रुषा थापा

आकाशे पुल सडक तथा बाटो पार गर्नाका निम्ति बनाइएको हो । जेब्राक्रसबाट सडक पार गर्दा दुर्घटना धेरै भएपनि आकाशे पुल निर्माण गरिएको हो । तर, पछिल्लो समय आकाशे पुल प्रचारप्रसार गर्ने औजार बनेको छ । सडक पार गर्नभन्दा पनि राजनीतिक दलका नेता, स्थानीय तह, मेला, महोत्सव वा विभिन्न कम्पनीहरुको विज्ञापन गर्ने थलो बनेको छ । 

काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लाका सबैप्रजसो आकाशे पुलमा केही न केही पोस्टर टाँसिएको देखिन्छ । प्रधानमन्त्री, मन्त्री कतै जान वा आउन लागेमा, मेला, महोत्सव हुन लागेमा, कम्पनीले कुनै कार्यक्रम गर्न लागेमा ठूलो र लामो पोस्टर बनाएर सम्बन्धित व्यक्ति वा कम्पनीको फोटो राखी आकाशे पुल ढाकिनेगरी राखिन्छ । 

यसरी आकाशे पुलमा पोस्टरमाथि पोस्टर टाँसिदा त्यसले शहरलाई नै कुरुप बनाएको छ । आफ्नो प्रचारप्रसार गर्नका निम्ति नेता, तिनका कार्यकर्ता वा विभिन्न व्यक्ति तथा संघसंस्थाले आकाशे पुलको दुरुपयोग गरिरहेका छन् । यद्यपि, यसविरुद्ध स्थानीय तह वा सम्बन्धित निकायले कदम चालेको पाइँदैन । 

आकाशे पुलमा पोस्टर त टाँसियो नै सँगै व्यापार व्यवसाय गर्ने थलोसमेत बनाइएको छ । आकाशे पुलमा हिँड्नै नसक्नेगरी मानिसहरु व्यापार गर्छन् । माग्ने मानछेहरु पनि त्यत्तिकै हुन्छन् भने आकाशे पुलमा बसेर टिकटक बनाउने पनि थुप्रै भेटिन्छन् । आकाशे पुल नै अवरोध हुनेगरी यस्ता गतिविधि गरिँदा आम सर्वसाधारणलाई निकै सास्ती भएको छ । 

आकाशे पुलमा हिँड्डुल गर्नु उनीहरुका लागि कुनै महाभारतभन्दा कम छैन । काठमाडौं महानगरपालिकाले रामशाहपथ र नयाँ बानेश्वरमा फलामको पुल राखेको छ । महानगरले यो पुल राखेको धेरै वर्ष भएको छैन । तर, पुलको पाता खियर चिप्लिने भएको छ भने डण्डी पनि पातलो छ । अर्कोतर्फ, भर्याङसमेत ससाना छन् । 

जसले गर्दा केही गर्दा त्यो आकाशे पुलमा हिँड्दाहिँड्दै मान्छे वा बच्चा चिप्लिएर सिधै माथिबाट लडेर तल गाडीले हान्ने जोखिम छ । योसँगै काठमाडौंका अधिकांश आकाशे पुलमा माग्ने मान्छे र पसल थाप्नेहरु यत्तिकै हुन्छन् । तर, नगर प्रहरी न आकाशे पुलमा पसल थाप्ने, टिकटक बनाउनेलाई कारबाही गर्छ न त माग्ने मान्छेलाई हटाउँछ । 

यता, भक्तपुरको सल्लाघारी, सिर्जनानगर, सूर्यविनायक, गठ्ठाघर, थिमीलगायत अधिकांश स्थानका आकाशे पुलमा पैदल यात्रु हिँड्नै नसक्नेगरी पसल थापिएको पाइन्छ । यहाँ पुल चढ्नु संघर्षभन्दा कम छैन । यसैलै, पैदल यात्रुहरु जोखिम मोलेर भएपनि जेब्राक्रसबाट बाटो काट्न बाध्य छन् । भक्तपुरमा तीन वटा स्थानीय तह छन् । एउटै स्थानीय तहले समेत आफ्नो क्षेत्राधिकारभित्रका आकाशे पुललाई व्यवस्थित बनाउन काम गरेको पाइँदैन । 

सूर्यविनायक नगरपालिकाका नगर प्रहरीहरु त नेताजस्तै छन् । बिहान मोटरसाइकल, स्कुटरमा कार्यालय आइपुग्छन् । मेयर, उपमेयरलाई सलाम ठोकेर हाजिर गर्छन् अनि दिनभर व्यापारीहरुसँग गफ गरेर बस्छन् । यहाँका नगर प्रहरीले कहिले पनि काम गरेको देखिँदैन । काम नगर्ने र दिनभर गफ गर्ने नगर प्रहरीहरुको दिनचर्या बनेको छ । 

सूर्यविनायक नगरपालिकाअगाडि सञ्चालनमा रहेका एउटै पसल दर्ता भएका छैनन् । यतिमात्र होइन, नगरपालिकाभित्र सञ्चालित एउटै व्यापार व्यवसाय दर्ता भएको पाइँदैन । तर, नगरका कर्मचारी र प्रहरीहरु अनुगमन गरेर त्यस्ता व्यापार व्यवसायीमाथि कारबाही गर्दैनन् । हुन त यहाँका कर्मचारी र नगर प्रहरीसँग काम गर्ने क्षमता नै छैन । 

प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतको आँडमा उनीहरुले जागिर पाएका हुन् । सल्लाघारी चौरभित्र डाइभिङ सेन्टरदेखि कराँते सिकाउने, विभिन्न व्यापार व्यवसाय सञ्चालन भएको छ । त्यो जग्गा नेपाल ट्रष्टको हो । तर, भक्तपुर नगरपालिकाका नगर प्रहरीले ती व्यापार व्यवसायीलाई कारबाही गर्दैनन् । 

हुन त नगरका जनप्रतिनिधि र कर्मचारी नै सरकारी सम्पत्तिमाथि आँखा लगाएर बसेका छन् । उता, काठमाडौं महानगरपालिकाका प्रहरीहरु पनि कामभन्दा बढी गफमा व्यस्त देखिन्छन् । नगर प्रमुख राजु पाण्डेमात्र खटिएको देखिन्छन् भने अन्य नगर प्रहरीहरु मापदण्डविपरीत सञ्चालित पसलमै बसेर गफ गरिरहेको भेटिन्छन् । 

ललितपुर महानगरका प्रहरीहरु चाँहि कामभन्दा विज्ञापनमा व्यस्त देखिन्छन् । महानगरभित्र थुप्रै मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालन भएका छन् । व्यापारीहरुले आकाशे पुल कब्जा गरेका छन् । तर, नगर प्रहरीले केही गरेको देखिँदैन । ललितपुरको मेयर र नगर प्रहरीको एउटै मात्र काम छ, त्यो हो काम नगर्ने तर ठूलो ठूलो प्रचारप्रसार गर्ने । 

उपत्यकाभित्र जेब्राक्रस पर्याप्ट छैन । भएका जेब्राक्रस पनि टाढाटाढा छ भने त्यसको पनि रंग मेटिसकेको छ । जेब्राक्रस देखिँदैन । आकाशे पुलमा हिँड्नसक्ने अवस्था छैन । जसले सडक पार गर्न आम सर्वसाधारणलाई निकै संघर्ष हुने गरेको छ । भाटभटेनी, बिग मार्टहरुमा किनमेल गर्न मानिसहरु त्यहाँ जान्छन् । 

तर, भाटभटेनीअगाडिका जेब्राकसको रंग मेटिसकेको छ । भक्तपुरको राधेराधेमा चारैतिरबाट सवारीसाधन आउँछन् । राधेराधेमा भाटभटेनी छ । त्यहाँ किनमेल गर्न मानिसहरु जान्छन् । उनीहरुलाई भाटभटेनी पुग्न सडक पार गर्न धेरै गाह्रो हुने गरेको छ । त्यसमाथि त्यहाँ भएको जेब्राक्रसको रंगसमेत मेटिसक्यो । यसले भाटभटेनीमा किनमेल गर्न जाँदा ज्यानै गुमाउनुपर्ने जोखिम छ । 

मानिसहरु पनि त्यस्तै भए । आफ्नो घरअगाडि रहेका पसलमा सामान किन्दैनन् । इज्जत जान्छ भनेर । अनि जोखिम मोलेर भाटभटेनीमा सामान किन्न जान्छन् । फेरि भाटभटेनीले उनीहरुलाई नराम्ररी ठग्ने गरेको छ । एक सयको सामानलाई पाँच सय रुपैयाँमा बेचिरहेको छ । यसरी जनता जोखिम मोलेर आफैं भाटभटेनीमा ठगिन गइरहेका छन् । 

भाटभटेनीले जनता त ठग्यो तर आफ्नो ग्राहकको सुरक्षाका केही पनि गर्दैन । यदि सडक विभाग वा सरकारले जेब्राक्रसमा रंग लगाउँदैन भने भाटभटेनी आफैंले आफ्नो अगाडिका जेब्राक्रसमा रंग लगाउनुपर्ने हो । यसले उसले जनता ठगेपनि राम्रो काम त गयौं निसमेत भन्न पाइन्थ्यो । तर, भाटभटेनीलाई आफ्ना ग्राहकको सुरक्षाबारे केही चासो नै छैन । 

जनता ठग्न पाए पुगिहाल्यो । यता, भक्तपुरको सूर्यविनायक नगरपालिकाअगाडि महालेखा परीक्षक र सडक डिभाजन सञ्चालन छ । नगरपालिका, महालेखा र सडक डिभाजनमा दिनहुँ हजारौ सेवाग्राही आउँछन् । स्थानीयहरु पनि उत्तिकै यो बाटो हिँड्ड’शल गर्छन् । विडम्बना, सडक डिभाजन जान पार गर्नुपर्ने बाटोमै जेब्राक्रस छैन । 

अनि आफ्नै कार्यालयअगाडि जेब्राक्रससमेत बनाउन नसक्ने सडक डिभाजनले अन्य ठाउँमा आकाशे पुल र जेब्राक्रस बनाउँछ भनेर सोच्नु आफैंमा लज्जास्पद छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु अल्छी भए । कामभन्दा पनि गफ गर्न पाए पुग्यो । त्यसैले, अहिले जनतालाई आफ्नै स्थानीय तह प्रमुखको समेत नाम थाहा हुँदैन । 

किनकि उनीहरु काम नै गर्दैनन् । काम गरे त चर्चामा आइन्छ । देश–विदेशमा पछिल्लो समय काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) र नगर प्रहरी प्रमुख राजु पाण्डेको चर्चा छ । जनता उनीहरुको गुनगान गाउँछन् । किनकि उनीहरुको काम जनताले देखिरहेका छन्, महसुस गरिरहेका छन् । 

त्यसैले, अब बालेन र पाण्डेले आकाशे पुललाई पनि व्यवस्थित बनाउनुपर्छ । आकाशे पुललाई व्यापार व्यवसाय, विज्ञापन वा मनोरञ्जन गर्ने औजार होइन, जनता सुरक्षित रुपमा बाटो काट्न सक्ने बनाइनुपर्छ । अहिले त बिहान घरबाट निस्किएमा बेलुका फर्किइन्छ कि फर्किँदैन ? भन्ने डर छ । किनकि हिँड्ने बाटो र पुललाई व्यापार व्यवसाय गर्ने थलो बनाइएको छ ।