ललितपुरःप्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाख २०८१ मा प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकामा आयोजना हुने प्रतियोगिताको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जानकारी दिएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिमा आज भएको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरु गठन गरिएको जानकारी दिइन । उनले भनिन, ‘समितिहरुले द्रुत गतिमा विभिन्न तयारीका कार्यहरु गरिरहेका छन् ।’
प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सह आयोजक रहेको छ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य तथा प्रधानमन्त्री कार्यालय निजी सचिवालयका सदस्य शान्ता कुमार दराईले युवाहरुमा स्वास्थ्यसम्बन्धी चेतना फैलाउनका लागि प्रतिष्ठानले खेलकुद लगायतका कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दहाल र छोरी ज्ञानु दहालको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखी नै खेलकुद लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको छ । सबै पालिकामा पत्राचार गरिसकिएको छ । यस प्रतियोगिताका कारण नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १÷१ लाख रुपैयाँ प्रदान गरिनेछ । साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुने छ । ललितपुर जिल्लामा हालसम्मकै सर्वाधिक राशीको पुरस्कारको यो भलिवल प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको उद्घाटनमा सहभागिताका लागि एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा , राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायतका नेतृत्वसँग पत्राचार तथा कुराकानी भइरहेको संयोजक गोलेले जानकारी दिइन ।
प्रतियोगिताका कारण दक्षिणी भेगमा रहेका स्थानहरुको व्यापक रुपमा प्रचारप्रसार हुनेछ । यस क्षेत्रका महांकाल, कोन्ज्योसोम र बाग्मती गाउँपालिकामा रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकको विश्वास रहेको छ ।