सुनसरी : रामधुनी नगरपालिकामा रहेका होमस्टे संञ्चालकहरुलाई होमस्टे प्रवर्द्धन सम्बन्धी तालिम प्रदान गरिएको छ । संचारलय एडभरटाइजिङ प्रा.ली इटहरीले २०८२ असार १ र २ गते होमस्टे (घरबास) सम्बन्धी तालिमका साथै अन्तर होमस्टे भ्रमण गरेको हो । तालिमको रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरीले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गदै मेयर चौधरीले भर्खरै सञ्चालनमा आएको रामधुनी सामुदायिक होमस्टेलाई थप प्रवर्द्धन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले तालिमको सफलताको कामना गदै होमस्टे सञ्चालकहरूलाई तालिम मार्फत दिइएको ज्ञान र भ्रमणबाट सिकेको कुराहरू व्यवहारमा लागु गरे आफ्नो नगरको होमस्टेको प्रवर्द्धन हुने बताए । बिशेषत थारु संस्कृतिलाई होमस्टेमा जोडेर यसको संस्कृति र खानपानलाई बढी प्राथमिकता दिन समेत सहभागीहरूलाई अधिकृत चौधरीले आग्रह गरेका थिए ।
पहिलो दिन रामधुनी सामुदायिक होमस्टेका १० जना संञ्चालकहरुलाई होमस्टे प्रवर्द्धन सम्बन्धी तालिम दिइएको थियो । पर्यटन सम्बन्धी लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरिरहेका हिमाल दाहालबाट पहिलो दिन तालिम प्रदान गरिएको थियो । तालिममा आफैले आफ्नो गाँउठाउँको होमस्टेको वातावरण, खानपान र थारु संस्कृतिलाई कसरी प्रचार गर्ने भनेर सिकाइएको थियो । साथै होमस्टेको सरसफाइलाई कसरी व्यवस्थित गर्न सकिन्छ र पाहुनाहरूलाई दोहोराएर कसरी तान्न सकिन्छ भनेर सिकाइएको थियो ।
दोस्रो दिन भने सहभागीहरूलाई धनकुटाको साँगुरी गढी गाउँपालिका ५ स्थित डाडाँबजारमा सञ्चालित होमस्टेमा भ्रमण गराइएको थियो । भ्रमणमा डाडाँबजारमा सञ्चालित होमस्टे सञ्चालकहरूसँग सहभागीहरूले होमस्टेका अवसर र चुनौतीका विषयमा अन्तरक्रिया गरिएको थियो । थारु भेसभुसामा सजिएका रामधुनी होमस्टेका महिला संञ्चालकहरुले डाडाँबजार कसरी होमस्टे सचालन भइरहेको भनेर होमस्टेहरूको अवलोकन भ्रमण समेत गरेका थिए । सहभागीहरूलाई डाडाँबजार स्थित सुनाखरी होमस्टेका सञ्चालक दीपक बस्नेतले त्यहाँको ७ वटा होमस्टेको बारेमा जानकारी र अवलोकन गराएका थिए । साथै त्यहाँको पर्यटकीय स्थलको समेत जानकारी बस्नेतले गराएका थिए ।

भ्रमणले अन्तर होमस्टे सञ्चालकहरूको सम्बन्ध प्रगाढ हुनुको साथै होमस्टे सम्बन्धी नयाँ सिकाइको जानकारी पाएको सहभागी रामधुनी सामुदायिक होमस्टेकी सचिव आशा चौधरीले बताइन । तालिमसँगै भ्रमण कार्यक्रमले रामधुनी सामुदायिक होमस्टेका सञ्चालक महिलाहरू उत्साहित बनेको धारणा राखेका थिए । असार २ गते भने तालिमको समापन गरिएको थियो । सहभागीहरूलाई प्रमाणपत्र प्रदान गदै तालिम समापन गरिएको थियो । सहभागीहरूलाई प्रशिक्षक हिमाल दाहाल तथा संचारलय एडभरटाइजिङ प्रा.लीका संयोजक रबिना खडकाले प्रमाणपत्र प्रदान गरेका थिए ।