फुङ्लिङः ताप्लेजुङको कारागारमा क्षमताभन्दा पाँच गुणा बढि कैदीबन्दी रहेका छन् । शनिबार फुङ्लिङमा नेपाल मानव अधिकार वर्ष पुस्तिका २०२६ प्रकाशन गर्न पूर्व भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा सो जानकारी भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका कारागार ताप्लेजुङमा अहिले १४१ जन कैदी रहेको उल्लेख गरेको छ । जसमा ११ जना ज्येष्ठ नागरिक रहेका छन् । कारागारको क्षमता भने २५ जनाको मात्र रहेको छ । यसैगरी, महिला कैदीबन्दीका लागि कारागार नभएका कारण अन्य जिल्लामा हस्तान्तरण गरिँदै आएको छ ।

जिल्लामा आपराधिका क्रियाकलाप बढेकाले कैदी बन्दीको सङ्ख्या पनि बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। उनका अनुसार आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि पनि प्रहरीहरू सक्रिय रुपमा लागेका छन् । 

पछिल्लो छ महिनामा जिल्लामा घरेलु हिंसाका घटना ११, बहुविवाह एक, कर्तव्य ज्यान एक, ज्यान मार्ने उद्योग पाँच, जबरजस्ती करणी सात र जबरजस्ती करणी उद्योगका एक घटना भएका छन् । योसँगै अभद्र व्यावहारका सात, आपराधिक उपद्रो र हुलदङ्गा गरेको तीन गरी जम्मा ३५ वटा घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।