भोजपुरः ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो ।
बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेणा हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिकाबीचको सरोकारवालाको बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको वेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।
त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता जनाएको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए।
अन्तरपालिकाबीच भएको बैठकमार्फत पदमार्गको विकासका लागि साझा धाराणा लिएर अघि बढ्ने प्रतिवद्धता गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पदमार्गले छोएका स्थानीय तहबीच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।
“ग्रेटर पदमार्गका विषयमा हतुवागढीमा समन्वयत्मक बैठक सम्पन्न गरेका छौँ,” अध्यक्ष राईले भने, “यो बैठकबाट पदमार्गको थप विकास लागि कसरी अघि बढ्ने भन्ने विषयमा बृहत्त रूपमा छलफलसमेत गरिएको छ । अहिले सबै पालिकामा भइरहेको पदमार्ग निमार्णको कामको विषयमा छलफल गरेका छौँ ।”
अन्तरपालिका पालिकाबीच भएको सरोकारवाला पक्षको बैठक उपलब्धिमूलक बनेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । बैठकबाट पदमार्गको कामलाई भावी दिनमा कसरी गुणात्मकढङ्गले अघि बढाउने भन्ने विषयमा योजना तयार गरिएको उनको भनाइ छ ।
पदमार्ग विस्तार भइरहेका स्थानीय तहसँगै पर्यटनसँग सम्वद्ध पक्षबीचको कार्यक्रम भएकाले यसले दिर्घकालिन महत्वलाई समेटेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पदमार्गलाई पर्यटनसँग जोडेर संस्कृतिको संरक्षणसँगै आर्थिक पक्षको विकासमा टेवा पु¥याउन गर्न सकिने थप कामको विषयमासमेत छलफल गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा जानकारी दिएको छ । साथै दिगो र नविनतम् पर्यटन विकासको अवधारणाको बारेमासमेत अवगत गराइएको छ ।