इटहरीः युद्धमा पठाउनेले आफ्ना सिपाहीलाई हतियार नदिई फिल्डमा खटायो भने त्यसको परिणाम कस्तो आउला ? कि त ती सिपाहीहरुले आत्मसम्पर्ण गर्न बाध्य हुन्छन् कि त दुश्मनको गोली खान बाध्य हुन्छ्न् । इटहरी उपमहानगरपालिकाले गत पौषबाट २० वटै वडामा खटाइएका सामुदायिक नर्सहरु यतिबेला हतियार बिहिन सिपाही झै भएका छन् ।
गत असारमा परिक्षा दिई पौषबाट वडाहरुमा खटिएका सामुदायिक नर्सहरुलाई वडाबासीहरुको सेवाका लागि उनीहरुलाई चाहिने सामान्य स्वास्थ्य जाँच उपकरणहरु हालसम्म इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको छैन् । नर्सहरुलाई चाहिने(हतियार) मेडिकलका उपकरणहरु वडा कार्यालय र स्वय्म नर्सहरुले बारम्बार माग गरेतापनि हालसम्म उपलब्ध नगराईको हो ।
तर, इटहरी उपमहानगरपालिका भने, २० वटै वडाका जनताका घर-घरमा सामुदायिक नर्सहरु खटिएर नगरवासीको स्वास्थ्य सेवामा लागिरहेको दावी सहित प्रायोजित समाचार उत्पादन गरि प्रचारमै रमाईरहेको पाइएको छ ।
इटहरी उपमहानगरले गरेका असल कार्यभन्दै समाचार निर्माण गरि मेयरको सचिवालय र संचारहेर्नेहरुबाट जसरी प्रचार गरियो, त्यसको वास्तविकता भने ठिक विपरित पाइएको छ ।
सामुदायिक नर्सहरुमा अनिवार्य उपलब्ध गराईनु पर्ने स्वास्थ्य जाँच उपकरणहरु जस्तैः वीपी(ब्लड प्रेशर) नाप्ने मेसिन, ज्वरो नाप्ने थर्मोमिटर, सुगर टेष्ट गर्ने किट सहितको डिजिटल मेसिन , बच्चाहरुको तौल नाप्ने डिजिटल काँटा हालसम्म इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको छैन् ।
न्यूनतम सामाग्री(हतियार) बेगर उनीहरु २० वटा वडामा खटिएका छन् । केही वडाहरुमा सामुदायिक नर्सहरुले वडाका टोलहरुमा के कस्ता विरामीहरु छन् ? , र्भवती महिलाहरु कति छन् ?, उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ ?,सुत्केरी महिलाहरु कति छन् उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ ? नवजात शिशुको स्वास्थ्य अवस्था कस्तो छ ? जेष्ठ नागरिकहरुमा के कस्तो रोग लागेको छ ? नियमित औषधी सेवन गर्नेहरुको संख्या के कति छ ? लगायतका तथ्यांक संकलन मात्र गरिरहेका छन् । यस्तो काम पहिलाका स्वास्थ्य स्वयम् सेविकाहरुले गर्दै आएकै थिए ।
इटहरीका अधिकांश वडामा खटिएका सामुदायिक नर्सहरु वडामा जाने हाजिर हुने र कहिले काँही तथ्याङ संकलनका नाममा फिल्डमा खटिने काम बाहेक स्वास्थ्य सामाग्री अभावमा वडाबासीको घर घरमा गएर स्वास्थ्य परिक्षण गर्ने र आवश्यक सेवा प्रदान गर्न भने सकिरहेका छैनन् ।
इटहरी १८ का वडाध्यक्ष रामकुमार चौधरीले वडामा पौषबाट हाजिर भएका सामुदायिक नर्सले आफुलाई चाहिने मेडिकल सामाग्रीहरु इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखासँग माग गरेको तर हालसम्म नपाएको बताए । अहिले नर्स भने वडाको टोलटोलमा गएर तथ्यांक संकलनको कार्य गरिरहेको चौधरीले जानकारी दिए ।
इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले केही सामाग्रीहरु आफ्नो वडामा खटिएकी नर्स पाएको दावी गरे । तर के के सामाग्री पाएकी हुन्, खुलाउन सकेनन् । उनले सामुदायिक नर्स पौषबाटै तथ्यांक संकलनमा खटिएको बताए ।
इटहरी ११ का वडाध्यक्ष केशब प्रसाद कोईरालाले बाहिर प्रचार गरे जस्तो नर्सहरुले इटहरीको स्वास्थ्य क्षेत्रमा कायपलट नै गरे झै काम गर्न नसकेको बताए । उनले इटहरी उपमहानगरले वडाहरुमा सामान्य मेडिकलका सामाग्री समेत नदिई नर्सहरुलाई हाजिर गराएको छ । वडामा खटाएको ७ महिना वितिसक्दा पनि अति आवाश्यक सामान्य स्वास्थ्य उपकरणहरु उपलब्ध नगराएको कोईलाले बताए । उनले सामुदायिक नर्स राख्ने कार्य जनताका लागि खासै प्रभावकारी आफुले नदेखेको जिकिर गरे । उनले आफ्ना नजिककालाई जागिर खुवाउने काम बाहेक अरु उपलब्धी आफुले नदेखेको बताए ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश सुवेदीले वडामा आएका सामुदायिक नर्सहरु हाजिर गरि धेरै जसो समय वडामै बस्ने गरेको बताए । वडाका टोल-टोलमा गएर सेवा दिएको आफुले नपाएको उनले बताए । आफ्नो वडामा खटिएकी नर्सले केही दिन डाटा संकलनका लागि काम गरेको र डाटा संकलनका लागि आधारभूत सामाग्री नै नभएको भन्दै फिल्डमा जान छाडेको सुवेदीले बताए । वडाध्क्ष सुवेदी भन्छन्—‘नर्सलाई आवश्यक पर्ने स्वास्थ्य जाँच गर्ने सामान्य तर अनिवार्य चाहिने मेडिकल उपकरण उपमहानगरको स्वास्थ्य शाखाले पठाए पो वडाका टोलटोलमा खटाउनु त्यसै खाली हात त पठाउन मिलेन होला ?’
उनले भने —‘म एकदम सत्य कुरा बोल्ने मान्छे हो, मलाई कुनै कुरा लुकाउनु छैन् । नर्सहरुका लागि चाहिने मेडिकल उपकरण उपलब्ध गराउनका लागि इटहरी उपमहानगरको स्वास्थ्य शाखामा पटक पटक अनुरोध गर्दा पनि नसुने झै नै गरिरहेका छन् । के कति कारणले त्यसो गरिएको हो , त्यो मैले बुझ्न सकेको छैन् । तर, भ्रम सृजना हुने खालका समाचारजन्य सामाग्रीहरु निर्माण गरि अनावश्यक प्रचारबाजी गरिएको छ ।’
कांग्रेस निकट नेपाली विद्यार्थी संघ सुनसरीका सभापति प्रमोद भट्टराईले इटहरी ५ का घर-घरमा त के बाटोमा पनि इटहरी उपमहानगरले खटाएको नर्सलाई आफुले हालसम्म नदेखेको बताए । उनले भने —‘म अलिक घर बाहिर हिँडिरहने विद्यार्थीको नेता परे । आफु घरमा नभएको बेला आए भने फरक कुरा हो । आएपनि घरका सदस्यले त जानकारी दिनु पर्ने हो, यत्रो समय वितिसक्दा पनि घरमा स्वास्थ्य परिक्षण गर्न र बुझ्न कोही नआएकै आफुलाई जानकारी छ ।’
इटहरी ३ का एमाले निकट युवा नेता मनोजकुमार रायले आफुले कहिले पनि घर-घरमा सामुदायिक नर्स खटेर वडाबासीको स्वास्थ्य परिक्षण गरेको नदेखेको बताए । तर, नगरवासीमै भ्रम छर्ने गरी मेयरको मिडिया र सचिवालय हेर्नेहरुले नूनको सोझो गर्न अनावश्यक समाचार सामाग्री उत्पादन गरेको रायको दावी छ । काम नै नभएको बिषयलाई बबालै काम भयो, नगरवासीको स्वास्थ्यमा व्यापक सुधार आयो भन्दै मेयरलाई अनावश्यक हिरो बनाउने काम नगरवासीलाई अपाच्य हुने रायले बताए । उनले सहि सत्य र भएका कार्यहरुको मात्र प्रचार गर्न आग्रह गरेका छन् ।
इटहरी नगरअस्पताल स्रोतका अनुसार समाचारमा राखिएको तस्विर केही भिडियो सामाग्रीहरुमा देखाइएका सामाग्रीहरु केबल समाचार बनाउनका लागि मात्रै केही समयलाई नगरअस्पतालबाटै फिर्ता गर्ने शर्तमा लगिएको थियो ।
इटहरी वडा नम्बर ६ मा कार्यरत सामुदायिक नर्स अनुपमा राईले आफ्नै सामाग्री प्रयोग गरेर भएपनि वडावासीहरुको स्वास्थ्य परिक्षण कार्य गरिरहेको दावी गरिन् । उनले पौषमा हाजिर भई माघबाट वडावासीहरुको स्वास्थ्य अवस्थाको तथ्यांक संकलनको कार्य गरिरहेको बताइन् ।
इटहरी १० मा खटेकी नर्स मिनु परियारले स्वास्थ्य जाँचका लागि मेडिकल उपकरण चाहिएमा नजिकैको उपस्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य चौकीहरुबाट मागेर काम चलाईरहेको बताइन् । उनले अहिले आफु भने वडाका केही टोलका घर-घरमा गएर स्वास्थ्य सचेतना, शिक्षा फैलाउने कार्यसँगै तथ्यांक संकलनको काम गरिरहेको बताइन् । उनले सम्झौता अनुसारकै काम आफुले इमान्दारिताका साथ गरिरहेको बताइन् ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीले २० वटा वडामै खटिएका सामुदायिक नर्सहरुलाई आवश्यक पर्ने स्वास्थ्य चाँज गर्ने सामान्य उपकरणहरु हालसम्म उपलब्ध गराउन नसकेको स्वीकार गरे । उनले बजेट अभावका कारण ती सामाग्रीहरु उपलब्ध गराउन नसकेको बताए । तर,नर्सहरुलाई आवश्यक पर्दा नगरका बिभिन्न वडामा संचालित स्वास्थ्य चौंकीहरुबाट फिर्ता गर्ने शर्तमा उपकरणहरु लगेर काम चलाईरहेको चौधरीले बताए । संघीय सरकार र इटहरी सरकार बीच २० वडामा सामुदायिक नर्स राख्ने पहिला भएको सम्झौता अनुसार काम नभएकाले पनि समस्या आएको उनले बताए । संघीय सरकारले पहिलाको शर्त अनुसार काम नगरेकाले २० वडाका सामुदायिक नर्सहरुलाई तलब खुवाउन नै समस्या भईरहेको उनले बताए । स्वास्थ्य जाँचका लागि नर्सहरुलाई आवश्यक पर्ने सामान्य मेडिकल उपकरणहरु आउँदो आर्थिक बर्षमा उपलब्ध गराउनका लागि बजेटको व्यवस्था भईसकेको चौधरीले दावी गरे ।