सुनसरी : इटहरी प्रहरीलाई सोमबार मध्यरातमा ठुलो परिमाणमा गाँजा बोकेको ट्रक इटहरी तर्फ आउँदै छ भन्ने सूचना आयो । सूचनापछि धरान–इटहरीको सीमा नाकामा इलाका प्रहरी कार्यालय इटहरीले सडकमा ‘ब्यारिकेट’ लगाएर सवारी साधनको चेकजाँच गर्न थालियो । सूचना दिनेले पिकअप ट्रकको हुलिया मात्र दिएपछि त्यही अनुरूप प्रहरीले चेकजाँच गर्न थाल्यो ।

चेकजाँचमा इटहरीका डिएसपी लक्ष्मी भण्डारी स्वयम आफै खटिएका थिए ।

नभन्दै मंगलबार करिब बिहान १ बजे हुलिया अनुसारको सेतो पिकअप ट्रक चेकजाँचको लागि लगाइएको ‘ब्यारिकेट’ अगाडी रोकियो । ट्रकको चेकजाँच गर्न थालियो । कालो त्रिपालले छोपेको ट्रकको खानतलासी गर्दा सुरुमा ट्रक भित्र आलु र बन्दाकोबी भरिएको बोरा मात्र भेटिए । तर सूचना अनुसारको गाडी र ट्रकबाट गाँजाको गन्ध आएपछि सुरुमा आलु र बन्दाले भरिएको बोरा निकाल्न थालियो ।

तर ट्रकबाट केही बोरा आलु प्रहरीले निकाल्न सुरु गरेपछि एक्कासि ट्रकको ‘स्टेरिङ’ मा रहेका चालक तल सडकमा झरेर प्रहरीको घेरालाई तोड्दै भाग्न कोसिस गरे । झन्डै एक किलोमिटर परसम्म भागेका चालकलाई प्रहरीले लखेट्दै पक्राउ गर्न सफल भयो । अर्का एक सहयोगीलाई ट्रक भित्रैबाट नियन्त्रणमा लिइयो । 

यसरी इटहरी प्रहरीलाई आएको सूचना अनुसार नै ट्रक भित्र ‘लोड’ गरिएको बन्दा र आलु भरिएको बोराको तलको भागबाट लुकाइएको ७० बोरामा रहेको २१ सय केजी गाँजा मङ्गलवार बिहान बरामद हुन सफल भएको थियो । जसमा कालो प्लेट नम्बर भएको ट्रक ना ५ ख ६११६ का चालक धनकुटा सहिदभूमी ६ बस्ने ३३ वर्षीय सुनिल राई र सहयोगी धनकुटा सहिदभूमी ५ का ३२ वर्षीय राजेन्द्र राई पक्राउ परेका छन् ।

मङ्गलवार बिहान इटहरी प्रहरीले यति धेरै परिमाणमा गाजा, ट्रक र व्यक्ति पक्राउ गरेपनि सूचना अनुसारको बाँकी गाँजा एकै साथ फेला नपरेपछि प्रहरी भने निराश थियो । किन भने एकै साथ ४ वटा ट्रक मार्फत गाँजा इटहरी तर्फ आउदैछ भन्ने सूचना थियो । तर एउटा मात्र ट्रक भेटिएपछि बाँकी ट्रक जंगल भित्र लुकेको आशङ्कामा प्रहरीले त्यति बेलै धरान–इटहरीको चारकोशे जङ्गलमा व्यापक ‘सर्च अप्रेसन’ गरिएको थियो । करिब डेढ घण्टासम्म प्रहरीले टर्च लाइटको माध्यमबाट पैदल र सवारी साधनबाट चारकोशे जङ्गल भित्र सर्च गरिएको थियो ।

‘पहिलो ट्रक नियन्त्रणमा लिइसकेपछि बाँकी गाँजा लोड भएका ट्रकहरू जङ्गल तर्फ लुकेको आशङ्कामा हामीले जङ्गल सर्च गरौँ’ इटहरीका डिएसपी लक्ष्मी भण्डारीले प्रदेश प्रोर्टलसँग भने ‘तर डेढ घण्टासम्म जङ्गल सर्च गर्दा समेत नभेटिएपछि हामी बिहान ३ बजे फर्किएका थियौ ।’ बरामद भएको गाँजा धनकुटा क्षेत्रबाट लोड गरी भारत तर्फ तस्करी गर्न लगिएको हुन सक्ने जनाइएको छ ।

पछिल्लो केही बर्सयता गाँजा तस्करी ओसारपसारको घटनाक्रम अनुसार इटहरी क्षेत्र भित्रबाट यति ठुलो परिमाणमा गाँजा बरामद भएको पहिलो घटना हो ।  इटहरी प्रहरीले यसलाई ‘सफलता’ को रूपमा लिए पनि बरामद गाँजाको मुख्य मालिकसम्म पुग्न भने ‘चुनौती’ हुने सक्ने बताइएको छ ।