सुनसरी । प्रहरीको कुटपिटबाट इटहरीका एक युवकको मृत्यु भएको परिवारले आरोप लगाएका छन् । इटहरी उपमहानगरपालिका वडा नं. २ का २० वर्षीय युवराज निरौलाको धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचको क्रममा निरौलामाथि प्रहरीले निर्घात कुटपिट पछि उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा निरौलाको मृत्यु भएको परिवारले आरोप लगाएका हुन । घटनाक्रम अनुसार साउन ९ गते  साँझ ८ बजे निरौला र उनको साथी बेलका ३ उदयपुरका २२ वर्षीय दीपक कटुवाल धरान जाने क्रममा चेकजाँचमा परेका थिए ।

लागु औषध सेवन गरेका दुवै जनालाई प्रहरीले रोकेको थियो । सोधपुछको क्रममा प्रहरीसँगको विवादमा निरौलामाथि केही प्रहरीले हात र बुटले छातीसँगै टाउकोमा प्रहार गरेको मृतकका भाइ सन्तोष निरौलाको आरोप छ । 

‘शुक्रवार ८ बजे प्रहरीले तपाईँको मान्छे पक्राउ गरेका छौ भनेर फोन गर्‍यो । पुर्न ११ बजे घाइते भएको छ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आउनु भनेर दोस्रो पटक फोन आयो’ भाइ सन्तोषले प्रदेश पोर्टलसँग भने ‘हामी ११ बजे इटहरी घरबाट आमा र म गाडी नपाएर हिँडेरै बिहान २ बजे धरान बिपी पुग्यौ । इमरजेन्सी विभागमा टाउकोबाट रगत बगेर अचेत अवस्थामा दाइँलाई देखौँ ।’  सन्तोषले थपे ‘बिपीले विराट नर्सिङ होम रेफर गर्‍यो । विराटमा टाउकोको सामान्य शल्यक्रिया पश्चात् भेन्टिलेटरमा भर्ना गरियो । पछि दोस्रो शल्यक्रिया र उपचार गर्न त्यहाँ खर्च अभाव भएपछि विराट टिचिङ अस्पताल लग्यौ । सिटिस्क्यान गरेर हेर्दा टाउकोको भागको धेरै ठाउँमा रगत जमेको र शल्यक्रिया गरेर पनि उपचार सम्भव नहुने चिकित्सकहरूले सुझाव दिनुभयो । अनि कोशी अस्पताल लग्यो र शनिवार बिहान दाइको मृत्यु भयो ।’ टाउकोमा भएको गहिरो चोट र रगत जमेको कारण दाइको मृत्यु भएको भनेर सबै अस्पतालका चिकित्सकहरूले भनेको सन्तोषले बताए । 

‘यो सरासर हत्या हो, पोस्टमार्टम गरेर घटनाको अनुसन्धानको माग गर्दछौ’ उनले भने ।  आफन्तका अनुसार मृतकको टाउको, छाती र खुट्टामा चोट देखिन्छ । 

पैसा मागेको आरोप

पक्राउ गर्दा तीनकुने प्रहरीले दुवै जनासँग पैसा मागेको समेत आरोप लगाइएको छ । मृतकका छिमेकी खगेन्द्र सुवेदीका अनुसार मृतक र दीपक कटुवालसँग लागु औषध भेटिएपछि तीनकुने डिउटीमा रहेका दुई जना प्रहरीले ८ हजार रुपैयाँ घुस मागेको बताए । 

‘घटनाक्रम बुझ्ने क्रममा प्रहरीले पैसा दिएर छाड्ने भनेपछि कटुवाल भाइले तीन हजार रुपैयाँ दिएछन् । मृतकसँग पैसा थिएन’ छिमेकी सुवेदीले प्रदेश पोर्टलसँग भने ‘कटुवाललाई प्रहरीले बाइक चढेर इटहरी भाग भनेर थर्काइए छ ।’ एक्लै भएका मृतकसँग पैसा नभएपछि त्यही राखिएको बुझियो । पछि विवाद भएछ । विवादकै क्रममा प्रहरीले बुट र हातले प्रहार गर्न थालेपछि मृतक भाग्न खोज्ने क्रममा तीनकुने देखि केही मिटर वर शनि मन्दिर छेउबाट प्रहरीले समातेको रहेछ । त्यही पनि प्रहरीले मृतकमाथि निर्घात कुटपिट गरेको र कुटपिटको कारण टाउकोमा गहिरो चोट परेको हो सुवेदीको दाबी छ । 

यता इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले घटना ९ गते ११.५० को समयमा भएको र दुवैको साथबाट ‘ट्रामाडोल’ नाम गरेको लागु औषध बरामद भएको दाबी गरे ।  चेकजाँचको क्रममा मृतक र दीपक कटुवालको साथबाट केही लागु औषध भेटिएको हो, सोधपुछको क्रममा मृतक भागेर शनि मन्दिर नजिक अचेत अवस्था ढलेको र प्रहरीले नै उपचारको लागि बिपी पुराएको जवेगुको भनाई छ ।  घटनामा प्रहरी कसैले पनि हातपात र पैसा नमागेको दाबी गरे । 

‘लापसे गरेर लट्ठ थिए, प्रहरीसँग विवाद पनि गदै थिए ! पक्राउ पर्ने डरले भाग्ने क्रममा लडेर घाइते भएको हो’ डिएसपी जवेगुले भने ‘बाँकी कुरा हामी अनुसन्धान गछौ ।’

घटनाका साक्षी प्रहरी नियन्त्रणमा 

मृतकसँग रहेका दीपक कटुवाल भने हाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा छन् । प्रहरीले कुटपिट र पैसा मागेको आरोप लगाएपछि कटुवाललाई नियन्त्रणमा लिएको धरानका डिएसपी जवेगु बताउँछन् । 

घटनापछि प्रहरी विरुद्ध अनावश्यक हल्ला गरेपछि उनलाई पूनं नियन्त्रणमा लिएको उनले बताए । तर मृतकका आफन्तहरूले भने घटना दबाउन उनलाई प्रहरी नियन्त्रणमा राखिएको दाबी गरेका छन् ।  कटुवाललाई हालसम्म कुनै पनि मुद्दा चलाइएको छैन । आफन्तहरूले भने घटना रहस्यमय भएको र यसको उचित छानबिन हुनु पर्ने माग राखेका छन् । घटनाको विषयमा मृतकका आफन्तहरू इलाका प्रहरी कार्यालय धरान पुगेका छन् । घटनाको छानबिन नहुन्जेल सम्म दाहसंस्कार नगर्ने आफन्तहरूले अडान राखेका छन् ।