२—०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने देवीका खनालको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । मोटरसाइकल चालक राजकुमार पौडेल सामान्य घाइते भएका थिए । ठक्कर दिनसाथ वडाध्यक्ष थापा कार लिएर तत्कालै घटनास्थलबाट फरार भएका थिए । देवीकालाई लिफ्ट दिने मोटरसाइकल चालक र स्थानीयको सहयोगमा खनाललाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

खनालको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लाग्नुका साथै कम्मर मुनीको भागमा कारको चक्काले पेलेको थियो । विराट नर्सिङ होममा फागुन २४ गते देवीकाको दाहिने खुट्टाको कम्मर मुनिको भागमा अप्रेसन गरी स्टिल हाल्ने काम भएको थियो । खनालको विराट नर्सिङ होमका डाक्टर विजय मेहताले अप्रेसन गरी स्टिल राखेका थिए । अप्रेसन पछि ठक्कर दिने वडाध्यक्ष थापा विरुद्ध कानुनी कारबाहीको माग राखी देवीकाकी दिदी गीता खनालले जाहेरी दरखास्त लिएर दर्ताका लागि इलाका प्रहरी कार्यालय पकली पुगेकी थिइन् ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक दाहालले निवेदन दर्ता नै नगरी वडाध्यक्षले सबै उपचार बेहोर्ने भनेर आश्वासन दिलाएका थिए ।

‘उपचार खर्च पनि पनि बेहोरी रहेका थिए, पहिलो कुरा त बिरामीको उपचार राम्रो हुन पर्‍यो । वडाध्यक्ष थापा र प्रहरी निरीक्षक दाहालको भूमिका प्रति चित्त बुझेन र निवेदन दर्ता गर्न खोजेका थियौ’, घाइतेकी दिदी गीता खनालले भनिन् ‘दुर्घटना भएको केही दिनमै थापासँगको मिलेमतोमा प्रहरी निरीक्षक दाहालकै निर्देशनमा उपचारमा कुनै कमी हुन नदिने सर्तमा कार निकाल्नका लागि मुद्धाफाँटका प्रहरी कर्मचारीहरूले मिलापत्रको कागज गराएका थिए ।’

अप्रेसनपछि देवीका मोरङको सुन्दरहरैंचा ७ मा रहेको माइती घरमा बसेर घाउको ड्रेसिङ गराउँदै आराम गरिरहेकी थिइन । अप्रेसन गरेको स्थानको घाउ निको हुनका साटो प्रतिदिन पाक्न थालेपछि फलोअपका लागि देवीकालाई विराट नर्सिङ होम नै लगिएको थियो । उनको फलोअपमा डा. सरोज कुमार साहले चेकजाँच गरेका थिए । सो बेला स्टिल लगाएको स्थानमा हड्डी ठिक ठाउँमा लागेको भनेर उनलाई घर पठाइएको थियो ।

तर, झन् घाउ पाक्न थालेपछि प्रहरीलाई अनुनय विनय गरेर घाउ जाँच फारम भरी कोशी अञ्चल अस्पताल विराटनगर चेक जाँचका लागि १६ ज्येष्ठमा बहिनीलाई लगेको दिदी गीताले बताइन् । यतिकासम्म हुँदा वडाध्यक्ष थापा सम्पर्कमा नआएको र सम्पर्कमा आउनका लागि पटक पटक इलाका प्रहरी कार्यालय पकलीमा कुरा राख्दा प्रहरी निरीक्षक दाहालले सुनेको नसुने झैँ गरेको उनको भनाई छ । कार झिक्दा वडाध्यक्ष थापाले गरेको मिलापत्र अनुसार बिरामीको उपचारमा ध्यान नदिएकाले अब कुनै पनि हालतमा जाहेरी दरखास्त दर्ता गर्नु पर्छ भनी प्रहरी कार्यालय पुगेर प्रहरी निरीक्षक दाहाललाई आग्रह गर्दा दाहालले हप्कीदप्की गरेको गीताको आरोप छ ।

कोशी अञ्चल अस्पतालको डाक्टरले चेकजाँच गर्दा देवीकाको अप्रेसन गरी स्टिल हाल्दा नै डाक्टरले गलत गरेको भनिएको थियो । विराट नर्सिङ होमका डाक्टरले अप्रेसन गरी स्टिल हाल्दा उल्टो हालिएकाले इन्फेक्सन भएको रिपोट सहित पुनः अप्रेसन गर्नुपर्ने सुझाव दिइएको थियो । कोशीको डाक्टरले घाउ जाँचको रिपोट सहित पुनः अप्रेसनका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेका थिए । 

पछि असार २२ गते बिपीमा देवीकाको दोस्रो पटक अप्रेसन गरी स्टिललाई मिलाउने काम गरिएको थियो । 

4444


जाहेरी दरखास्त दर्ता गर्न अस्वीकार

वडाध्यक्ष थापाले सही उपचार नगराएका कारण बहिनी देवीकाको दाहिने खुट्टाको पुनः अप्रेसन गर्नु पर्ने परिस्थिति सृजना भएपछि कानुन अनुसार अगाडि बढ्नका लागि जाहेरी दरखास्त लिएर गीता पटक पटक इलाका प्रहरी कार्यालय पकली र जिल्ला सरकारी वकिल कार्यालय इनरुवा धाएकी थिइन् । दुवै कार्यालयका प्रमुखले गीताको जाहेरी दरखास्त दर्ता नगरी अनेकन कुरा गरेर फर्काउने काम गरेका थिए । वडाध्यक्ष थापाले नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पावर देखाएर पैसा खर्च गरेर इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक दाहाल र जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुखलाई आफ्नो पक्षमा पारेकै कारण आफ्नो जाहेरी दरखास्त लिएर दर्ता नगरिदिएको दिदी गीताको दाबी छ ।


हुलाक मार्फत जाहेरी पठाइयो, भएन सनाखत

लिखित रुपमा जाहेरी दरखास्त लिएर पटक पटक इलाका प्रहरी कार्यालय पकली र जिल्ला सरकारी वकिल कार्यालय इनरुवा धाउँदा दर्ता नगरी उल्टै घाइते बहिनीको चरित्रमाथि अनेकन आरोप लगाउने काम भएपछि दिदी गीताले इलाका हुलाक कार्यालय इटहरीबाट दुवै कार्यालयलाई जाहेरी दरखास्त र निवेदन पठाएकी थिइन् । गीताले २०८२ ज्येष्ठ २२ गते हुलाक मार्फत जाहेरी दरखास्त र निवेदन दुवै कार्यालय पठाएकी थिइन ।

गीताले हुलाकमार्फत पठाएको पत्र इलाका प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय इनरुवाले २५ ज्येष्ठमै बुझेको थियो । कानुनतः यसरी हुलाकमार्फत पत्र आउन साथ सनाखत गराई कारबाही अगाडि बढाउनु पर्ने हुन्छ तर इलाका प्रहरी कार्यालय पकलीले सनाखतको प्रक्रिया नै अगाडी बढाएको थिएन ।


उच्च अदालतमा निवेदन

हुलाक मार्फत पठाएको जाहेरी दरखास्त र निवेदन सनाखत गराई वडाध्यक्ष थापालाई कानुनी कारबाही अगाडि बढाउने विषय पकली प्रहरीले चासो नराखेपछि दिदी गीताले उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएकी थिइन् । गीताले दर्ता गराएको निवेदन उपर उच्च अदालत विराटनगरले निवेदन दर्ता नगर्नुको कारण र प्रमाण सहित उपस्थितिका लागि जिल्ला सरकारी वकिलको कार्यालय इनरुवाका नाममा परमादेश जारी गरेको थियो । गीताका अनुसार उच्चले परमादेश अनुसार आउँदो भदौ ३ गतेका लागि तारेख समेत तोकेको छ ।


दरखास्त दर्ता नगर्नुको कारण माग

उच्च अदालत विराटनगर पीडितको तर्फबाट दिदी गीताले दिएको जाहेरी दरखास्त दर्ता नगर्नुको कारण र प्रमाण माग गदै जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका विरुद्ध ८ असारमा परमादेश जारी गरेको थियो । साथै उपस्थित हुनका लागि आउँदो भदौ ३ गते तारेख तोकेको छ । इलाका प्रहरी कार्यालय पकलीले हुलाक मार्फत पठाएको जाहेरी दरखास्त सहितको पत्र सनाखतका लागि उपस्थित हुन श्रावण ११ गते हुलाक मार्फत नै इटहरी ४ निवासी दिदी गीता खनालको नाममा पत्र पठाएको छ । जाहेरी दरखास्त सनाखतका लागि भन्दै ७ दिनको म्याद राखी पठाएको पत्रको चलानी नम्बर १२९ रहेको छ । सो पत्रमा इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले नै हस्ताक्षर गरेका छन् ।

हुलाकमार्फत आएको पत्र इलाका प्रहरी कार्यालय पकलीले २५ ज्येष्ठमै बुझेको थियो । तर त्यसको ठिक ४८ दिनपछि ११ श्रावणको मिति राखेर सनाखतका लागि गीतालाई हुलाक मार्फत प्रहरी निरीक्षक दाहालले पत्र पठाएका छन् । यसअघि तीनै प्रहरी निरीक्षक दाहाललाई गीताले पटक पटक भेटेर जाहेरी दरखास्त दर्ताका लागि अनुनय विनय गरेकी थिइन् । उ बेला वडाध्यक्ष थापासँगको साँठगाँठमा प्रहरी निरीक्षक दाहालले जाहेरी दरखास्त दर्ताका लागि चासो नै राखेका थिएनन् ।

गीता भन्छिन् : ‘जब न्यायका लागि म सबै प्रमाण सहित उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्न गए पछिको आदेशका कारण मात्र दाहालले आफू समस्या पर्ने भएकाले सनाखतका लागि पत्र पठाएको भन्ने मैले राम्रोसँग बुझेको छु ।’ जाहेरी दरखास्त सनाखतका लागि इलाका प्रहरी कार्यालय पकली जाने कि नजाने भन्ने विषयमा वकिलको सल्लाह अनुसार आफू अगाडि बढ्ने उनले बताइन् ।

66इलाका प्रहरी कार्यालय पकलीले ११ श्रावणको मितिमा गीतालाई सनाखतका लागि पठाएको पत्रमा इनरुवा ६ का वडाध्यक्ष सुमन थापाले लापारवाही तरिकाले चलाएको बा २१ च ६८८८ नम्बरको निशान कम्पनीको कारले प्र.१—०२—०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई देवीका खनाल र रामप्रसाद पौडेललाई घाइते बनाएको जनाउँदै जाहेरी दरखास्त, निवेदन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को २ को दफा ४(३) (क) र कसुरको अनुसन्धान सम्बन्धी नियमावली, २०७५ को नियम ४(१) बमोजिम सनाखत गराई अनुसन्धान तहकिकातको प्रक्रिया अगाडि बढाउनु पर्ने भएकाले पत्र पाएको ७ दिन भित्रमा कार्यालय उपस्थित हुन अनुरोध गरिएको छ ।


अनुसन्धानमा समय लाग्यो : प्रहरी निरीक्षक दाहाल

देवीका खनालको दुर्घटना प्रकरणमा आफूले वडाध्यक्ष थापाको पक्षमा नलागेको दाबी इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक दाहालले गरेका छन् । अनुसन्धान गर्न समय लागेकाले हुलाकबाट प्राप्त पत्र ढिलो गरी जाहेरी दरखास्त दिने घाइतेकी दिदी गीतालाई सनाखतका लागि पत्र पठाएको दाहालको भनाई छ ।

उच्चले परमादेश जारी गरी प्रमाण सहित उपस्थित हुन ३ भदौलाई तारेख तोकेपछि तपाईँलाई तातो लाग्यो नि ? यो घटनामा त तपाई र तपाईँको कार्यालयको सरासर वडाध्यक्ष थापालाई बचाउन राम्रो साँठगाँठ देखिन्छ नि ? भन्ने प्रश्नमा प्रहरी निरीक्षक दाहालले त्यो नभएको जवाफ दिए ! कानुन सबैलाई बराबरी हो कि वडाध्यक्षलाई चाहिँ फरक लाग्ने हो ? भन्ने अर्को प्रश्नमा कानुन सबैलाई बराबरी नै लाग्ने प्रहरी निरीक्षक दाहालले जवाफ दिए ।


22AA

गल्ती भयो,पीडितलाई न्याय दिलाउन अब हामी लाग्छौ : प्रहरी उपरीक्षक तिम्सिना


देवीका खनाल दुर्घटनामा प्रकरणमा समयमा जाहेरी दरखास्त दर्ता गरेर अगाडि बढ्ने विषयमा प्रहरीको तर्फबाट गल्ती भएको स्वीकार गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले अब पीडितका आफन्तसँग माफी मागेर वहाँहरूलाई न्याय दिलाउन सुनसरी प्रहरी लागि पर्ने बताए । उनले प्रहरीको पहिलो दायित्व घाइतेको उपचार गराउने भएकाले प्रहरीले प्रभावकारी समन्वय गरेको दाबी गरे ।

पहिलो पटकको अप्रेसन सहितको ५ लाख बढी खर्च वडाध्यक्ष थापाले नै बेहोरेको उनले बताए । पछि डाक्टरले गलत उपचार गर्छ भने त्यसको सबै जिम्मेवारी प्रहरीले लिन नसक्ने जवाफ तिम्सिनाले दिए ।

प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘यस प्रकृतिका घटनामा पिडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेर कानुन कारबाही गर्न मिल्दैन । उसले घाइतेको उपचार गर्छ गर्दैन भन्ने हेर्ने काम मात्र प्रहरीले गर्ने हो ।’ त्यही भएर पनि पीडितको जाहेरी पकली प्रहरीले तत्काल नलिएको हुन सक्ने तिम्सिनाले बताए ।

तिम्सिनाले एउटै जिल्लावासी र व्याजी समेत रहेका प्रहरी निरीक्षक दाहालको बचाउ गर्दै पीडितको जाहेरी दरखास्त नलिइएको प्रहरी स्रोतको दाबी छ ।

जाहेरी दरखास्त दिनुअघि घाइते ठिक नहुन्जेल सम्मको सबै उपचार गर्ने वडाध्यक्षसँग मिलापत्र गरी नियन्त्रणमा लिएको उनको कार उनैलाई बुझाइएको एसपी तिम्सिनाले बताए । २४ घण्टाभन्दा बढी समय सवारी साधन राख्न नमिल्ने कानुनी व्यवस्था अनुसार कार बुझाइएको तिम्सिनाको भनाई छ ।

तिम्सिनाले सवारी दुर्घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिएर हिरासतमा नराखेको अनौठो दाबी पनि गरे । कानुनलाई प्रहरी र अदालतले फरक तरिकाले व्याख्या गर्ने हो र ? भन्ने प्रश्नमा त्यस्तो त नहुने उनले जवाफ दिए ।

उसो भए एउटै कानुन टेकेर समयमै पीडितको तर्फबाट जाहेरी दरखास्त लिएर आउँदा पकली प्रहरीले दर्ता नगरिदिने अनि उच्च अदालत विराटनगरले तारेख तोकेपछि हुलाकमार्फत आएको जाहेरी दरखास्त सहितको निवेदन सनाखतका लागि ४८ दिनपछि पकली प्रहरीले पत्र पठाउनु त प्रहरीको काम कारबाही प्रति खोट देखियो नि त ? भन्ने प्रश्नमा प्रहरी उपरीक्षक तिम्सिनाले त्यसमा प्रहरीको गल्ती भयो, हामी पीडित परिवारसँग माफी माग्छौँ र कानुन अनुसार जाहेरी दरखास्त सनाखत गरी कारबाही प्रक्रिया अगाडि बढाउँछौ 

उनले कानुनले सबैलाई बराबर दृष्टिले हेर्ने प्रतिक्रिया समेत दिए ।