प्रेम बास्तोला /राजेन्द्र भट्ट

काठमाडौंः चित्रकलाको माध्यमबाट पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन  गर्ने उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा यहि फागुन ५ गतेबाट १७ गतेसम्म ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८० (खुल्ला ठाउँमा प्रत्यक्ष चित्रकला) गर्ने भएको छ ।नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौंमा गरिने प्रदर्शनीको सबै तयारी सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल र धनु आर्ट स्टुडियो, काठमाडौंको संयुक्त आयोजनामा गएको असोज १७ देखि २१ गतेसम्म दिक्तेल तथा आसपासका स्थानहरूमा केन्द्रित रहेर  नेपाल, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका करिब ४३ जना भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकार (चित्रकार)हरूको प्रत्यक्ष सहभागिता र हजारौँ दर्शकहरूको माझमा पहिलो चरणको ‘मुन्दुम’ अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशाला २०८० सम्पन्न भइसकेको छ ।

ca858eb0-b3d8-42e9-8974-7d4d68430090

सोही कार्यशालामा चित्रकारहरूले कोरेका चित्रहरूको प्रदर्शनी गर्न लागिएको मेयर आर्चायले बताए । प्रदर्शनीको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने तय भएको मेयर भट्टराईले जानकारी दिए । नेपाल सहित विभिन्न देशका ४६ जना चित्रकारले १५० भन्दा बढी क्यानभासमा तयार पेन्टिङ प्रदर्शनीमा राखिनेछ । 

‘‘कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि” भन्ने नाराका साथ हुने प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायत सबै दलका प्रमुख नेताहरूलाई पनि प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलमा अवलोकनका लागि बोलाइएको मेयर भट्टराईले बताए । त्यसको अलावा केही देशका राजदूतहरूलाई पनि अवलोकनका लागि सहभागी गराइने उनले बताए । समापन भने प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको उनले सुनाए ।

5cd4b608-a06d-4855-9f8c-3746fc4ec8e1

केही समय अगाडिसम्म यातायात सुविधाका दृष्टिले विकट भनेर चिनिने खोटाङ जिल्लाले वास्तवमा प्रचुर पर्यटकीय सम्भावना बोकेको छ ।  जिल्लाका दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जङ्गल, खोल्सा, खोल्सी, खोँच, लेकबेसीका साथसाथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचार गरिनु अत्यन्त आवश्यक छ । 

नगरपालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम तथा प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको मेयर भट्टराईले बताए । यसका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरूबाट त्यहाँका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्बिरहरूको छनोट तथा प्राथमिकीकरण गरि जिल्लाका अन्य ९ वटै स्थानीय तहहरूले समेत छनोट तथा प्राथमिकीकरण गरी पठाएका तस्बिरहरू समावेश गरि प्रत्यक्ष चित्रकला कार्यशाला सम्पन्न गरिएको उनले जानकारी दिए ।

2629cd00-aebd-45b8-8d0e-26094ceb335a 

प्रदर्शनीले नगरपालिका तथा समग्र खोटाङ जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकासका साथै  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय(अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन, ती स्थानहरूको महत्त्व झल्काउन कोशेढुङ्गा साबित गराउन सकिने विश्वास आफूले लिएको मेयर भट्टराईले बताए ।

प्रदर्शनी उद्घाटनको दिन खोटाङ जिल्लाका राई, तामाङ, शेर्पा, गुरुङ, मगर, नेवार, क्षेत्री र ब्राह्मणको सांस्कृतिक झाँकी अवलोकन समेत गराइनेछ ।  पुस्तक (क्याटलक)विमोचन, चित्रकारलाई सम्मान तथा प्रमाण पत्र वितरण र चित्र अवलोकन हुने मेयर आर्चायले बताए । चित्र अवलोकन भने १७ गतेसम्मलाई जारी रहने छ ।

कार्यशाला र प्रदर्शनी गर्नुको यस्ता छन् उद्देश्यहरू  

-प्रत्यक्ष चित्रकलाको माध्यमबाट खोटाङ जिल्लाको पहिचान देश तथा विदेशमा गराई पर्यटन प्रवर्द्धन गर्ने

-खोटाङ जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाको महत्त्व झल्किने स्थान तथा क्रियाकलापहरूको प्रत्यक्ष अन्तर्राष्ट्रिय चित्रकला कार्यक्रम तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गर्ने 

-अन्तर्राष्ट्रिय कलात्मक आदानप्रदान र सहयोग प्रवर्द्धन गर्ने

-प्राकृतिक सौन्दर्यको अन्वेषण गर्न र चित्रमा उतार्न कलाकारहरूलाई प्रोत्साहन गर्ने 

-स्थानीय र अन्तर्राष्ट्रिय कलाकारहरूलाई उनीहरूको कला प्रदर्शन गर्न एक प्लेटफर्म प्रदान गर्ने

-चित्रकलाको विकासमा स्थानीय समुदायहरूको संलग्नता बढाउनुका साथै कला सम्बन्धी चेतना अभिवृद्धि गर्ने

-खोटाङ जिल्लाको कला सांस्कृतिक र पर्यटन संवर्द्धन र प्रवर्द्धनमा योगदान पुर्‍याउने

-संसारभरिका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराई पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने ।

कार्यशालाको  नाम “मुन्दुम” किन ?  

‘मुन्दुम’ लाई किराँतीहरूको भाषा, साहित्य, संस्कृति, इतिहास, भूगोल, गीत–सङ्गीत, धर्म–दर्शन आदिको समग्र विवरणको रूपमा लिइने गरेको छ । ‘मुन्दुम’ समग्र किराँतीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि रही आएको छ ।  यो नगरपालिका माझकिराँतमा पर्ने हुनाले यहाँको समग्र कला, साहित्य, संस्कृति आदिमा ‘मुन्दुम’को प्रभाव रही आएको हुँदा यस स्थानमा गरिने यस प्रकारको कार्यक्रमको नाममा ‘मुन्दुम’ राख्दा न्यायोचित हुने विश्वास लिइएको मेयर भट्टराईले जानकारी दिए । 

8cdfd69b-a1cc-4f4b-9343-d00ddeb95aee

अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी,  एक महत्त्वपूर्ण सांस्कृतिक र कलात्मक कार्यक्रम हो । यस कार्यक्रमले कलालाई प्रवर्द्धन गर्ने मात्र नभई यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पनि प्रदर्शन गर्नेछ । कार्यक्रमको माध्यमबाट स्थानीय समुदाय र कलाकार दुवैका लागि एक अद्वितीय र समृद्ध अनुभव आदान–प्रदान गर्ने लक्ष्य राखेको धनु आर्ट स्टुडियो काठमाडौंका प्रमुख वरिष्ठ चित्रकार धनु याख्खाले जानकारी दिए ।  

याख्खाले भने, ‘हामी यस कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन राजनीतिक दल, जनप्रतिनिधि, स्थानीयवासी, उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्थाहरू, नागरिक समाज, पत्रकार, व्यवसायीहरू,  सरकारी निकायहरू, शैक्षिक सङ्घ९संस्थाहरू, यातायात व्यवसायीहरू र कला उत्साहीहरूबाट प्राप्त समर्थन र प्रायोजनलाई स्वागत गर्दछौँ ।  उहाँहरूको योगदानले हामीलाई हाम्रा समग्र विकासका लक्ष्यहरू प्राप्त गर्न र दिगो सांस्कृतिक र कलात्मक क्षितिज विस्तार गर्न मद्दत गर्नेछ ।”

21d0614e-434b-4979-8978-fcb3453dbe22

धार्मिक,सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै चित्रकलाप्रति अभिरुचि राख्ने खोटाङका विद्यार्थी तथा चित्रकला प्रति अभिरुचि राख्नेहरूलाई यस क्षेत्रप्रति थप आकर्षित गराउने अभिप्रायले चित्रकला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको याख्खाले बताए ।

नेपाल आफ्नो समृद्ध कला, संस्कृति र अतुलनीय प्राकृतिक सौन्दर्यताका लागि विश्वमा परिचित देश हो । यहाँको आर्थिक समृद्धि र सामुदायिक विकासका लागि कला, संस्कृति र प्राकृतिक सौन्दर्ययतालाई सम्पत्तिको रूपमा प्रयोग गर्न सकिने कुरालाई नकार्न सकिन्न । विश्व मानचित्रमा भौगोलिक रूपले हाम्रो अंश सानो हुन सक्ला, तर कला संस्कृतिको हिसाबमा हाम्रो देश नेपाल अग्रपङ्क्तिमा पर्नेमा दुईमत नरहेको याख्खाले बताए ।

8854cd85-d845-47b7-a8b5-6b965c69d7f6

यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमलाई अत्यन्तै भव्यतापूर्वक सम्पन्न गर्न सक्यौँ भने राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा नगर तथा जिल्लाको सम्मान अझ बढेर जानेछ साथै प्रवासमा बस्ने नेपालीको समेत शिर उच्च हुनेछ भन्ने हामीले विश्वास लिएको याख्खाले बताए ।