प्रेम बास्तोला
इटहरीः जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा नगरपालिका १० स्थित ऐतिहासिक, धार्मिक पर्यटकीय क्षत्रे मार्गपोखरीसँगै रहेको दुर्गा पाञ्चायन मन्दिर परिसरमा शिबगंगा महाआरतीको आयोजना गरिएको छ ।
दुर्गा पाञ्चायन मन्दिरको १७ औं वार्षिक उत्सवको अवसरमा दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा जेष्ठ २१ गते बुधबार साँझ बिषेश शिबगंगा महाआरती सम्पन्न गरिएको हो ।
धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सो मन्दिरका निर्माता र मन्दिरसँगै रहेको जैविक विविधताले भरिएको ऐतिहासिक मार्गपोखरीका संरक्षक बद्रीप्रसाद सुवेदी(बीपी शास्त्री)को प्रमुख उपस्थितीमा इटहरीको बुढी गंगा जमुनामुक्ति घाटमा विगत चार बर्षअघिबाट नियमित रुपमा शिबगंगा महाआरती गरिरहेका गुरु( विद्वान पण्डित)हरुको समूहले सो स्थानमा विधिपूर्वक शिबगंगा महाआरती गरेका हुन् ।
विद्धवान गुरु चुडामणि पोख्रेलको नेतृत्वमा सो मन्दिर परिसर पुगेको शिबगंगा महाआरतीको टोलीमा दुई विद्धवान गुरु रामचन्द्र ढकाल र दिनेश खतिवडाले महाआरती गरेका हुन् । यो समूहले विगत ४ बर्षदेखि प्रत्येक सोमबार इटहरीको बुढीगंगा जमुना मुक्तिघाटमा प्रत्येक सोमबार महाआरती गर्दै आईरहेको छ । .शिबगंगा महाआरती समिति इटहरीले नै सप्तकोशी किनारमा पनि महाआरतीको आयोजना गर्दै आईरहेको छ ।
प्रशिद्ध तिर्थस्तल छिन्ताङदेवी मन्दिरकै समिपमा रहेको धार्मिक पर्यटनको हिसाबले निकै ठूलो महत्व बोकेको दुर्गा पाञ्चायन मन्दिरमा भएको शिबगंगा महाआरतीका सहभागी हुने भारतको सिलगुढीदेखि लिएर, झापा, मोरङ, सुनसरी, धनकुटा जिल्लाका भक्तजनहरुको सहभागीता रहेको थियो ।
भारतमा प्रख्यात ज्योतिषका रुपमा परिचित बीपी शास्त्री सोही स्थानमा जन्मेको हुनाले आफु जन्मेको ऐतिहासिक धार्मिक महत्व बोकेको स्थानमा आफै खर्च जुटाएर मन्दिरको स्थापना गरिएको हो । मन्दिरको ठिक पश्चिमतर्फ धेरै पुरानो इतिहास बोकेको मार्गपोखरी समेत रहेको छ । माओवादी द्धन्द्ध र सडक विस्तारका नाममा सो पोखरी अतिक्रमणको चपेटामा परेर पानी सुक्ने काम भयो । पोखरीको अस्तित्व जोगाउनका लागि ज्योतिष शास्त्रीले नै आफ्नो व्यक्तिगत लगानीमा पोखरी जोगाउनका लागि वरिपरि वाल लगाउनुका साथै घेराबेरा गरेका थिए । शास्त्रीकै संरक्षणमा मार्गपोखरीको अस्तित्व जोगिएको छ ।
धनकुटाबाट राजनिति गर्ने नेतादेखि लिएर कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री, संघीय सरकारका मन्त्री, सांसदहरु र जिल्लाको प्रशासन क्षेत्रको नेतृत्वगर्न आउनेहरु जति सबै नै सो स्थान पुगिसकेका छन् ।
अब सो पोखरीको सरसफाई गराई सदाबहार नै पानी व्यवस्था मिलाई धार्मिक पर्यटकहरुका लागि थप आकर्षक केन्द्रका्े रुपमा विकास गर्न आफु लागि परेको मन्दिरका संस्थापक निर्माता शिक्षासेवी तथा सामाजसेवी शास्त्रीले बताए ।
ऐतिहासिक मार्गपोखरी र दुर्गा पाञ्चायन मन्दिरको प्रचार प्रसारमा सहयोग होस् भन्ने उद्धेश्यले १७ औ वार्षिक उत्सवको अवसर पारेर अघिल्लो दिन साँझ शिबगंगा महाआरतीको आयोजना गरिएको मन्दिर निर्माता परिवारका सदस्य जगन सुवेदीले जानकारी दिए ।
शिबगंगा महाआरतीको भोली पल्ट बिहिबार मन्दिर परिसरमा लघु रुद्री, चण्डी पाठ, नियमित पुजाआज गरि १७ औं वार्षिक उत्सव मनाइएको थियो । उत्सवमा मन्दिर निर्माता परिवार सदस्यहरु, स्थानीय बासिन्दाहरु, मन्दिरसंगै रहेको जनकल्याण माध्यामिक विद्यालयका विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु,कर्मचारी र सो वडाका वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो । पुजा कार्य सकेपछि मन्दिर निर्माता परिवारका सदस्यहरुले विद्यार्थी लगायत सबैलाई प्रसाद वितरण गरिएको पुजनकर्ता बाबुराम सुवेदीले जानकारी दिए ।
कसरी पुग्ने मार्गापोखरी
धरानबाट ५२ किलोमीटर सवारी यात्रा पछि आउने धनकुटा बजार हुँदै धनकुटाबाट १३ किलो मिटरको कालोपत्रे सडक यात्रापछि हिले पुगिन्छ । त्यहाँबाट कच्ची सडक हुँदै दक्षिणतर्पm ७ किलो मिटर ओरालो कच्ची सडकको यात्रा पार गरे पछि मार्गापोखरीसँगै रहेको दुर्गा पाञ्चायन मन्दिर पुगिन्छ । जुनबाटो हुँदै पूर्वको ऐतिहासिक छिन्ताङदेवीको मन्दिर जान सकिन्छ ।
