इटहरीः असार १ गते धरान १३ स्थित शिवधारामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानको टोलीले ट्रकमा लोड गरिएको २१ सय किलो गाँजा नियन्त्रणमा लियो । जसमा चालक भने फरार छन् । ट्रकमा बरामद भएको गाँजा अदुवा र अन्य तरकारीको बोराले माथिबाट ढाकेर तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । यो घटनाको ठिक दुई दिनपछि असार ३ गते बिहान इटहरी प्रहरीले उतिकै परिमाणमा गाँजा बरामद गर्यो । तर इटहरीमा भने गाँजा लोड भएको ट्रक, ट्रकका चालक र सहयोगी भने पक्राउ पर्न सफल भए ।
असार पहिलो हप्तामै धरान र इटहरीबाट ४२ सय केजी गाँजा बरामद हुन सामान्य विषय थिएन । गाँजाको परिमाण, तस्करीको तरिका र रुट एउटै भएपछि यसको नाइके समेत एउटै भएको हुन सक्ने आशङ्का गरिएको छ । त्यसमा पनि यतिका धेरै परिमाणमा ‘हाइवे’ मार्फत नै ट्रक प्रयोग गरेर गाँजा तस्करी हुनु आफैमा ‘शङ्कास्पद’ विषय अनि गम्भीर सुरक्षा ‘चुक’ समेत भनिएको छ ।
प्रहरी अनुसन्धानको क्रममा यी दुई ट्रकमा गाँजा धनकुटाको भेडेटार आसपास लोड भएको देखिन्छ । अर्थात् गाँजा लोड भएर ट्रक सुनसरी छिर्दा समेत नाकाहरूमा प्रहरीले कडा चेकजाँच नगर्नु र इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख बिदामा बस्नु ‘शङ्कास्पद’ मानिएको छ ।
यही आधारलाई मानेर अहिले जिल्ला प्रहरी कार्यालय धनकुटाले इलाका प्रहरी कार्यालय भेडेटारमा कार्यरत केही प्रहरीमाथि आन्तरिक छानबिन सुरु गरेको छ । असार १ देखि ३ गते सम्म डिउटीमा खटिएका भेडेटारका प्रहरीमाथि जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओम प्रसाद खनालको नेतृत्वमा छानबिन सुरु गरिएको हो । डिएसपी खनालका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार र मातहतका केही चौकीका प्रहरीमाथि आन्तरिक सोधपुछ गर्ने काम भइरहेको प्रदेश पोर्टललाई जानकारी दिए । तर उनले यसलाई नियमित प्रक्रिया भएको बताएका छन् ।
असार १ र ३ गते कोशी प्रदेशमा हालसम्मकै ठुलो परिमाणमा गाँजा सुनसरीबाट बरामद हुँदा भने गाँजा आउने मुख्य रुट भेडेटारका प्रहरी इन्चार्ज सई रमेश प्रधान भने बिदामा थिए । सशस्त्र र जनपद प्रहरीले बरामद गरेको गाँजा भेडेटार हुँदै धरानबाट इटहरी छिर्न खोजेको देखिन्छ । तर यतिका धेरै परिमाणमा गाँजा सुनसरी छिर्दा भेडेटारका सई बिदामा बस्नु ‘संयोग’ वा ‘शङ्कास्पद’ दुवै तरिकाले हेरिएको छ । अहिले छानबिनको क्रममा समेत सई प्रधान आफू बिदामा रहेको भनेर उम्किन खोजिरहेको स्रोतको भनाई छ ।
यता कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले गाँजा तस्करीको सवालमा १४ जिल्लाका जो कोही प्रहरीको भूमिका ‘शङ्कास्पद’ हुनै नसक्ने दाबी गरे । यदि शङ्कास्पद भएको अवस्थामा छानबिन हुनु र कारबाही गर्नु पनि नौलो कुरा नभएको कार्की बताउँछन् । ‘म आए यता गाँजा बरामदमा उल्लेख्य काम भएका छ । सूचना आइरहेका छन्, एक्सन त्यही अनुरूप भइरहेको छ । र यो निरन्तर चलिरहने छ’ डिआइजी कार्कीले भने ‘यसमा प्रहरीले गल्ती गर्ने छुट कतै छैन ।’ तर चेकजाँचको क्रममा ट्रक भित्र तरकारीको बोरा माथिबाट हालेर मुनी गाँजा ल्याउँदा प्रहरीले कतै ‘डिटेक्ट’ गर्न नसकेको अवस्था भने रहेको उनको भनाई छ ।
एक जना छाडिए
यता इलाका प्रहरी कार्यालय इटहरीले भने २१ सय केजी गाँजा सहित पक्राउ परेका दुई जनाको अनुसन्धान गरिरहेको छ । सुरुमा तीनजना पक्राउ परे पनि पनि वराहक्षेत्र ९ बस्ने ३४ वर्षीय सुमन राईलाई भने छाडिएको छ । उनको गाँजा प्रकरणमा कुनै पनि संलग्नता नभएको आधारमा राईलाई छाडिएको डिएसपी लक्ष्मी भण्डारीले दाबी गरे ।
ट्रक नियन्त्रणमा लिने क्रममा बाइकमा रहेका राईलाई ‘गाँजा बोकेको ट्रक’ को सुराकीको आशङ्कामा नियन्त्रणमा लिइएको थियो । तर अनुसन्धानको क्रममा तरहरामा पाहुना आएको बेला फोनमा बोल्दै प्रहरी नजिक आएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । राईको ‘कल रेडर्क’ जाँच गरेपछि उनको गाँजा प्रकरणमा संलग्न नदेखिएपछि छाडिएको दाबी गरिएको छ ।
तर राईको नामसहित जिल्ला प्रहरी कार्यालय सुनसरी ३ जना पक्राउ गरेको भनेर प्रेस विज्ञप्ति निकालेको थियो । जो अहिले नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजमा अझै राखिएको छ । यस्तै विज्ञप्तिमा प्रहरी निरीक्षक दिनेश अधिकारीलाई प्रहरी नायब उपरीक्षक सम्बोधन गरी विज्ञप्तिमा सहायक प्रवक्ता उल्लेख गरिएको छ ।
