उदयपुरः साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान अर्थात् प्याराग्लाइडिङ तर्फ पछिल्लो समयका युवापुस्ताको आकर्षण बढ्न थालेको छ भने यस तर्फ आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत उत्तिकै आकर्षण हुन थालेको छ।

झन्डै दुई दशक अघि पोखराको सराङकोटबाट सुरु भएको प्याराग्लाइडिङ सेवा हाल देशका विभिन्न स्थानमा फैलिसकेको छ ।

उदयपुरको बेलका नगरपालिका ८ बोप्ताङ्गमा प्याराग्लाइडिङको सफल उडान परिक्षण सँगै अहिले उक्त क्षेत्रमा ट्रेनिङ सेन्टर सञ्चालनमा रहेको छ ।

व्यावसायिक प्याराग्लाइडिङको प्रचुर सम्भावना बोकेको बेलका नगरपालिका–८ बोप्ताङ्गमा अहिले ५ जना विद्यार्थीहरूले प्रशिक्षण लिई रहेका छन् । २०८० साल देखी उदयपुरको बोप्ताङ्गमा सुरु गरिएको प्याराग्लाइडिङ प्रशिक्षण मार्फत अहिले सम्म ३ सय जनाले प्रशिक्षण लिई सकेको प्रशिक्षक सुरेन गुरुङले जानकारी दिए ।

85ff8a66-6f20-4c43-bd7c-c8861e5cd2dc-1024x576

फ्लायिंग अन्डर प्याराग्लाइडिङ स्कुलले अहिले बोप्ताङ्गमा प्रशिक्षण दिँदै आएको छ । जहाँ नेपाली प्रशिक्षार्थीका लागि १ लाख ८० हजार र विदेशी प्रशिक्षार्थीका लागि १५ सय डलर शुल्क लिँदै आइएको छ । प्रशिक्षार्थीले उक्त रकम बापत प्याराग्लाइडिङ प्रशिक्षण सहित ६ महिनाको बिमा, प्रशिक्षण अवधिभरका लागि आवश्यक सम्पूर्ण सामाग्री, खान बस्न सहितको सम्पूर्ण व्यवस्था प्राप्त गर्ने विद्यालयले जनाएको छ ।

उदयपुरको बेलका ८ बोप्ताङ्गबाट नेपाल कै ठुलो नदी सप्तकोशीको मनोरम दृश्यावलोकन सँगै सुनसरीको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्र, चतरा धाम लगायतको मनोरम दृश्य सहित प्याराग्लाइडिङको उडान गर्न पाउने हुँदा उक्त क्षेत्रलाई राज्यले व्यावसायिक प्याराग्लाइडिङ उडानका लागि आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने देखिन्छ । उदयपुरमा बेलका नगरपालिका ८ बोप्ताङ्ग सँगै चौदण्डीगढी नगरपालिका १ को ऐतिहासिक चौदण्डी दरवार र रौतामाई गाउँपालिका ८ को पर्यटकीय क्षेत्र रौतापोखरी माथिको डाँडा बाट समेत व्यावसायिक प्याराग्लाइडिङको  सम्भावना रहेको छ । यी क्षेत्रमा समेत यस अघि उडान परिक्षण सकिएको छ ।

1d6609a8-8e60-4c29-814b-d5994267f4c9-1024x576

बोप्ताङ्ग सहित उदयपुरका तीनै पालिकामा रहेको प्याराग्लाइडिङ क्षेत्रमा राज्यले स्लो प्याराग्लाइडिङलाई लिगल रुपमा खुल्ला गरेर वा व्यावसायिक कम्पनीहरूले कम्पनी दर्ता गरेर सो क्षेत्रमा व्यावसायिक प्याराग्लाइडिङ गर्न सकिने प्रशिक्षक सुरेन गुरुङ बताउछन् ।   

राज्यले प्याराग्लाइडिङको व्यावसायिक सम्भावना बोकेको बोप्ताङ्ग सँगै चौदण्डीगढी र रौतापोखरी क्षेत्रबाट नजिक रहे विभिन्न धार्मिक स्थलहरूलाई समेत जोडेर पर्यटकीय स्थलका रुपमा बिकास गर्ने सके आन्तरिक  तथा बाह्य पर्यटन प्रवर्धनमा महत्वपूर्ण सफलता मिल्ने अपेक्षा लिइएको छ ।-रेडियो नेपालबाट