सुनसरी : इटहरी प्रहरीको मुद्दा शाखामा आर्थिक चलखेल गरेको आरोपमा एक प्रहरी हबल्दारलाई रवाना गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीको मुद्दा शाखामा झन्डै चार वर्ष भन्दा बढी समय बसेर मुद्धाहरुमा आर्थिक चलखेल गरेको आरोपमा नुमहरि वाग्लेलाई इटहरीबाट रवाना गरिएको हो । वाग्ले प्रहरीको सञ्चार दरबन्दी भएर पनि मुद्दा शाखामा लामो समयदेखि कार्यरत थिए ।
उनको दरबन्दी इलाका प्रहरी कार्यालय बेलबारी मोरङको सञ्चारमा भए पनि वाग्ले पावर र पहुँचको बलमा इटहरीको मुद्दा शाखामा कार्यरत थिए । हाल उनलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पत्र आदेशले उनलाई दरबन्दी भएको इप्रका बेलबारी रवाना गरिएको हो ।
उनले इटहरी रहँदा सेवाग्राहीसँग मुद्दा मिलाउने नाममा रकम माग्ने गरेको कयौँ आरोप छ । वाग्ले विरुद्ध धेरै गुनासो आएपछि उनलाई आफनै दरबन्दी भएको ठाउँ रवाना पठाइएको प्रहरी स्रोतको भनाई छ ।
पछिल्लो समय वाग्लेले पैसा मागेको आधार प्रमाण नै फेला परेको स्रोतको दाबी छ । इटहरी प्रहरीको मुद्दा शाखामा कार्यरत रहँदा वाग्ले विरुद्ध कयौँ गुनासो सेवाग्राहीले कार्यालय प्रमुखलाई सुनाउँदा समेत उनी जोगिँदै आएका थिए । यस पटक भने प्रदेश प्रहरी कार्यालयमा उनी विरुद्ध मौखिक गुनासो पुगेपछि उनलाई कारबाही स्वरूप दरबन्दी भएकै ठाउँ पठाइएको हो । तर वाग्ले विरुद्ध छानबिन नै नगरी आफ्नो दरबन्दी मात्र पठाएको छ ।
इलाका प्रहरी कार्यालय कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले प्रहरी हबल्दार वाग्लेलाई आफ्नो दरबन्दी पठाएको मात्र बताए । कारण भने उनले खुलाउन चाहेनन् ।
तर इटहरी इप्रका मात्र नभई प्राय जसो प्रहरी कार्यालयमा काज बस्ने चलन पुरानो हो । वाग्ले मात्र नभई इटहरी इलाकामा धेरै जसो काजमा बस्ने प्रहरी छन् ।