इटहरीः धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरो गएका कारण भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार–डाँडाबजार सडक पुनः अवरुद्ध भएको छ । सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले पुनः अवरुद्ध भएको हो ।
बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न नसकेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो ३ः३० बजेपछि सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले जानकारी दिए ।
ठुलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने उनको भनाइ छ । भेडेटार–रवि–राँके सडकखण्ड निर्माणाधिन अवस्थामा छ । भेडेटार–डाँडाबजारको दूरी करिव १२ किलोमिटर रहेको छ ।
सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तीकै पहिरो खस्ने र बाटो अवरुद्ध हुने उनले बताए । अध्यक्ष राईका अनुसार पहिरो खसेर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पनि आवश्यक कार्यगरिरहेको छ ।