इनरुवाः इनरुवा नगरपालिका १ नम्बर वडा घर भएका आमाछोराको बैक खाता कनेक्ट आईपीएस ह्याक गरि १० लाख चोरी भएको छ । 

इनरुवा १ घर भएका शिवनन्दन मेहताको सानिमा बैक इनरुवामा रहेको बैक खाता र उनकी आमा रुसनी देवी मेहताको लुम्वीनी बैक इनरुवामा रहेको खाताबाट ह्याकरले कनेक्ट आईपीएस ह्याक गरेर चोरी गरेको हो । 

शिवन्दन मेहता र उनकी आमा रुसनी मेहताले बैक खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफनो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् । 

बैक खाताबाट रकम चोरी भएका शिवनन्दन मेहताले जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको जाहेरी दरखास्तमा आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको उल्लेख गरेका छन । 

मेहताले प्रहरीमा दिएको जाहेरीमा आफनो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफनो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उल्लेख गरेका छन । 

घटना विवरण अनुसार गत माघ ९ गते बिहान १०ः१५ बजे शिव नन्दन मेहताको मोबाइल नम्बरमा कनेक्ट आईपीएसको एउटा म्यासेज आयो । कनेक्ट आईपीएसको प्रयोग गरी अर्को कुनै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लागिएको म्यासेज आएको केही समयमा रकम काटिएको म्यासेज पनि आयो । 

सानिमा बैंक, इनरुवा शाखामा खोलेको खाता नम्बरबाट उक्त रकम ट्रान्सफर भएको थियो । जारमै रहेका मेहता आफूलाई म्यासेज आएको ५ मिनेटभित्रै बैंकको शाखा कार्यालयमा पुगे । 

सानिमा बैंकको इनरुवा शाखामै उनी बिहान १०ः२० बजे नै पुगेर उक्त कारोबार आफूले नगरेको र कुन बैंक खातामा ट्रान्सफर भएको हो, तत्काल रोक्न गरिदिनका लागि आग्रह गरे ।

सानिमा बैंकले मेहताको खाताबाट कनेक्ट आईपीएसमार्फत् ट्रान्सफर गरिएको रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर गरिएको जानकारी गरायो । मेहताले एनआईसी एसिया बैंकलाई खबर गरी उक्त रकम तत्कालै रोक्का राखिदिन आग्रह गरे । 

तर सानिमा बैंकले आफूहरूले रोक्का राख्न नमिल्ने भन्दै खाता ट्रान्सफर गरिएको एनआईसी एसिया बैंकमै जान भन्दै आफनो खाताबाट रकम काटिएको भौचर मात्रै प्रिन्ट गरेर दियो ।

त्यसपछि मेहता तुरुन्तै एनआईसी एसिया बैंकको शाखा कार्यालयमा पुगेर ट्रान्सफर गरिएको बैंक खाता रोक्का राखिदिन आग्रह गरे । तर एनआइसी एसिया बैंकले पनि मेहताको कुरा सुनेन । खाता बन्द गर्न बैंकको चिठी चाहिने र तेस्रो व्यक्तिको खाता बन्द गर्न नसकिने बतायो । 

एनआईसी एसिया बैंकले खाता बन्द गर्न नमिल्ने बताएलगत्तै मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरी उक्त रकम होल्ड गरिदिन आग्रह गरे । तर कनेक्ट आईपीएसले ‘तपाईंको रकम बिहान १०ः३० बजे नै चेकमार्फत भुक्तानी भइसकेको’ जानकारी दियो । 

प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजको एक दृश्यमा करिब ४० वर्षका एक व्यक्ति एनआईसी एसिया बैंकको काउन्टरमा प्रवेश गर्छन् । बैंककी टेलरलाई चेक दिन्छन् । त्यसपछि बैंकबाट ९ लाख रुपैयाँ दिइन्छ र ती व्यक्ति उक्त सबै रकम बोकेर बैंकबाट बाहिरिन्छन् । 

बैंक खाता खोल्दा पेश गरिएको फोटो र रकम झिक्ने व्यक्ति एउटै व्यक्ति जस्तो देखिन्छन् । यद्यपि बैंक खातामा प्रयोग गरिएको नाम र रकम झिक्ने व्यक्ति एकै हुन् कि होइनन् भन्ने खुलेको छैन । 

उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको पत्ता लागेको छ । माघ ९ गते नै ठगको समूहले रुशनी देवी मेहताको लुम्बिनी विकास बैंकको इनरुवा शाखामा खोलिएको खाताबाट समेत २२ पटक रकमान्तर गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ । 

माघ ९ गते दिउँसो १३ः१५ बजेदेखि १३ः३६ बजेको समयमा सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर गरिएको हो ।

सानिमा बैंकका कोशी प्रदेश प्रमुख फणिन्द्र दाहालले बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताएका छन ।  दाहालले यस विषयमा थप अनुसन्धान भइरहेको र रकम ट्रान्सफर गर्ने व्यक्तिको खोजी भइरहेको बताए ।