विराटनगरः कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ । कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१र८२ को आर्थिक विधेयक माथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो ।

निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको सभामा सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राप्रपाका सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख विष्टले आफ्ना कुरा राख्न आग्रह गरेका थिए । नेपाली कांग्रेसका गोपाल तामाङ र राप्रपाका सविना बजगाईँले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गरिन् । 

उनीहरूले रातो किताबमा उल्लेखित बजेट र योजना हेर्दा मन कुँडिएको, यसबाट निर्वाचन ताका जनतालाई गरेको कबोल पूरा नहुने धारणा राख्दै आजको सदन बहिष्कार गर्ने दलको निर्णय भएको सुनाएका थिए  । सदनमा सत्तापक्षबाहेक अरू कुनै पनि दलका प्रतिनिधि नहुँदा सभामुख विष्टले  ३ बजेसम्मका लागि सदन स्थगित गरेका थिए । 

स्थगन भएको अवधिमा सत्तापक्ष र प्रतिपक्षबिच सदन चलाउने सहमति नभएपछि बिहिबार  बिहान ११ बजे बस्ने गरी सूचना जारी गरी सदन स्थगन गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्तापक्षले प्रतिपक्षसँग चित नबुझेको विषयमा वार्तामा खुलस्त ढङ्गले कुराकानी भएको र केही विषयमा सहमति हुन बाँकी रहेकाले बुधबारको सदन सञ्चालन हुन नसकेको प्रतिक्रिया दिए। रासस