धरानः नेपाल तरुण दल सुनसरी क्षेत्र नं १ कार्यसमितिको आयोजनामा धरानमा प्रथमपटक ‘प्रथम मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ हुने भएको छ । राष्ट्र निर्माणमा तरुणहरूको योगदान भन्ने मूल नारालाई आत्मसात् गर्दै नवगठित कार्यसमितिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो । सुनसरी जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ५५,६०,६५,७०र ७५ केजी समुहमा प्रतिष्पर्धा हुने तरूणदल क्षेत्रिय अध्यक्ष अजय राईले जानकारी दिए । 

प्रतियोगिता २०८२ साल साउन २७ र २८ गते (शुक्रबार र शनिबार) धरान–१५ स्थित सन्दन स्कुलको हलमा  हुने आयोजकले जनाएको छ  । आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूलाई कुल २ लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा प्रथम पुरस्कार विजेतालाई १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौँ पुरस्कारका लागि १५ हजार रुपैयाँ  पाउने छन् । यस्तै ‘बेस्ट पोजर’ र ‘मोस्ट मस्कुलर’ उपाधिका लागि जनही १० हजार  पाउनेछन्  । 

सुनसरी क्षेत्र नम्बर १ का  बडिबिल्डिङ खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । 

कार्यक्रमलाई सफल बनाउन धरान र सुनसरीका पत्रकार, सञ्चारकर्मी र सम्पूर्ण जनसमुदायको सहकार्य आवश्यक भएको आयोजक अध्यक्ष अजय राईले बताएका छन् ।यसअघि कार्यसमितिले तरुणहरूलाई नेतृत्व र अभिव्यक्तिमा सबल बनाउन एक दिने ‘तरुण लिडरशिप’ तालिम सञ्चालन गरिसकेको छ । त्यसैको निरन्तरतामा खेलकुद, कला, संगीत, नृत्य लगायतका विधामा तरुणहरूलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले  जनाएको छ ।