काठमाडौँः मङ्गलबार ल्हेन्देखोला– भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको जनाइएको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका छमध्ये तीन वटा गेट बाढीले बगाएको छ । यसबाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो, ढुङ्गाले भरिएको छ । आयोजनामा के कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त गर्न नसकिएको प्राधिकरण प्रवक्ता राजन ढकालले जानकारी दिए । उनका अनुसार भूमिगत विद्युत्गृहमा पनि पानी पसेको आशङ्का छ । त्यस्तै ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ ।
नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठुलो क्षति भएको छ । सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठुलो कटान भइरहेको छ । १३२ केभी प्रसारण लाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि हाइड्रोको विद्युत् उत्पादन पनि बन्द गरिएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द हुन पुगेको छ । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । यी आयोजना एक सातामा सञ्चालनमा आउन सक्ने प्रवक्ता ढकालले जानकारी दिए । प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवागढी जलविद्युत् आयोजनाको पुनस्र्थापना गर्न बर्खाभर सम्भव छैन । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।