इलामः नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्य इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनलाई आइतबार साँझ उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। ढकालले माई नगरपालिकास्थित आफूले सञ्चालन गर्दै आएको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलकै एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो।
घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ढकाल नेकपा एमालेका विभिन्न तहका जिम्मेवार पदमा समेत रहेका छन्।
उनी नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्य, बुद्धिजीवी परिषद् जिल्ला सदस्य, माई नगरपालिका–१३ का इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्य पनि हुन्।
ढकाललाई जिल्ला प्रहरी कार्यालय इलाम ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इलाम प्रहरीले जनाएको छ।