इटहरीः मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलस्थित एक घरभित्र अवैध भरुवा बन्दुक फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय केराबारीका अनुसार विशेष सूचनाका आधारमा बिहीबार राति करिब १०ः३० बजे वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बाको नेतृत्वमा टोलीले धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो।
घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर लुकाइएको अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बन्दुक फेला परेपछि प्रहरीले घरधनी श्रेष्ठका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।