काठमाडौँः पछिल्लो केही दिनदखि तापक्रम बढिरहेकोमा सोमबार कतिपय स्थानहरुमा तापक्रम ४० डिग्री आसपास पुगेको मापन गरिएको छ । चार वटा मापन केन्द्रमा भने तापक्रम ४० डिग्रीमाथि मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको २० वटा तापक्रम मापन केन्द्रको तथ्याङ्कअनुसार आज सबैभन्दा बढी धनगढीमा ४४ डिग्री पुगेको छ । त्यसपछि नेपालगञ्जमा ४३ दशमलव छ, दीपायलमा ४० दशमलव सात  र वीरेन्द्रनगरमा ४० दशमलव नौ डिग्री अधिकृतम तापक्रम मापन गरिएको छ ।  

यस्तै दाङको घोराहीमा ३९ दशमलव छ, भैरहवामा ३९ दशमलव आठ, सिमरामा ३७ दशमलव पाँच र जनकपुरमा ३७ डिग्री तापक्रम पुगेको छ । सोमबार काठमाडौँमा ३४ दशमलव चार डिग्री तापक्रम मापन गरिएको छ । काठमाडौँमा ३४ दशमलव  चार पुगेको यो वर्ष दोस्रो पटक हो ।

केहीअघि नेपालगञ्जमा ४४ दशमलव  दुई डिग्री मापन भइ यो वर्षकै तापक्रमले रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि वर्षा हुँदा विस्तारै तापक्रम घटिरहेकोमा यही जेठ २६ गतेदेखि तापक्रममा बढोत्तरी आएको थियो । 

 तोकिएको मितिभन्दा तीन दिन अघि हिजो पूर्वी नेपालबाट मनसुन भित्रिए पनि हिजो धेरैजसो क्षेत्रमा बढी गर्मी महसुस गरिएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अझै पनि एकरदुई दिनमध्ये र पश्चिम क्षेत्रमा तापक्रम बढी नै रहने जानकारी दिए । पूर्वबाट मनसुन भित्रिए पनि तराई तथा पश्चिम क्षेत्रमा तत्काल वर्षाको प्रणाली नरहेको उनले भने । रासस