इटहरीः सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा सोमबार राति भिनाजुले गोली हानि सालीको हत्या गरेका छन् ।
भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६ का २९ वर्षीय अजाज मियाँ जटले कटुवा पेस्तोलबाट गोली प्रहार गरी १७ बर्षीया साली अर्चना खातुनको हत्या गरेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।
टाउकोमा गोली लागेका कारण किशोरी अर्चना खातुनको घटनास्थलमै मृत्यु भएको तिम्सिनाले जानकारी दिए । हत्या घटनामा मृतक किशोरीका आफ्नै भिनाजु संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार पारिवारिक वादविवादकै क्रममा सोमबार बिहान करिब १ बजे अर्चना खातुनमाथि गोली प्रहार गरिएको थियो। घटनापछि अजाज मियाँ फरार रहेका छन्।
हत्या पछिको सुराकीका आधारमा आरोपी मियाँको खोजी भारतको सुपौलदेखि सुनसरीको सीमावर्ती नाकासम्म तीव्र पारिएको सुनसरी प्रहरीले जनाएको छ। घटनास्थलमा डिएसपी योगराज खतिवडाको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
प्रहरीका अनुसार फरार रहेका अजाज मियाँको विगतमा विभिन्न आपराधिक समूहसँग सम्बन्ध रहेको आशंका गरिएको छ। उक्त आशंकाका आधारमा प्रहरीले अन्तरदेशीय समन्वयसहित अनुसन्धान अघि बढाएको प्रहरी उपरिक्षक तिम्सिनाले जानकारी दिएका छन् ।