काठमाडौँः  सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए ।

उनले भने, “आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले त्यसको सरसफाइ र सर्वोच्च शिखरलाई दुर्गन्धित हुनबाट रोक्न विभागले कार्यविधि बनाइरहेको छ ।”

आरोहीले आधार शिविरमाथि विसर्जन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन । त्यसले एकातर्फ हिमालललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएको समयमा यस्ता किसिमका फोहोरबाट हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेट्न लागेको उनले बताए । 

सर्वोच्च शिखरलाई सफा राख्ने प्रयास स्वरूप यो कदम चालिएको बताउँदै उनले आगामी याममा नेपाली सेनाले हिलारी स्टेप, ल्होत्सेलगायतका क्षेत्रमा रहेका पाँच वटा मानव शव र फोहोर सङ्कलन गर्ने जानकारी दिए ।

सगरमाथा क्षेत्रको सरसफाइमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले समेत काम गरिरहे पनि सफाइका लागि पुग्न नसकिने र आरोहीले बोकेर ल्याउँदा जोखिम रहेको क्याम्प फोर भनिने साउथ कोल क्षेत्रमा मानव मलको समस्या देखिएको उनको भनाइ छ ।

समुद्री सतहभन्दा सात हजार ९०६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो । उक्त क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र विसर्जन गर्दै आएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आगामी सिजनबाटै सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीलाई दिसा बोक्ने झोला दिएर पठाइने जानकारी दिए । 

उनले भने, “आरोहणसँग सम्बन्धित सम्पूर्ण सङ्घ संस्थासँगको छलफल र परामर्शपछि गाउँपालिकाले यो निर्णयलाई अघि बढाएको हो । सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई गाउँपालिकाले उक्त विशेष प्रकारको झोला किन्न अनुदान दिने निर्णय गरिसकेको छ । आरोहीलाई आधार शिविरमा दिसा विसर्जनका लागि एउटा झोला दिने र फर्कने बेला उक्त झोला फिर्ता ल्याउनुपर्ने छ ।” एउटा झोला पाँच किलो तौल बोक्ने क्षमताको हुने र आरोहीले माथिल्लो क्षेत्रमा बिताउने समयका आधारमा वितरण गरिने ती झोलामा हुने रसायन र धुलोले दिसालाई ठोस बनाई गन्धरहित बनाउने उनले बताए। यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।