इटहरीमा बन्ने फ्लाईओभरको म्याद सकियो, सार्वजनिक खरिद नियमावली विपरित ठेक्का लगाएको महालेखाको ठहर

इटहरीः इटहरीको मुख्यचौंकबाट उत्तरतर्फ एक बर्षमा फ्लाईओभर निर्माण गर्ने भन्दै इटहरी उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेपनि म्यादभित्र नबनेपछि महालेखा परिक्षणको कार्यालयले ठेकेदार कम्पनीलाई दिइएको पेश्की रकम असुल गर्न निर्देशन दिएको छ । 

महालेखा परिक्षणको कार्यालयले इटहरी उपमहानगरपालिकालाई ६ जेष्ठमा बुझाएको लेखाप्रतिवेदनमा इटहरी उत्तर पैदलयात्रीका लागि निर्माण गर्ने भनिएको फ्लाईओभर ठेक्का  नै सार्वजनिक खरिद नियमावली विपरित लगाइएको ठहर समेत गरेको छ । 

लेखापरिक्षण प्रतिवेदन अनुसार फ्लाईओभर निर्माणका लागि इटहरी उपमहानगरपालिकाले ५ करोड ४४ लाख ४ हजार ५ सय ५४ रुपियाँ ६१ पैसाको लागत अनुमान गरी बोलपत्र आह्वान गरेको थियो । रेजेन्सी विल्डर्स प्रालिले कबुल गरेको ४ करोड ५१ लख ६३ हजार ७ सय ५२ रुपियाँ स्वीकृत गरेको थियो ।  

इटहरी उपमहानगरले २०८० फागुन १८ गते रेजेन्सी विल्डर्स प्रालिसँग एक बर्ष भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । सम्झौतामा फ्लाईओभर निर्माणका लागि ठेकेदार कम्पनीलाई २०८१ फागुन १६ गतेसम्मको म्याद दिइएको थियो । ठेक्का सम्झौता लगत्तै कम्पनीलाई पेश्की वापत १८ लाख ५५ हजार रुपियाँ भुक्तानी दिइएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

महालेखाले लेखा परिक्षण गर्दासम्मको मितिमा फ्लाईओभरको काम शुरु नगरेकाले पेश्की वापत ठेकेदार कम्पनीलाई दिइको १८ लाख ५५ हजार रुपियाँ असुल गर्न इटहरी उपमहानगरलाई निर्देशन दिएको छ । 

WhatsApp Image 2025-07-09 at 19.52.28_7fd99f65

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६(३) अनुसार सार्र्वजनिक निकायले निर्माण स्थलको व्यवस्था नभई, निर्माण स्थलबाट हटाउनु पर्ने रुख, विरुवा लगायत अन्य संरचना हटाउने सुनिश्चितता नभई ,क्षतिपुर्तीको बजेटको सुनिश्चितता नभई र प्रचलित कानुन अनुसार वातावरणीय अध्ययनको प्रतिवेदन स्वीकृत नगराई बोलपत्र(ठेक्का) आह्रवान गर्न नहुने व्यवस्था गरेता पनि इटहरी उपमहानगरले त्यसको विपरित कार्य गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

इटहरी उपमहानरले नियमावलीको व्यवस्था विपरित निर्माण स्थलको उपलब्धता बेगर ठेक्का व्यवस्थापन कार्यशुरु गर्नु उचित नदेखिएको महालेखाले ठहर गरेको छ ।

महालेखाले नै ठेक्का प्रकृया नै खरिद नियमावली विपरित भएको ठहर गरी ठेकेदार कम्पनीलाई हतार हतार पेश्की दिएको रकम असुल गर्न निर्देशन दिएकाले अब इटहरीमा फ्लाईओभर बन्ने बिषय विवादमा तानिएको छ ।