ताप्लेजुङः ताप्लेजुङका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु चार अर्बभन्दा बढी रकमको बजेट प्रस्तुत गरेका छन् । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकासहितका यी स्थानीय तहले कूल रु चार अर्ब २२ करोड ३० लाख ५२ हजार ५४५ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

सबैभन्दा बढी बजेट फुङ्लिङ नगरपालिकाले प्रस्तुत गरेको छ । फुङ्लिङ नगरपालिकाले रु ७६ करोड २७ लाख ३३ हजार ३८९ को बजेट पेस गरेको छ । मंगलबार आयोजित १८औँ नगर अधिवेशनमा नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाले यो बजेट सार्वजनिक गरेकी हुन्। 

त्यसैगरी फक्ताङ्लुङ गाउँपालिकाले रु ५५ करोड ३८ लाख एक बराबरको बजेट १८ औँ गाउँ अधिवेशनमार्फत उपाध्यक्ष रवीन साम्रा लिम्बूले प्रस्तुत गरे । यस्तै मिक्वाखोला गाउँपालिकाले रु ४० करोड सात लाख ७७ हजार ८१२, पाथीभरा याङ्वरक गाउँपालिकाले रु ५२ करोड ५१ लाख ७४ हजार ५५२ को बजेट क्रमशः उपाध्यक्ष डण्डु लामा शेर्पा र रनमाया गुरुङले सार्वजनिक गरे । 

गएको सोमबार आठराई त्रिवेणी गाउँपालिकाले २१ औँ गाउँ अधिवेशन सम्पन्न गरी रु ५२ करोड ३६ लाख ५४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले उक्त अधिवेशनमा बजेट सार्वजनिक गरेकी थिइन् । 

त्यसैगरी मैवाखोला गाउँपालिकाले सोमबार रु ४४ करोड ७१ लाख १६ हजार बराबरको बजेट उपाध्यक्ष कमलकुमार लिम्बूको नेतृत्वमा १७औँ गाउँ अधिवेशनमा सार्वजनिक गरेका थिए । 

मेरिङ्देन गाउँपालिकाले पनि सोमबार १८औँ गाउँसभा तथा अधिवेशनमार्फत रु ५० करोड ५७ लाख ५० हजार ९२८ बराबरको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्बाङले आगामी आवका लागि नीति तथा कार्यक्रमसहित उक्त बजेट पेश गरे। यसअघि असार ५ गते गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले रु ४४ करोड ५२ लाख ८७ हजार बराबरको बजेट सार्वजनिक गरेका थिए ।  

यस्तै सिरिजङ्घा गाउँपालिकाले पनि आइतबार १७ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष डा चित्रकुमार माबो लिम्बूले रु कूल ५८ करोड ७५ लाख आठ हजार ८६३ को बजेट सार्वजनिक गरेका थिए ।  मंगलबारसम्ममा नौवटै स्थानीय तहले बजेटसँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिसकेका छन् । रासस