तेह्रथुम फेदापका २८ वर्षीय गणेश भारती अटो चलाक हुन । उनी झापाको लक्ष्मीपुर र बिर्तामोडको बजार क्षेत्रमा अटो चलाउँछन् । तर उनको अटो केही महिना अघि बिग्रियो । मर्मतको लागि पैसा नजुटेपछि अटो ग्यारेजमै थन्कियो । अटो थन्किएपछि गणेश बेरोजगार बने । लागु औषध समेत सेवन गर्ने बानी परेका गणेश आर्थिक रूपले ग्रसित थिए । परिवार र आफन्तमा पैसाको गुहार लगाएर तर केही उपाय नलागेपछि उनी भाडाको कोठामा एक्लै दिनभर जस्तै फेसबुकमा टोलाइरहन्थे । एक दिन फेसबुकमा चर्चित भारतीय चलचित्र फर्जीको भिडियो क्लिपमा उनको ध्यान गयो ।
स्मरण रहोस्, साहिद कपुर अभिनीत यो चलचित्रमा नक्कली नोट छापेर कसरी पैसा कमाइन्छ भन्ने विषय बस्तु समेटिएको छ ।
गणेशले पुरै चलचित्र हेरेपछि उनको नियत चलचित्रमा झैँ नक्कली नोट छापेर सक्कली बनाइ धेरै पैसा कमाउने तर्फ केन्द्रित भयो । केही साथीहरूसँग सर सापट गरेर गणेशले कलर प्रिन्टर र प्रिन्टरको लागि आवश्यक विभिन्न रगंका मसी र कागज खरिद गरे ।
त्यसपछि चलचित्रको सिको गदै गणेशले साथमा रहेको पाँच सय, हजार, सय, पचास र बिस रुपैयाँको नोट उक्त कलर प्रिन्टरमा फोटो कपी गर्न थाले । सुरुमा फोटो कपी गर्न प्रयोग हुने एफोर साइजको कागजमा सक्कली नोट राखेर नक्कली नोट फोटो कपी गरे । यस क्रममा उनले पाँच सयका दुई र पचास रुपैयाँको पनि दुई वटा नोटको दुवै भागको फोटो कपी गरे र कैँची मार्फत मिलाएर कटिङ गरे ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको अनुसन्धानको क्रममा गणेशले पहिलो पटक जेठको पहिलो साता फोटो कपी गरेको पैसा बजारमा (चलाउने ) परीक्षण गर्ने सोच बनाए । पचास र बिस रुपैयाँको नक्कली नोटले गणेशले काँकडभिट्टाको केही किराना पसलबाट भोला खैनी खरिद गरे । नभन्दै भिडभाड रहेको पसलमा उनले दिएको नोट पसलेले ठम्याउन सकेनन् । पहिलो परीक्षणमै गणेश सफल भएपछि हौसिएका उनले पाँच सय रुपैयाँको नोट थप परीक्षण गर्ने सोचे । नभन्दै सक्कली नोटसँग मिसाएर उनले एक पाँच सय रुपैयाँको नक्कली नोटबाट एक होटेलमा खाजा खाए ।
तर उक्त होटेल वालाले केही दिनपछि पाँच सय रुपैयाँको नक्कली नोट गल्लामा भेटिएको भनेर हाल्ला भएपछि उनी सतर्क भए ।
आफूले बनाएको नोटमा कागजको फल्ट (म्याच नभएको) अनि सेक्युरिटी थ्रेडको लाइन नभएकै कारण होटेल साहुले नक्कली नोटको पहिचान गरेको उनले निष्कर्ष निकाले । जेठको १२ गते उनले काँकडभिट्टाको एक स्टेशनरि पसलबाट पहिलेको भन्दा फरक र मुलायम कागज खरिद गरे । यो पल्ट सेक्युरिटी थ्रेडको लाईन बनाउन गणेशले हजार र पाँच सय रुपैयाँमा हुने रगंको जस्तो देखिने नङ पोलिस समेत खरिद गरे । त्यसपछि नयाँ पेपरको प्रयोग र नङ पोलिस मार्फत सेक्युरिटी थ्रेडको लाईन आकार बनाएपछि गणेशले एकै चोटि ५ लाख ३० हजार ६ सय ८० रुपैयाँ नक्कली नोट छापे । यसमा १ हजार दरका ४७० थान, ५ सय दरका २८२ थान, १ सय दरका १९० थान, ५० दरका १२ थान र २० दरका ४ थान नक्कली नोट छापेर तयार गरे ।
अब भने गणेशले हजार रुपैयाँको नोट परीक्षण गर्नु थियो । बिर्तामोड र दमकका बजारमा उनले हजारको नोट परीक्षण गरे (चलाए) तर अधिकांश ठाउँमा उनले बनाएको नक्कली नोट सजिलै पहिचान भयो । यस क्रममा बिर्तामोडका केही स्थानमा व्यवसायीले गणेशलाई नियन्त्रणमा समेत लिएका थिए । तर सक्कली नोट दिएर गणेश व्यवसायीको पन्जाबाट उम्किन सफल भएको प्रहरी अनुसन्धानले देखाएको छ । केही ठाउँमा त गणेशमाथि कुटपिट समेत भएको अवस्था छ ।
यति हुँदा समेत नसुध्रिएका गणेशले लामो हात मार्ने खोचे र काँकडभिट्टामा भारतीय नोट एक्सचेन्ज (सटही) गर्न बसेका वृद्ध बृद्धाहरुलाई टार्गेट बनाए । र १८ जेठमा काँकडभिट्टा बसपार्क आसपास एक वृद्ध महिलासँग नेपाली १ लाख रुपैयाँ एक्सचेन्ज गर्ने भनेर पासो थापे । ती महिलासँग भारु त्यति धेरै पैसा नभएको भनेर अर्का एक व्यक्तिलाई गणेशसँग चिनजान गराए । तर ती व्यक्तिले गणेशसँग भएको नेपाली एक लाख रुर्पैयाको नोट नक्कली भएको चाल पाए । र प्रहरीलाई खबर गरे ।
यसरी गणेश ठुलो हात मार्ने दाउमा काँकडभिट्टाको नेपाल बैङ्क अगाडिबाट रगेहात आफैले बनाएको नोटसहित प्रहरीको फन्दामा परे ।
बरामद भएको नक्कली नोटको अनुसन्धान गरेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार नेपाल बैङ्क अगाडिबाट एक लाख रुपैयाँ नोट सहित पक्राउ गरेपछि उनको कोठामा छापा मार्दा बाँकी नक्कली नोट, कलर प्रिन्टर, मसी, कैँची र कागजका बन्डलहरू बरामद भएको थियो । अनुसन्धानको क्रममा गणेशले अटो ग्यारेजबाट निकाल्न र केही रकम ऋण तिर्न नक्कली नोट छापेको स्वीकार गरेका छन् । पक्राउ परेका गणेश मार्फत हालसम्म ३ हजार रुपैयाँ नक्कली नोट बजारमा प्रवाह भएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । यसरी बजारमा फैलिएको नोट पाँच सय, हजार, सय, पचास र बिस रुपैयाँको रहेको जानकारी दिए ।
प्रहरीका अनुसार बजारमा फैलिएको यस्ता नोट पहिचान गरेर मात्र लिन र दिन आग्रह गरिएको छ । र यदि यस्तो नक्कली नोट भेटिए नजिकको प्रहरी कार्यालयमा बुझाउन समेत भनिएको छ । र यसरी गलत तरिकाले पैसा छिटो कमाउने सोचेका गणेश अनन्त प्रहरी हिरासतमा पुगेका छन् । २८ वर्ष मात्र टेकेका गणेश भारती सामाजिक सञ्जालमा देखिएको चलचित्र फर्जीबाट प्रेरित भई नक्कली नोट छाप्ने अपराधमा हात हाले। आर्थिक सङ्कट, लागूपदार्थको लत र बेरोजगारीले उनलाई गलत बाटोमा डोर्यायो। अनन्त नक्कली नोट बनाउनु जस्तो गम्भीर अपराधबाट उनी अन्ततः बच्न सकेनन्।
छिटो पैसा कमाउने लोभ, गलत प्रेरणा र सामाजिक सञ्जालको दुरुपयोगले गणेश अपराधको दलदलमा यसरी फसे। अन्ततः उनी कानुनी फन्दामा परे, जसले देखाउँछ कि गलत बाटोबाट कहिल्यै सही गन्तव्य पुगिँदैन।