काठमाडौंः नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) बीच साझेदारीको शुरूआत गरिएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन्। नेपाल जस्ता विकासोन्मुख देशमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसम सम्बन्धी प्रकोपलाई सम्बोधन गर्ने तथा जलवायु संकटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने साझेदारीको उद्देश्य छ।

कार्यक्रममा डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले जलवायु संकटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिंदै यसले मानिस र प्रकृतिको भविष्य समेत सुनिश्चित रहने धारणा व्यक्त गरे। गुरुङले दुई संस्थाबीचको सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए।

नेपालस्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु संकटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको बताए। दुई संस्थाबीचको सहकार्य अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएको उल्लाले बताए।

highlights

नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रूपमा मिलेर काम गर्न आग्रह गरिन्।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तनले निम्त्याएका विपद्लाई न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाई काम गरिरहेको जानकारी दिए।

डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु संकट, उदीयमान् जोखिम र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ। दुवै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोग मार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलाई एकीकृत गर्ने लक्ष्य राखेका छन्।

डब्लूडब्लूएफ वन्यजन्तु र वातावरण संरक्षण क्षेत्रमा कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाज मार्फत एक करोड ६० लाखभन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो। -रासस