उदयपुरः तीन देखी बिधुत नआएको भन्दै उदयपुर सदरमुकाम गाईघाटमा रहेको विद्युत् प्राधिकरणको शाखा कार्यालय स्थानीयले घेराउ गरेका छन्।
पछिल्लो समय पटक पटक विद्युत् कटौती हुने, कहिले दिन भर त कहिले रात भर विद्युत् नआउने समस्या भएपछि स्थानीय त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयले आक्रोशित हुँदै विद्युत् प्राधिकरण घेराउ गरेका हुन्।
करिब एक सातादेखि गएको विद्युत् अझै अझै नियमित नभएको उनीहरूले गुनासो गरेका छन्। रातबिरातको समयमा विषालु सर्पहरूले डस्ने भय रहेको, पटक पटक बिधुत जाने आउने हुँदा विभिन्न विद्युतीय सामाग्रीहरू जल्ने पड्कने गरेको भन्दै उनीहरूले नियमित विद्युत् आपूर्ति गराउन दबाब दिने उद्देश्य सहित घेराउ गरेको बताएका छन् ।
उनीहरूले होटल व्यवसाय गर्नेहरुको फ्रिजमा राखेका सामग्री बिग्रिएर नष्ट भएको समेत गुनासो गरेका छन् । उनीहरूले विद्युत् पटक पटक कटौती हुनुको कारण र नियमित विद्युत् आपूर्ति गर्नु पर्ने आफूहरूको माग रहेको समेत बताएका छन्।
उनीहरूले आफूहरूको समस्या पटक पटक सम्बन्धित निकायसँग राखिसकेको तर सुनुवाई नभए पछि बाध्य भएर कार्यालय नै घेराउ गर्नु परेको बताए ।
स्थानीय यदु ढकालले त्रियुगा नगरपालिका ३ भुल्केमा नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा हातामा सामुदायिक सर्पदंश उपचार केन्द्र समेत रहेको बताउँदै विद्युत् आपूर्ति सहज नहुँदा सर्पदंशका बिरामीको उपचारमा समेत कठिनाइ भएको जानकारी दिए ।
सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केका सचिव समेत रहेका ढकालका अनुसार केही दिन अघि मात्र उदयपुरगढीका एक सर्पदंशका बिरामीको विद्युत् आपूर्ति नहुँदा भुल्केबाट रिफर गरिएको तर उनको उपचार भेन्टिलेटरमा राखेर गर्दा झन्डै डेढ लाख खर्च भएको गुनासो समेत आएको हुँदा स्थानीय अझ धेरै आक्रोशित बनेका हुन ।
अहिले विद्युत् कार्यालय घेराउ गर्न गएका र विद्युतप्राधिकरण शाखा कार्यालय गाईघाटको कार्यालय बीच तत्काल सर्पदंश उपचार केन्द्र र आसपासका क्षेत्रमा विद्युत् नियमित गर्ने साथै जोगीदह, मोथियायी, हडिया लगायतको क्षेत्रमा छिट्टै विद्युत् आपूर्ति सहज गर्ने सहमति भएको समेत बताइएको छ ।
उदयपुरमा गर्मी बढे सँगै विषालु सर्पहरू गोमन, बैरी करेत, हिमाली करेत, घोड करेत जस्ता सर्पहरूले मानिसलाई डस्ने गरेको छ।
भुल्केमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा जिल्लाका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, कटारी नगरपालिका, उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिका र खोटाङ जिल्ला सम्मका सर्पदंशका बिरामीहरूको उपचार हुँदै आएको छ।
विद्युत् प्राधिकरण गाईघाट प्रमुख माधवप्रसाद यादवले भने बिधुत पटक पटक कटौती हुनुमा आफूहरूको कुनै हात नहुने बताए । उनले हावाहुरी, चट्याङको समस्याले विद्युत् आपूर्ति हुने ३३ केभी लाइनमै समस्या आउने गरेको भन्दै सो समस्याले गर्दा विद्युत् कटौती हुने गरेको जानकारी दिए । यादवले हावाहुरी पानी सँगै हुने क्षति र उक्त क्षति बाट विद्युतमा हुने फल्ट पत्ता लगाउन समस्या हुँदा लामो समय बिधुत जाने, विद्युत् फल्ट पत्ता लगाएर बिधुत सञ्चालन गर्दा अन्य ठाउँमा समेत फल्ट हुने र चालु भएको बिधुत तत्काल अवरुद्ध हुने गर्दा स्थानीयलाई विद्युत् पटक पटक गएको आभास हुने गरेको बताए। प्रमुख यादवले अहिले देशमा कतै लोडसेडिङ नरहेको दाबी गरे ।