सुशिला उप्रेती
इटहरीः इटहरी उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले आर्थिक बर्ष २०८०/२०८१ मा भ्रमण भत्ता र बैंठक भत्तामा नियम विपरित ७८ लाख ८८ हजार १ सय २७ रुपियाँ खर्च गरेको पाइएको छ ।
महालेखा परिक्षकको कार्यालय काठमाडौंले इटहरी उपमहानगरपालिकालाई बुझाएको लेखा परिक्षण प्रतिवेदन अनुसार स्पष्ट प्रयोजन र भ्रमणको उद्धेश्य सुनिश्चित हुने विश्वसनीय आधार नदेखाई इटहरी उपमहानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले भ्रमणका नाममा ५४ लाख ५६ हजार ८ सय ५७ रुपियाँ खर्च गरेको पाईएको छ ।
पालिकासँग असम्बन्धित नगर÷गाउँपालिका गएको जनाई भ्रमण भत्ता वापत रकम बुझेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्पष्ट प्रयोजन बेगर कार्यालयको काम उल्लेख गरि ७ दिनको भ्रमण आदेश स्वीकृत गराई भुक्तानी लिइएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाले इटहरी उपमहानगरले असम्बन्धित व्यक्तिहरुको पनि भ्रमण आदेश स्वीकृत गरि रकम भुक्तानी गरेको जनाएको छ ।
त्यसरी स्पष्ट प्रयोजन र उद्धेश्य नखुलाई ७ दिनको भ्रमण आदेश स्वीकृत गराई भ्रमण भत्ताका नाममा जनताले तिरेको कर भ्रमण भत्ताका नाममा दुरुपयोग हुने देखिएको महालेखाले आशंका व्यक्त गरेको छ ।
कानूनी व्यवस्थाको पालना भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले अनिर्वाय गरि भ्रमण खर्चमा हुन सक्ने अनियमितता र दुरुपयोग नियन्त्रण गर्न भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारी ध्यान दिन जरुरी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरि कार्यालय समय भित्र नै नियमित कामका लागि पनि पटक पटक बैंठक बसेको देखाएर कर्मचारीहरुले नियम विपरित बैंठक भत्ता वापत २४ लाख ३१ हजार २ सय ७० रुपियाँ भुक्तानी लिएको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । जसलाई महालेखाले अनियमित भएको रकममा राखेको छ । बैंठकका बिषय बस्तु हेर्दा नियमित कार्यसंचालन तथा सार्वजनिक सेवाप्रवाहका बिषयवस्तु देखिएकाले नियमित कामको बैंठक भत्ता लिन नमिल्ने भन्दै महालेखाले सो खर्चलाई अनियमित खर्च भनेको हो ।
कर्मचारी बैठकबाट समय खुल्ने विद्युतीय अभिलेख नदेखिएकोले बैंठकको समय एकिन गर्न नसकिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंठकमा सिमित सदस्यभन्दा बढी संख्यामा आगन्तुकको उपस्थिती रहेको, आगन्तुकहरु बिषय विज्ञ नभई कार्यालयमै कार्यरत कर्मचारीहरु भएको पाइएको महालेखाले जनाएको छ ।