जेलमा परेका ५४४ मध्ये रक्सी बनाएर बेच्ने मात्रै ३४५ जना
इटहरीः धन कमाउने र सुख पाउने सपना देखेर साउदी अरब पुगेका ५ सय ४४ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीका अनुसार रक्सी बनाएर बेचेको आरोपमा ३ सय ४५ जना, लागूऔषध ओसार पसार तथा कारोबारमा संलग्न ८४ जना, चोरीमा संलग्न ४३ जना, वेश्यावृत्तिको आरोपमा १२ जना, तोडफोडमा संलग्न हुने १६ जना, घुसखोरीका घटनामा संलग्न १५ जना, व्यक्ति हत्याको घटनामा संलग्न ४ जना, कानुन उल्लंघन गर्ने ७ जना, धोखाधडीका ११ जना र उत्पीडन केसमा संलग्न ५ जना जेल परेका हुन् ।
जसमध्ये ३ सय ४१ जनालाई आधिकारिक रूपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३ जनाको फैसला आउन बाँकी रहेको श्रम काउन्सिलर उप्रेतीले बताए । अहिले साउदीको जेलमा ५ सय ४४ जना नेपाली जेलमा छन् । उनीहरूमध्ये झन्डै ८० प्रतिशत जाँडरक्सी खाएको तथा ओसारपसार र उत्पादनको कसुरमा जेल परेका पाइएको छ । साउदीमा जाँडरक्सी उत्पादन, बिक्री तथा उपभोगमा प्रतिबन्ध छ ।
केही वर्षदेखि कूटनीतिक कर्मचारीका लागि जाँडरक्सी बिक्री खुला गरेको भए पनि त्यो सर्वसाधारणको पहुँचमा छैन । कतिपय नेपालीले कम समयमा धेरै कमाउने लोभमा घरेलु रक्सी उत्पादन गरेर बेच्ने गरेका कारण जेल पर्ने गरेका छन् ।
रक्सी सेवन र बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौ ंवर्षसम्म जेल सजाय हुनसक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई पटक–पटक अनुरोध गर्दै आएको छ ।
पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसारको तलब पाएका छैनन् । पाए पनि समयमै पाउँदैनन् । त्यसैले सुरु कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था छ ।
अहिले डिपोर्टेसन सेन्टर (घर फिर्ती केन्द्र) मा अकामा म्याद सकिएर भएर बसेका ३ सय २७ जना नेपाली छन् । यस्तै, चालू आवको साउनदेखि वैशाखसम्मको अवधिमा १ हजार ६ सय ५८ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाएका छन् । एक्जिट भिसा पाउनेमा अकामाको म्याद सकिएका १ हजार २ सय ८६ र हुरुब लागेका ३ सय ७२ जना नेपालीलाई स्वदेश फर्काइएको काउन्सिलर उप्रेतीले बताए । साउदीमा विभिन्न पेसामा गरी करिब ४ लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ । यो खब। आजको राजधानी दैनिकबाट लिइएको हो ।