सुनसरी: इटहरी उप–महानगर १३ स्थित खनारमा प्रथम खनार महोत्सव सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट जेठ २९ देखि असार १६ गतेसम्म महोत्सव सञ्चालन अनुमति लिएको राजाजी विच्छुधामी ग्रामथान संस्थाले महोत्सव सञ्चालन गरिरहेको छ । तर यो महोत्सव भने सुरुवाती दिन देखिनै ‘विवादित’ छ । 

हाल महोत्सव जहाँ सञ्चालन भइरहेको छ, त्यहाँको विगतका घटनाक्रम लगायतका कारण सुरक्षाको दृष्टिकोणले संवेदनशील ठाउँ मानिन्छ । दुहबी नगरपालिका वडा नं. ९ छाताबेलीसँग नजिक रहेको महोत्सवमा गत असार ७ गते दुई समूहबिच झडप भयो । प्रहरी रेकर्ड अनुसार झडपमा दुवै पक्ष गरी ५ जना घाइते भएको भनिएको छ । तर त्यस दिनको झडपमा ११ जना घाइते भएको दाबी गरिएको छ । जसमा दुई जना सख्त घाइते छन् । 

दुई समूहबिच झडप हुनुको कारण महोत्सव भित्र भएको विवाद थियो । जसमा महोत्सवका स्वयंसेवक स्वयम आफै कुटपिटमा उत्रिएका थिए । इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिम्सिना अनुसार महोत्सव भित्र भएको विवादले उग्र रूप लिएपछि बाहिर दुई समूह बिच झडप भएको थियो । ‘महोत्सवको सांस्कृतिक कार्यक्रममा दुई समूहका युवाहरूबिच विवाद भएको थियो’ प्रहरी निरीक्षक तिम्सिनाले भने ‘पछि महोत्सव सकेर घर फर्किने क्रममा झडप भएको हो ।’ झडपको क्रममा केही युवाहरुले पेस्तोल समेत ‘शो अप’ गरेको दाबी गरिएको छ । 

घटनापछि महोत्सव आयोजकका तर्फबाट घाइतेको उपचारको लागि दुहबीको सामुदायिक अस्पतालमा केही रकम उपलब्ध समेत गराइएको थियो । हाल सख्त घाइते दुई जनाको थप उपचारमा भने आर्थिक समस्या देखिएको छ । 

असार ७ गते भएको झडप पश्चात् ‘बदला लिने’ नाममा महोत्सव स्थलमा जति बेला पनि झडप हुने सम्भावना छ । यो विषयमा महोत्सव आयोजक, इटहरी वडा नं. १३ र सुरक्षा निकायलाई सम्भावित घटना हुन सक्ने जोखिम प्रति गम्भीर हुन स्थानीयले सुझाव दिएका छन् । यही जोखिमका बिच बिहीबार प्रहरी चौकी खनारमा सर्वपक्षीय छलफलले १६ गतेसम्मै महोत्सव सञ्चालन गर्ने सहमति गरेको छ । जसमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारी आफै छलफलमा सहभागी थिए । 

महोत्सव आयोजना स्थलको विगतको घटनाक्रमको पृष्ठभूमि नहेरी महोत्सवको अनुमति दिनु वडा कार्यालय र प्रहरी प्रशासनको ‘गम्भीर त्रृटी’ भएको भनेर अहिले खनार महोत्सवको विपक्षमा शीर्ष राजनीतिक दलका नेता तथा सामाजिक अगुवाहरू उभिएका छन् । अगुवाहरूले महोत्सवको अनुमति ल्याउने क्रममै आयोजकले प्रहरी प्रशासनलाई ‘आर्थिक सहयोग’ गर्ने भनेर रकम कबोलेको समेत दाबी गरेका छन् ।

खनारका युवा व्यवसायी सरोज गिरीका अनुसार हालसम्म खनारमा सञ्चालित मेला महोत्सवको इतिहास हेर्दा कुनै पनि विवादरहित नभएको बताउँछन् । ‘मेला महोत्सव भनेको पारिवारिक माहौल, व्यवसायीक र समाजको हितको लागि हुनुपर्छ तर अहिले सञ्चालन भइरहेका मेला महोत्सव उद्देश्य विहीन छन्’ गिरीले प्रदेश पोर्टलसँग भने ‘उश्रृखल नृत्य, जुवाजन्य खेल र झैझगडाले मेला महोत्सव प्रवेश गर्ने उमेर समूह नै अलग हुँदै गएको छ ।’ खनारमा हाल सञ्चालित महोत्सव विवादित र लामो भएको गिरीको भनाई छ । 

यस्तै महोत्सव आयोजकमा बसेको राजाजी विच्छुधामी ग्रामथान संस्था प्रति समेत प्रश्न उठाइएको छ । संस्थाको नामबाट महोत्सव गरिए पनि संस्थाका कतिपय पदाधिकारीलाई के उद्देश्यका साथ महोत्सव गर्न दिइएको भनेर जानकारी समेत छैन । 

प्रहरी ‘नटेर्ने’ आयोजक
प्रथम खनार महोत्सव सुरु भएको केही दिनमै आयोजकले जुवाजन्य गतिविधि सञ्चालन गरेपछि महोत्सव विवादमा आएको थियो । जिल्ला प्रशासन कार्यालयबाट पाएको अनुमति विपरीत जुवाजन्य खेल खेलाएपछि इटहरीका डिएसपी स्वयम महोत्सव स्थलमा पुगेर जुवाका सामाग्रीहरू नियन्त्रणमा लिएका थिए । त्यस क्रममा डिएसपीले जुवाजन्य खेलहरू फेरी सञ्चालन गरे आयोजकलाई सिधै ‘थुन्ने’ चेतावनी दिएका थिए । 

डिएसपीको चेतावनीपछि आयोजक प्रहरीसँग रुष्ट बनेको थियो । त्यसपछि ९ बजेभित्र महोत्सव सक्नु पर्ने डिएसपीको आग्रहलाई आयोजकले उलङ्घन गरिरहेका थिए । ७ गते महोत्सवमा झडप भएपछि असार ८ गते साँझ इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोली आयोजकलाई ९ बजे भित्रै महोत्सव बन्द गर्न भनेर सम्झाउन महोत्सव पुगेको थियो । तर महोत्सवका आयोजक र स्वयमसेवकले प्रहरीको गाडी गेटमै छेकेर प्रहरी विरुद्ध खनिएका थिए । त्यस क्रममा ‘प्रहरी सुरक्षा चाहिँदैन’ भनेर नाराबाजी समेत भएको थियो । पछि प्रहरीमाथि नै आक्रमण हुने स्थिति भएपछि इटहरीबाट गएको प्रहरी टोलीले थप मद्दत मागेको थियो । थप मद्दतको प्रहरी टोली पुगेपछि आयोजकले सुनसरीका प्रहरी प्रमुखसँग फोनमा कुरा गरेर १० बजेसम्म महोत्सव चल्नु पाउनु पर्ने भनेर ‘अस्वाभाविक दबाब’ दिएका थिए । पछि माथिको आदेश भन्दै इटहरीबाट गएको दुवै टोली ‘निरीह’ भएर फर्किएको थियो । 

आयोजक र प्रहरीबिचको यो विवाद पश्चात् केही दिनसम्म प्रहरी विहीन महोत्सव सञ्चालन भएको थियो । पछि इटहरीका डिएसपीले ‘टाउको नदुखाउने’ भन्दै महोत्सव बन्द गराउने तर्फ पहल गरेका थिए । पछि उनी रोकिए । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले महोत्सवमा फरक गतिविधि देखिएपछि बिचमा महोत्सव रोक्न  खोजिएको पुष्टि गरे । बिहीबार भने खनार चौकीमा सर्वपक्षीय मान्छे राखेर १६ गतेसम्म महोत्सव ‘मर्यादित’ भएर १० बजेसम्म मात्र राती सञ्चालन गर्ने सहमति भएको भण्डारीले जानकारी दिए ।  बाँकी विषयहरूमा आफूले ‘नोटिस’ नगरेको डिएसपी भण्डारीको भनाई छ । 

यता महोत्सव आयोजकका संयोजक परशुराम चौधरीले भने प्रहरीको ‘असहयोग’ को कारण केही दिन नगर प्रहरी ल्याएर महोत्सव चलाएको स्वीकार गरे । ‘सबैभन्दा ठुलो सरकार भनेकै स्थानीय निकाय हो, प्रहरीले सुरक्षा दिन्न भनेपछि हामीले नगर प्रहरी बोलायौ’ चौधरीले भने । महोत्सवको विषयलाई लिएर युवा समूहबिच झडप भएको तर त्यो दुहबी क्षेत्रमा भएको चौधरीको भनाई छ । यसमा महोत्सव जिम्मेवार नहुने उनको तर्क छ ।