विराटनगरः  मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ सय बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । आम नागरिकलाई सहज र सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले जीवन विकास समाजको अग्रसरतामा निर्माण भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशन सञ्चालनमा आएको हो ।


२ अर्ब लागतमा निर्मित अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

अस्पतालका अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलका अनुसार सामाजिक व्यवसायको अवधारणा अनुसार मुनाफा वितरण नगर्ने संस्थाको रुपमा एकै पटक ठूलो लगानीमा २०० बेडसहितको अस्पताल सुरु गर्ने जीवन विकास अस्पताल नेपालकै पहिलो हो ।

स्वास्थ्य सेवामा सामाजिक न्याय र सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित अस्पताल सञ्चालनमा आएको उनले बताए ।

२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि वित्तीय सेवासँगै  शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।

जीवन विकासले २०५४ सालमा मोरङको अमाहीबरियातीमा २४ घण्टे क्लिनिक सञ्चालन गरेको थियो । त्यसपछि जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै अत्याधुनिक सुविधासम्पन्न अस्पताल  सञ्चालनमा आएको हो । ‘२४ घण्टे क्लिनिकबाट जीवन विकास पब्लिक हेल्थ सेन्टर हुँदै आज अत्याधुनिक सुविधासम्पन्न अस्पतालको रूपमा विकसित भएको छ,’ मण्डलले भने,‘जीवन विकास सामुदायिक अस्पताल एउटा उपचार केन्द्र मात्र होइन, यो सामाजिक न्याय र समानताको प्रतीक पनि हो ।’ अस्पतालले विपन्न वर्गलाई सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नेछ ।

२० बिघा क्षेत्रफल फैलिएको अस्पतालले २४ घण्टे आकस्मिक सेवा, विशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपीडी सेवा, सामान्य तथा पेनलेस डेलिभरी सेवा, सामान्य तथा दुरबिनबाट शल्यक्रिया, विशेषज्ञ बाल चिकित्सा सेवा, एक्स–रे अल्ट्रासाउन्डलगायत सबै प्रकारका सेवा प्रवाह गर्नेछ । भविष्यमा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य रहेको मण्डलले बताए ।

सात तल्ले आधुनिक भवनमा सञ्चालित अस्पतालको भुइँतलामा आकस्मिक सेवा, पहिलो तलामा ओपीडी, रेडियोलोजी र प्याथोलोजी, दोस्रो तलामा एनआईसियू, पीआईसीयु, पेडियाट्रिक र गाइनोकोलोजी वार्ड, तेस्रो जनरल वार्ड, चौथो तलामा  २५ शैय्याको आईसीयू, सीसीयु र एचडियु, पाँचौं तलाबाट ओटी र पोस्ट–अप सेवा प्रवाह  हुनेछ ।