खोटाङः जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी आसपासका वासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावनाका कारण जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी नदी आसपासका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो । असार ७ गते भारी वर्षाको पूर्वानुमानपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै उक्त चेतावनी जारी गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी सागर शाहले शुक्रबार सूचना जारी गर्दै सुनकोशी आसपासमा बाढीको सम्भावनालाई मध्यनजर गरी सतर्कता अपनाउन आग्रह गरेका छन् । उक्त सूचना चीन प्रहरी कार्यालयबाट प्राप्त जानकारी र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनाका आधारमा जारी गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “चीनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना भएकाले खोटाङ जिल्लासँग जोडिएको सुनकोशी किनार आसपासमा बाढी आउने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।” यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।
 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        