काठमाडौंः विमानस्थलबाट दुई हजार आठ सय ३१ केजी सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको समूहका थप नौजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दोस्रो चरणमा अनुसन्धान गरी यसमा संलग्न थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । 

दुई साताअघि नै उनीहरूलाई पक्राउ गरे पनि गिरोहका थप व्यक्ति खोजी गर्न सिआइबीले उनीहरूको नाम गोप्य राखेको छ । पक्राउ पर्नेमा काभ्रेका थर्कमान ९कान्छा० लामासहितका व्यक्ति छन् । लामा चिनियाँको निर्देशनमा काठमाडौंमा सुन ओसारपसार गर्ने व्यक्ति हुन् । 

पहिलो चरणको अनुसन्धानमा तीन सय ६२ केजी सुन तस्करी भएको सिआइबीको निष्कर्ष थियो । थप अनुसन्धान गर्दा दुई हजार आठ सय ३१ केजी सुन सो समूहले नेपालमा तस्करी गरेको प्रमाण र आधार भेटिएको सिआइबी स्रोत बताउँछ । 

हाल नौजनालाई थुनामा राखी सुन तस्करी प्रकरणमा अनुसन्धान भइरहेको सिआइबीका निर्देशक एआइजी श्यामलाल ज्ञवालीले बताए । उनले भने, ‘सुन तस्करीमा संलग्न नौजना थुनामा छन्, मूलतः सुन तस्करीको पैसा कसरी विदेशमा लगियो भन्नेमा केन्द्रित भएर अनुसन्धान गरिरहेका छौँ ।’ स्रोतका अनुसार नेपालमा तस्करीको सुन बिक्री गर्नेदेखि सरकारी संयन्त्रको कमजोरी पत्ता लगाएर बैंकिङ प्रणालीमार्फत नै पैसा विदेश लैजाने व्यक्तिसम्म पक्राउ परेका छन् । 

‘ब्रेक सु’मा लुकाएर विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा एक वर्षसम्म उनीहरूले सयौँपटक सुन तस्करी गरेको विवरण भेटिएको हो । गत वर्ष साउनदेखि सिआइबीले यसमा निरन्तर अनुसन्धान गरिरहेको छ । 

यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध गत वर्ष ३१ भदौमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० किलो ७१६ ग्राम सुन बरामद भएको थियो । सिआइबीले विशेषज्ञ र प्राविधिकसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २८ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । उनीहरूले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मिसिनलगायत सामानभित्र लुकाएर सुन तस्करी गरेका हुन् । 

चिनियाँहरूले सुन पगाल्न टोखामा बनाएको टहरासहित लाजिम्पाट, सोह्रखुट्टे, बाँसबारीलगायत घरमा स्टोर गरिएका सामानका प्रहरीले विश्लेषण गरेको थियो । विदेशबाट आयात गरिएका ती सबै सामान सुन निकालेर राखिएका थिए । 

आयात गरेको सामानको विवरणका साथै कुन मेसिनमा कति सुन लुकाइएको थियो भन्ने प्राविधिक रूपमा विश्लेषण गरेर सिआइबीले हिसाब निकालेको हो । यसका लागि सुन, चाँदी तथा फलामसम्बन्धी विज्ञहरूलाई समेत साथमा लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ । 

मेसिनभित्र लुकाएर ल्याइएको सुन विमानस्थलस्थित भन्सारको एक्सरेले पत्ता नलगाउने भएकाले यसरी एक वर्षसम्म सुन तस्करी गरेका थिए । तस्करी गरेको धेरैजसो सुन उनीहरूले भारत पुर्‍याउने गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ । सुन भने धेरै हङकङबाट ल्याउने गरिएको थियो । 

यही सुन तस्करी प्रकरणमा पहिलो चरणको अनुसन्धान निष्पक्ष हुन नसकेको आवाज उठेपछि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग समेत गठन गरेको थियो । आयोगले सिआइबीको तत्कालीन नेतृत्व र अनुसन्धानमा आबद्ध अधिकारीलाई कारबाही सिफारिस गर्‍यो । साथै, शंकास्पद व्यक्तिमाथि थप अनुसन्धान गर्नसमेत भनेको थियो । अनुसन्धानका क्रममा सो गिरोहले विदेशी मुद्राको समेत अपचलन गरेको खुलेको छ । तर, उच्च तहको राजनीतिक संलग्नता भने अझै स्थापित गर्न सकेको छैन । 

आयोगकै सिफारिसमा सिआइबीले पूर्वसभामुख कृष्णबहादुर महरालाई भने पक्राउ गरेकोमा उनी स्वास्थ्यका कारण हाजिरी जमानीमा छुटेका छन् । उनी विद्युतीय चुरोटमा सुन तस्करी गर्ने समूहसँग जोडिएका हुन् । 

अन्य सुन तस्करीका घटनामा पनि ब्रेक सुमा सुन तस्करी गर्ने समूहको संलग्नता देखिएको छ । गत २१ मंसिरमा विमानस्थलमा बरामद १४ किलो सुन तस्करीमा संलग्न जीवन गुरुङको चिनियाँ गिरोहसँग निकटता देखिएको छ । सो गिरोहका दायोजिन वाङसँग उनको साझेदारी थियो । १४ किलो तस्करी मुद्दामा अदालतबाट धरौटीमा छुटेका गुरुङ हाल फरार छन् । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक हुन् । 

गत १३ वैशाखको इन्द्रचोकबाट एक केजी ७६८ ग्राम सुनसहित पक्राउ परेका दार्चुलाका गणेशदत्त बडूको पनि यो गिरोहसँग संलग्नता देखिएको छ । उनी ०७४ मा बरामद भएको ८८ केजी सुन तस्करीको घटनामा पनि पक्राउ परेका व्यक्ति हुन् । त्यसपछि चिनियाँ गिरोहसँग मिलेर उनी निरन्तर तस्करीमा संलग्न रहेको स्रोत बताउँछ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।