काठमाडौँः   नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन् । 

सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । उनका अनुसार रोल्पामा मात्रै आठजना घाइते भएका छन् । यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा छ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट दुईजना घाइते भएका हुन् । 

मकवानपुरको राक्सिराङमा दुई, प्यूठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरपालिकामा दुईजना चट्याङबाट घाइते भएका केसीले जानकारी दिए । उनका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एकएकजना घाइते भएका छन् ।

यस्तै,लेक लागेर रसुवामा एक जना र आगलागी हुँदा रुपन्देहीमा दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा ३० वटा विपद्का घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए । रासस